+
+

आईसीसी विश्वकप लिग टू : अन्तिम ओभरमा आदिल चम्किंदा अमेरिकासँग नेपालकाे राेमान्चक बराबरी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते ६:१२

२९ जेठ, काठमाडौं । आईसीसी विश्वकप लिग – २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपालले अन्तिम दुई बलमा दुई विकेट लिएपछि अमेरिकासँगकाे खेल राेमान्चक रुपमा बराबरीमा सकिएकाे छ । दुवैले समान २७४ रन बनाएपछि खेल टाइ भयाे र १-१ अंक जाेडे ।

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो । जवाफमा स्टेभेन टेलरले शतक प्रहार गरे पनि अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन नै बनायो ।

अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ६ रन चाहिएकाे थियाे । नेपालमा आदिल अन्सारीले बलिङ गरेकाे उक्त ओभरमा सबैखाले नाटक  देखियाे । सुरुआती तीन बलमा अमेरिकाले एक/एक रन जाेड्याे । चाैथाे बल नाे बल भएपछि अमेरिकाले नाे बलमा एक रन जाेड्दै रन बराबरी गर्दै जित नजिक पुगेकाे थियाे ।

तर, अन्तिम दुई बलमा नेपालले विकेट लियाे । पाँचाै बलमा आदिलले आराेन जाेन्सलाई राेहित पाैडेलबाट क्याचआउट गराए । त्यस्तै अन्तिम बलमा आदिल र दीपेन्द्र सिंह ऐरीले राहुल जरिवालाई रनआउट गर्दै खेल बराबरी गरेका हुन् ।

अमेरिकाका लागि ओपनर टेलरले ११४ रन बनाए । १२३ बल खेलेका उनले ११ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान मोनाक पटेलले ८५ रन जोडे ।

अमेरिकालाई जितबाट रोक्न नेपालका लागि नेपालका लागि डेब्युमै सनसनीपूर्ण प्रदर्शन गरेका आदिलले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले एक/एक विकेट लिए ।

आदिलको डेब्यु अनि ओपनरद्वय कुशल भुर्तेल र शेखको पुनरागमनपछि नेपालले ओमानविरुद्धको खेलेको खेलमा तीन परिवर्तन गरेको थियो ।

अघिल्लो खेलको तुलनामा सुधारिएको ब्याटिङ गरेको नेपाल अन्तिमतिर सम्हालिन नसक्दा दुई बल अघि नै अलआउट हुनुपरेको थियो ।

नेपालका लागि तीन खेलाडीले अर्धशतक प्रहार गरे पनि फिनिसिङ चुस्त रहन सकेन । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६२ रन बनाउँदा आसिफले ६१ र देव खनालले ५४ रन योगदान गरे ।

पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ५६ रनको साझेदारी गरेका थिए । दुवै खेलाडीले चोटका कारण अघिल्लो खेल गुमाएका थिए ।

त्यसकै कारण कुशलले अमेरिकासँग खेल्दा संघर्ष गर्नुपरेको देखियो । कुशलले ३६ बलमा कुनै बाउन्ड्री प्रहार नगरी १९ रन बनाएर आउट भए । आसिफले ७० बल खेल्दा ६ चौका प्रहार गरे । दोस्रो विकेटका लागि आसिफले देव खनालसँग ६२ रनको साझेदारी गरे ।

३७औं ओभरमा आउट हुनुअघि देवले रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । देवले ६९ बल खेल्दै ३ चौका प्रहार गरेका थिए । त्यसक्रमपछि डेब्युमा पाँचौ नम्बरमा ब्याटिङ गरेका आदि अन्सारीसँग रोहितले चौथो विकेटका लागि ६५ रनको साझेदारी गरे । यो नै नेपाली इनिङ्सको सर्वाधिक साझेदारी हो ।

नेपाली इनिङ्समा आदिल र रोहितले छक्कासमेत प्रहार गरेका थिए । रोहितले ७२ बल खेल्दै तीन चौका र एक छक्का मद्दतमा ६२ रन बनाए । उता डेब्युमै छाएका आदिलले २४ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ३६ रन जोडे । ४४औं ओभरमा आदिल आउट भएपछि नेपालले लगातार विकेट गुमायो ।

नेपालले ३१ रनका लागि अन्तिम ७ विकेट गुमाएको थियो ।

अमेरिका लागि रस्टी थेरोनले सर्वाधिक चार तथा अल खान र सौरभ नेत्रभाल्करले दुई/दुई विकेट लिए ।

एक दिवसीय अन्तर्राष्ट्रियको डेब्युमै ब्याट र बलबाट उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई हारबाट जोगाएका आदि अन्सारी खेलको म्यान अफ दि म्याच घोषित भए ।

तस्बिरः क्यान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?