+
+

अझै १५ लाख पाठ्यपुस्तक छाप्न बाँकी

नुनुता राई नुनुता राई
२०७९ जेठ २६ गते २०:४५

२६ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ कि सुप्रिया चौंलागाई ६ कक्षामा पढ्छिन् । दुई घन्टा हिँडेर विद्यालय पुग्ने सुप्रियाले पढ्न गाह्रो लाग्ने विषय विज्ञान, गणित, अंग्रेजीका पुस्तक अझै पाएकी छैनन् ।

‘विद्यालयमा त सरहरुले पढाउनुहुन्छ । हाम्रो किताब छैन । होमवर्क पनि गर्न पाइदैन’, उनले भनिन् । जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । तर, सुप्रियालेजस्तै धेरै विद्यार्थीले पुस्तक पाएका छैनन् ।

रोल्पाको माडी गाउँपालिकामा कक्षा १० को भूगोल, कक्षा ९ को शिक्षा, कक्षा ८ र ६ को विज्ञान, गणित, अंग्रेजी विषयका केही पुस्तकमात्र पुगेको छ । कक्षा ५ को कुनै पनि पुस्तक भने विद्यार्थीले नपाएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कमलप्रसाद खत्रीले बताए ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ को नवलपुर माविकी शिक्षक कल्याणी थापाले कक्षा १, २, ३ र ५ को बाहेक सबै कक्षाको पुस्तक अपूर्ण रहेको बताइन् ।

चालु शैक्षिक सत्रदेखि कक्षा ४, ७, र ९ को नयाँ पाठ्यपुस्तक लागू भएको छ । अरु कक्षाका पुराना भए पनि पढाउन समस्या नभएको तर नयाँ पाठ्यक्रम अनुसार लागू भएको पुस्तक नपुग्दा भने समस्या भएको उनको भनाइ छ ।

उनी भन्छिन्, ‘अरु कक्षाको त पुराना भए पनि छन् तर ४, ७, र ९ कक्षाको पुस्तक नयाँ भएकोले विद्यार्थीले पढ्न पाएका छैनन् । हामीले गृहकार्य दिन पनि सकेका छैनौं ।’

पढाइ नरोकिएको सरकारी दाबी

पाठ्यपुस्तक सबै जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापिन्छन् । तर उसले समयमै पुस्तक नछापेका कारण अभाव भएको हो । अझै करिब १५ लाख पुस्तक छपाइ हुन बाँकी रहेको केन्द्रले जनाएको छ । कक्षा ५, ६ र ८ को अंग्रेजी, नेपाली र सामाजिक विषय अभाव देखिएकाले छाप्दै बजारमा पठाउँदै गरेको केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले बताए ।

दैनिक एक लाख पुस्तक छपाइ भइरहेकाले अब १५ दिनभित्र सक्ने उनले दाबी गरे । उनले भने ‘करिब १५ लाख जति छपाइ गर्न बाँकी छ । अबको २० दिनभित्र सक्छौं ।’

तर पुस्तक अभावमा पठनपाठन गराउनै नसक्ने अवस्था भने नरहेको आचार्य जिकिर गर्छन् । ‘पुस्तक पूरा नभएको हो तर पुस्तक नभएर पढाउन नसक्ने स्थिति पनि होइन । विद्यार्थीलाई नयाँ पुस्तक पाइएन भन्नेमात्र हो, नत्र समस्या छैन’, उनले भने ।

पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी डा. बाबुराम ढुंगाना पनि पुस्तक अभावले पढ्नै असहज हुने स्थिति नभएको जिकिर गर्छन् । उनले भने, ‘बाहिर चर्चा चलेजस्तो किताब नै नभएको हैन । अपुग भएको हो ।’

जनक शिक्षाले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ गर्नुपरेको र कागज आपूर्ति समयमा नहुँदा छपाइ ढिला भएको जिकिर गर्दै आएको छ ।

तर, स्थानीय तहको चुनाव हुने समय निश्चित हुँदाहुँदै जनक शिक्षाको लापरवाहीले पाठ्यपुस्तक समयमा नछापिएको सरोकारवाला बताउँछन् । ‘स्थानीय तहको चुनाव हुने समय त थाहै थियो त । जनक शिक्षाले स्थानीय तहको चुनावमा मतपत्र छाप्नु परेर ढिलो भन्नु मिल्दैन । आफ्नो गल्ती ढाक्न मतपत्र छपाइको बहाना बनाउन मिल्दैन’ उनले भने ।

शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला भने सधैं पाठ्यपुस्तक छैन भन्नु मुर्ख्याइँमात्र भएको बताउँछन् । ‘वर्षै पच्छे किन किताब छाप्नुप¥यो ? एउटा पाठ्यपुस्तक दिदीले पढेर भाइलाई दिँदा के हुन्छ ? माथिल्लो कक्षाका बालबालिकाले पढ्छन् तल्लो कक्षालाई सारिदिँदा के हुन्छ ?’ उनी प्रश्न गर्छन् ।

उनी यो बाहेक अर्को सुझाव पनि दिन्छन् । ‘लाइब्रेरीमा सेट राखिदिने त्यहाँ गएर पढ भनेर के हुन्छ ? अहिले त वेबसाइटमा पनि किताब राखिएको छ । त्यही डाउनलोड गरेर पढ भन्दा अथवा पढाउँदा के हुन्छ ? किताब छैन भनेर कोकोहोलो गर्नु मुर्ख्याइँ हो ।’

बिहीबार नेकपा एमालेकी सांसद नविना लामाले बिहीबार संसद बैठकमा बोल्दै समयमा पुस्तक छाप्न नसक्ने जनक शिक्षा सामग्री केन्द्र खारेजीको माग गरिन् ।

तर पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी डा. बाबुराम ढुंगाना भने भएका सरकारी संस्थालाई बलियो बनाउँदै जानुपर्ने तर्क गर्छन् । ‘किन निजीलाई दिन जोड गरिँदैछ थाह छैन तर, हामीले त सरकारी निकायलाई बलियो बनाउनतर्फ पहल गर्नुपर्ने होला नि ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?