+

नेपालमै सम्भव छ मुटुको चाल गडबडीको सबैखाले उपचार

२०७९ जेठ  २९ गते १६:५६ २०७९ जेठ २९ गते १६:५६
नेपालमै सम्भव छ मुटुको चाल गडबडीको सबैखाले उपचार

मुटुको सामान्य चाल कति हो भन्ने कुरा थाहा पाउनु एकदमै जरुरी छ । एउटा सामान्य व्यक्तिको मुटुको चाल प्रतिमिनेट ६० देखि १०० हुनुपर्छ । तर सुतेको बेला ६० भन्दा कम पनि हुनसक्छ भने दौडिएको बेला १०० भन्दा अलिकति बढी हुनसक्छ । उसलाई सामान्य रूपमा नै लिन सकिन्छ ।

यसबाहेकको अवस्थामा मुटुको चाल ६० भन्दा कम र १०० भन्दा धेरै बढी हुन्छ भने त्यसलाई मुटुको चालमा गडबडी भएको भनिन्छ । यो समस्या कसैकसैलाई जन्मजात पनि हुनसक्छ । हृदयघात भएको व्यक्तिमा मुटुको बनावटमा परिवर्तन आई मुटुको चालमा गडबडी हुनसक्छ ।

मुटुको चाल कम हुने र मुटुको चाल बढी हुने समस्या हुनसक्छ । कुनै समयमा मुटुको संक्रमण भएको व्यक्तिमा पनि मुटुको चालमा गडबडी हुने सम्भावना हुन्छ । अर्को कारण मानिसको उमेर बढ्दै जाँदा अन्य अंगहरु बुढो भएजस्तै मुटुको बनावटमा परिवर्तन भएर पनि मुटुको चालमा गडबडी हुनसक्छ ।

मुटुको चाल गडबडी हुने समस्या सबै उमेर समूहमा देखिन सक्छ । बालबालिकादेखि वृद्धवृद्धा सबै उमेरका मानिसमा यो समस्या हुनसक्छ । कुन उमेर समूहमा कस्तो खालको समस्या बढी हुने भन्ने चाहिं उमेर अनुसार फरक हुन्छ । तर सबैमा यो समस्या देखिएको पाइन्छ ।

मुटुको चालका कारण आउने समस्या भनेको मुख्य दुई प्रकारका हुन्छन्, मुटुको चाल आवश्यकता भन्दा कम हुनु र बढी हुनु । मुटुको चाल आवश्यकता भन्दा कम भयो भने रिंगटा लाग्ने, सास फेर्न गाह्रो हुने र बेहोस नै हुने जस्तो लक्षण देखिन्छ । यदि मुटुको चाल आवश्यकता भन्दा बढी भयो भने पनि यस्तै समस्या देखिन्छन् । यस्तो अवस्थामा ज्यान नै जाने समेत जोखिम हुन्छ ।

के छ उपचार ?

मुटुको चाल कम भएर बिरामीलाई गाह्रो भएको छ भने त्यसको दीर्घकालीन उपचारका लागि पेस मेकर राख्नुको विकल्प छैन । पेस मेकर मुख्यगरी तीन प्रकारका हुन्छन् । एउटा, दुईवटा र तीनवटा तार भएको पेस मेकर । एउटा र दुईवटा तार भएको पेस मेकर मुटुको चाल कम भएको मानिसमा प्रयोग हुन्छ भने तीनवटा तार भएको पेस मेकर चाहिं मुटुको काम गर्ने क्षमता नै कम भएर सास फेर्न गाह्रो भएको अवस्थामा राखिन्छ ।

त्यसैगरी मुटुको चाल अत्यधिक बढी भएको अवस्थामा भने डाइग्नोसिस नै गर्नुपर्ने हुन्छ । एक्कासि मुटुको चाल बढी हुने, रिंगटा लाग्ने र अत्यधिक पसिना आउने भयो भने मुटुको चाल बढी हुने समस्यामा पहिले ईसीजी गर्नुपर्छ । शरीरमा मुटुको चाल गडबडी गर्ने मेकानिजम छ कि छैन भनेर पनि जाँच गरिन्छ ।

मुटुको चाल बढी हुने सामान्यतया दुई कारणले हुन्छ । मुटुको चाल निकाल्ने साइनसनोड बाहेक मुटुको चाल निकाल्ने अन्य ठाउँ सक्रिय भयो भने मुटुको चाल बढी हुन सक्छ । मुटुमा करेन्ट बग्ने नर्मल तारदेखि बाहेक अर्को तार भएको खण्डमा पनि मुटुको चाल अत्यधिक बढी हुन्छ ।

यसको उपचार गर्न औषधिसँगै मुटुको चाल गडबडी गराउने तन्तु पत्ता लगाएर त्यसलाई जलाएर निस्क्रिय पार्नुपर्छ । मुटुको चाल अत्यधिक रूपमा बढेर ज्यान जाने खतरा भएमा विशेष किसिमको पेसमेकर (आईसीडी)को प्रयोग गर्न सकिन्छ ।

नेपालमा यसको उपचारको अवस्था के छ ?

मुटुको चाल गडबडी सम्बन्धी सबैखाले उपचार नेपालमा नै सम्भव छ । मुटुको चाल कम हुने अवस्थामा गरिने उपचार पेसमेकर मुटुको उपचार हुने हरेक अस्पतालमा उपलब्ध छ । मुटुको चाल बढी हुने समस्याको उपचार पनि नेपालका केही अस्पतालमा उपलब्ध छ । विराटनगरको नोबेल मेडिकल कलेज, काठमाडौंको शहीद गंगालाल हृदयरोग केन्द्र र ह्याम्स अस्पतालमा मुटुको चाल गडबडी सम्बन्धी प्रायः सबै उपचार उपलब्ध छ ।

मुटुको चाल गडबडीको समस्याबाट जोगिने उपाय

कसैलाई यो समस्या जन्मजात नै हुन्छ, त्यसलाई त रोक्न सकिंदैन । तर अन्य अवस्थामा मुटुको रोग लाग्नबाटै बच्न सकियो भने यो चाल गडबडीको समस्या कम हुन्छ । त्यसैले मुटुरोग लाग्नबाट बच्न धुम्रपान मद्यपान नगर्ने, धेरै चिल्लो पदार्थको सेवन नगर्ने, तनाव नलिने, उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्ने, नियमित व्यायाम गर्ने र खानपानमा विशेष ध्यान दिन सकियो भने मुटु सम्बन्धी समस्या हुने सम्भावना कम हुन्छ ।

(मुटुको चाल गडबडी सम्बन्धी विशेषज्ञ डा. राउतसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

डा. रोशन राउत मुटुको चाल मुटुरोग
लेखक
डा. रोशन राउत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय