+
+
एसियन कप छनोट :

नेपाल भर्सेस कुवेत : अल्मुताइरीको जन्म देश र कर्म देश भिड्दै

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ जेठ २८ गते ७:३२

२८ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले शनिबार कुवेतसँग दोस्रो खेल खेल्दैछ । कुवेतको कुवेत सिटीस्थित जाबेर अह अहमद इन्टरनेशनल स्टेडियममा नेपाल र कुवेत खेल्दा सबैको नजर खेलमा हुनेछ नै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीतर्फ पनि नजर हुनेछ ।

किनभने कुवेती नागरिक अल्मुताइरी नै हाल नेपाली फुटबल टिमका प्रशिक्षकका रुपमा छन् । हुन त उनी नेपालको टिमको प्रशिक्षक बनेर दोस्रो पटक आफ्नो जन्म देश कुवेत पुगेका छन् । तर उनले नेपालकोतर्फ पहिलो पटक आफ्नै देश कुवेतको विपक्षमा रहेर प्रशिक्षक सम्हाल्नेछन् ।

यसअघि अल्मुताइरीले बारम्बर भन्दै आएका छन् कि नेपाल र कुवेत खेल्दा आफ्नो समर्थन नेपाललाई नै हुन्छ ।

शुक्रबार अल्मुताइरीले कुवेती भाषामा दिएको एउटा अन्तर्वार्ताको अंश सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै आफूले कुवेतलाई माया गर्ने तर भोलिको खेलमा नेपालको जितका लागि प्रतिस्पर्धा गर्ने अंग्रेजीमा लेखेका छन् ।

दोस्रो पटक नेपाली टिम लिएर कुवेत पुग्दा उनले पहिलो पटक जन्म देश र कर्म देश खेलेर ‘डगआउट’ मा बसेर हेर्ने छन् ।

हुन त प्रशिक्षक अल्मुताइरी यसअघि पनि विभिन्न कारणले गर्दा चर्चा बटुरहन्छन् । चाहे त्यो दर्शकको सर्मथन होस् या विभिन्न विषयमा विवादमा परेर होस् ।

खेलाडीसँगको विवादका कारण कप्तान किरण कुमार लिम्बुसहित ११ सिनियर खेलाडीलाई बाहिर राख्दै कम अनुभवी र युवा खेलाडीको टिम लिएर कुवेत पुगेका अल्मुताइरीले पहिलो खेलमा जोर्डनविरुद्ध नेपालको प्रदर्शनपछि केही राहत महसुस गरेका छन् ।

उनले खेलअघि बिना दबाब खेल्ने बताएका थिए । खेलमा पनि नेपालले नतिजा २-० ले गुमाए पनि जोर्डनलाई ६८ मिनेटसम्म गोल गर्न दिएको थियो । डेब्युटान्ट गोलकिपर दीप कार्की पहिलो हाफको अन्त्यतिर पेनाल्टी नै रोकेर जोर्डनलाई नै दबामा राखेका थिए ।

एसियन कपको अन्तिम चरणको छनोटमा समूह ए मा नेपालले कुवेतविरुद्ध दोस्रो खेल खेल्दा पनि उस्तै लयको अपेक्षा समर्थकले गरेका छन् । खेलाडीका लागि त्यही प्रदर्शन दोहोर्‍याउनु चुनौती हुनेछ । अनी अल्मुताइरीका लागि भने यो खेल केही ‘इमोसनल’ पनि पक्कै हुनेछ । उनी आफ्नै देशलाई हराउनका लागि नेपलाको तर्फबाट रणनीति बुनिरहेका हुनेछन् ।

उनले केही महिनाअघि तयारीका क्रममा थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्नुअघि पनि कुवेतसँग आफूले दुवै देशको राष्ट्रिय गान गाउने तर नेपालको झण्डा र नेपालको समर्थनमा हुने प्रतिक्रिया दिएका थिए ।

अब त्यो घडी आएको छ । त्यसमा केही भावना पक्कै मिसिनेछ ।

पहिलो खेलमा जोर्डनसँग २-० ले पराजित भएको नेपालले एसियन कपमा छनोट हुने झिनो सम्भावना कायम राख्न पनि कुवेतलाई हराउनैपर्ने जरुरी छ । यदि कुवेतसँग पराजित भएमा नेपालमा छनोटबाट बाहिरिनेछ । नेपालले समूहको अन्तिम खेल जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

कुवेतसँग हेड टु हेड

फिफा वरीयतामा कुवेत नेपाल भन्दा २२ स्थान माथि छ । वरीयता जस्तै नेपालले कुवेतलाई अहिलेसम्म हराउन पनि सकेको छैन ।

वरीयतामा कुवेत १४६औं र नेपाल १६८औं स्थानमा छ । हेड टु हेडको कुरा गर्दा नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन । नेपालले अहिलेसम्म कुवेतसँग कुल ८ खेल खेल्दा ७ खेलमा पराजित भएको छ भने जम्मा १ खेल बराबरी गरेको छ ।

सन् २०१९ मा योहान कालिन प्रशिक्षक हुँदा नेपालले कुवेतलाई उसैको मैदानमा खेलेको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । त्यो नै अहिलेसम्मको उत्कृष्ट नतिजा हो ।

त्यसपछिको तीन खेलमा भने नेपाल कुवेतसँग पराजित भएको छ । २०१९ कै दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल १-० ले पराजित भएको थियो ।

यस्तै एसियन कप छनोट अन्तर्गत नै दोस्रो चरणको छनोटमा नेपाल कुवेतसँग दुवै खेलमा हार बेहोरेको थियो । अवे मैदानमा भएको खेलमा नेपाल कुवेतसँग ७-० ले पराजित भएको थियो भने भुटानको थिम्पुमा गएर खेलिएको होम म्याचमा नेपाल कुवेतसँग १-० ले पराजित भएको थियो ।

यस बाहेक एसियन गेम्समा तीन पटक र एसियन कप छनोटमा एक पटक कुवेतसँग नेपाल पराजित भएको थियो ।

नेपाल र कुवेतबीचको खेल आज राती नेपाली समय अनुसार १० बजे सुरु हुनेछ ।

यो पनि पढ्नुस्- कुवेतले होइन नेपालले जित्दा खुशी मिल्छ : अलमुताइरी

फोटो : एन्फा

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?