+
+

विवाह गरेको एकसातामै किन युवायुवतीले रोजे आत्महत्या ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १९:११
फाइल तस्वीर

३० जेठ, काठमाडौं । एक साताअघि फर्पिङको जंगलमा मृत भेटिएका युवा–युवतीले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

अन्तरजातीय प्रेमका कारण उनीहरुले आत्महत्याको बाटो रोजेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, सुसाइड नोट वा अन्य कुनै संकेत चाहिँ फेला नपरेको प्रहरी वृत्त, कीर्तिपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम पाण्डेले अनलाइनखबरलाई बताए ।

प्रहरीले २३ जेठमा दक्षिणकाली नगरपालिका–५, फर्पिङस्थित शेष नारायण जंगलमा दुईजना युवायुवतीको शव फेला पारेको थियो । इलाका प्रहरी कार्यालय, फर्पिङमा घटनाबारे सूचना पुगेलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त, कीर्तिपुरको टोली पनि खटिएको थियो ।

त्यसक्रममा घटनास्थलमा दुईवटा विषादीको बट्टा फेला परेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनाली बताउँछन् । पछि बरामद शव मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का १९ वर्षीय मनिष ठाकुर र दाङको राप्ती गाउँपालिका–२ घर भएकी १९ वर्षीय विमला कुमालको भएको खुलेको थियो ।

इलाका प्रहरी कार्यालय, फर्पिङका प्रहरी निरीक्षक गणेश सापकोटाका अनुसार मृतक मनिष स्काभेटरमा सहयोगीका रुपमा काम गर्थे भने विमला पनि कन्स्ट्रक्सन साइटमा ज्यामीको रुपमा काम गर्थिन् । त्यही क्रममा दुईबीच चिनजान भएको हुनसक्ने भनिएको छ ।

प्रहरी स्रोतका अनुसार मृतक विमलाले एकसाता अघि मात्रै घरमा फोन गरेर आफूले विवाह गरेको बताएकी थिइन् । युवकले चाहिँ घरमा विवाहबारे बताएका थिएनन् । विवाह गरेको भए त्यसको एक सातामै किन मृत्यु रोजे भन्ने खुलिसकेको छैन ।

हालसम्मको अनुसन्धानमा दुवैतर्फ परिवारका कुनै सदस्यले पनि उनीहरुको सम्बन्धलाई लिएर उनीहरुसमक्ष असन्तुष्टि व्यक्त गरेको पनि खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?