+
+

निजगढभित्रका निजी आकांक्षा

निजगढको पर्यावरणीय विशेषतालाई नाश गर्नु भनेको मान्छेले आफ्नो समय छोट्याउनु हो । सम्मानित सर्वोच्च न्यायालयले प्रकृतिमाथि न्याय गर्नै पर्दथ्यो । जसले अन्ततोगत्वा अभिमानी मानिस प्रजातिको आयु नै बढाउने हो ।

श्रवण शर्मा श्रवण शर्मा
२०७९ जेठ ३१ गते ९:०३

कुनै एक मृत मानिसलाई सबैभन्दा राम्रो र महँगो सुट पहिराएर चितामा राखियो भने अन्तिम श्रद्धाञ्जली दिनेहरूले सुटको तारिफ गर्लान् कि मृतक परिवारका सदस्यहरूको चिन्ता ? उनीहरूले यति सुन्दर सुट कहाँ किनेको, कसले सिलाएको भन्लान् वा मृतकलाई के रोग थियो, कति वर्षको उमेरमा जानुभयो आदित्यादि सोध्लान् ?

घाम, पानी, जमिन र हावाको सम्यक् सम्बन्धको समष्टि हो पर्यावरण वा वातावरण । यो सम्यक् सम्बन्धमा एक पटक खलल पर्न गयो र सहजीवनको सिद्धान्त बिगि्रयो भने आउने कैयौं पुस्ताको अथक् प्रयत्नले पनि पर्यावरणीय सन्तुलनलाई ठीक स्थितिमा ल्याउन सक्दैन । जब पर्यावरणीय सहजीवनका नैसर्गिक सूत्रहरू पानी, हावा, जमिन, वनस्पति र घाम प्राणी जीवन प्रणाली प्रतिकूल हुन थाल्छन्, त्यो विपद् त्राशद मात्र नभएर प्राणी र वनस्पति सभ्यताको प्रतिकूल हुनेछ ।

नेपालमा चुनावमा मत प्राप्त गर्न राजनीतिक दल र सरकारले मानिसका मगजमा विकासको जुनून (भूत) सवार गराइदिएका छन् । निजगढको वन मासेर विमानस्थल बनाउनै पर्छ भन्ने प्रदर्शनमा उफ्रिरहेका युवा र किशोरको टिठलाग्दो अनुहार युट्युबको फुटेजमा देखिएपछि, जोसुकैले पनि भन्न सक्छ, जीवनप्रति मानिसको मोह मरेर गएको हो ?

आश्चर्य के छ भने केवल दुई/चार वर्ष आयु भएको नेता र अरू ६०/७० वर्ष आयु भएका युवा पर्यावरणका सन्दर्भमा समान सोच राख्छन् र जंगल काटेर विमानस्थल बनाउन माग गर्दछन् । यस्तो समान चिन्तनका पछाडि कुनै न कुनै उत्तोलकले काम गरिरहेको बुझ्न सकिन्छ ।

तर निर्दोष युवाको मनोवैज्ञानिक उत्तोलक र नेता परिचालन गर्ने स्वार्थ प्रेरित उत्तोलक विल्कुल फरक छन् । युवा आफ्नै उमेरमा चरम विकासको अद्भुत अनुभवको आकांक्षा राख्छ, नेता कुनै पनि विकास परियोजनाबाट राजनीतिक दलले प्राप्त गर्ने संभावित हिस्साबाट उद्वेलित भएको हुनसक्छ ।

मानिसका मगजमा हालिएको विध्वंशकारी विकासको जुनूनलाई मतमा परिवर्तन गर्ने राजनीतिक दल र तिनका नेताहरूको अभीष्टका पछाडि साँच्चै एक सुन्दर, बृहत्, व्यवस्थित विमानस्थलको सपना लुकेको छ ? यदि यस्तो सपना साँच्चै लुकेको छ भने, विमानस्थल निर्माण पूर्वर् लिइनुपर्ने अत्यावश्यक निर्णयहरू लिइएका छन् ? नेपाल सरकारले भारतसँग हवाई रुटका लागि औपचारिक पत्राचार गरेको छ ? प्रस्तावित विमानस्थल प्रयोग गर्ने यात्रु संख्या, संभावित विमान कम्पनी जो त्यो विमानस्थलबाट उडुन्, बसुन् र ‘कनेक्टिङ’ उडानहरू गरुन् । यस किसिमको अध्ययन गरिएको छ ?

संसार प्रसिद्ध कुन-कुन हवाई कम्पनीहरू निजगढ विमानस्थल प्रयोग गर्न प्राथमिक चाख लिइरहेका छन् ? विमानस्थलले नेपालको समग्र अर्थतन्त्रमा पार्ने सकारात्मक र नकारात्मक प्रभावहरूको मूल्यांकन गरिएको छ ? लगानीको अनुपातमा आम्दानी वा विमानस्थल आत्मनिर्भर बन्न कति समय लाग्छ, त्यसको कुनै स्पष्ट रेखाचित्र तयार छ ? के कति कार्गो जहाज आउँछन्, ती जहाजको हवाई रुट कुन हो ? आदिका विषयमा नेपाल सरकारले कुनै वास्तविक जानकारी सार्वजनिक गरेको छ ?

कसको कति प्रतिशत व्याजको लगानी वा अनुदानमा विमानस्थल निर्माण गरिने हो ? कुन मुलुकले अनुदान दिने हो ? अनुदानका प्रस्तावित शर्तहरू के के छन् ? यी विषय कतै खुलेका छन्, छैनन् । नेपाल सरकारले के कति लगानी गर्न सक्छ, नेपालका बैंकहरूले लगानी गर्ने हो भने त्यसको ब्याजदर कति हो ? यी आधारभूत कुराहरूमाथि सरकारी तवरबाट आम नेपालीलाई कुनै सूचना चुहाइएको छ, छैन ?

त्यसर्थ भन्नुपर्ने हुन्छ, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको लालच देखाएर कुनै अर्कै अदृश्य तर डरलाग्दो सामूहिक राजनीतिका लागि लगानी त खोजिएको होइन ? पर्यावरणीय विज्ञानमा विश्वास गर्ने र पर्यावरणीय सन्तुलन कायम राख्नुपर्छ भन्ने वकालत गर्नेहरूले उठाएको प्रसंग के मात्र हो भने विमानस्थलको स्थान परिवर्तन गर्न सकिने कुरा हो तर २५ लाख रूख, अरबौंको संख्यामा भएका बुटाहरू, त्यहाँको पर्यावरणीय विशिष्टतायुक्त सम्पूर्ण वन अन्त सार्न सकिंदैन, सार्न खोजियो भने त्यो नाशिन्छ र फेरि अर्को यस्तै वन अबको कम्तीमा पनि एक हजार वर्षमा मात्र बन्न सक्छ । जंगलले प्र्राणी वनस्पतिको एक प्राकृतिक जीवनचक्र संचालनमा सबैभन्दा ठूलो योगदान गर्दछ ।

विमानस्थलको पक्षमा नारा जुलुस गरिरहेका युवालाई सोध्नुपर्ने हुन्छ, यस जीवनचक्रमा साल र सिसौका रूख, बुट्यान वा घाँसे मैदानमा भएका घाँस मात्र नभएर प्राणी र वनस्पति जीवनको सवाल छ, प्रकृतिका नियमको निरन्तरताको सवाल छ । त्यसकारण आफ्नो लामो आयु भएका युवा यसमा बढी सचेत हुनुपर्दछ ।

आम मानिसलाई विकासका नारामा ‘हिप्नोटाइज’ गरेर बाँकी दिनका लागि मत बटुल्नै पर्ने बाध्यता यथावत् छ, नेताहरूको । जुन संसद र सरकार सर्वाेच्च न्यायालयको आदेशबाट स्थापित छ, त्यही सरकार र त्यही संसद न्यायालयले अवैध घोषणा गरेको विषयमा बजेट छुट्याउँछ, संसदीय समितिमा बहस गर्छ र सत्ताधारी र विपक्षी नेताहरू एकै स्वरले निजगढमा विमानस्थल बनाउन नदिएकोमा न्यायालयलाई धारे हात लगाउँछन् । नैतिकताको एउटा एकसरो टालो पनि नचाहिने कस्तो राजनीति हो नेपालको ?

युवा दलहरूले घुसाइदिएको विकासको मगजी जुनूनबाट प्रताडित छन्, उनीहरूले आफैं सोच्नुपर्छ, मानव र प्राणी सभ्यता आउँदा कति वर्षसम्म जारी रहनुपर्दछ र आउने पुस्ताहरूका लागि विकास गर्ने कति धेरै अवसर उपलब्ध हुने हुन् र के कस्ता नयाँ-नयाँ प्रविधि भित्रिएलान् दुनियाँमा ?

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा रहेको वन, घाँसे मैदान, बुट्यान र झाडी उद्विकासको चरणमा विकसित भएका हुन् । यसका लागि हजारौं वर्ष लागेको छ । जबकि एउटा विमानस्थल बनाउन ४/५ वर्ष लाग्न सक्छ । त्यहाँको माटो, हावापानी, जलवायु र मौसमको सम्यक् सम्बन्धका कारण त्यसै ठाउँमा वन विकास भएको हो । त्यहाँको जंगलले त्यस वरिपरिको वातावरणमा तापक्रममा सन्तुलन, जमिनका लागि चाहिने ओस, कार्बन संचिति, पानीको आपूर्ति आदिको काम गरिरहेको हुन्छ ।

एक व्यक्तिका लागि पानी, रूख, हावा, जमिन, उत्तिकै महत्वपूर्ण हुन्छन् । मानिसलाई लाग्न सक्छ जंगल अन्यत्र पनि लगाउन सकिन्छ । हो, सकिन्छ तर मानव निर्मित वनले पर्यावरणीय सन्तुलन कायम गर्न सक्छ ? किशोर भइसकेको सन्तान गुमाउनु र अरू १० जन्माउनु अनि प्राकृतिक वन मासेर मानव निर्मित वन तयार पार्नु उस्तै कुरा हुन् ! प्राकृतिक वन र मानव निर्मित वनमा त्यही अन्तर छ, जुन अन्तर हस्पिटलको बेडमा सिलिण्डरको अक्सिजन लिनु र आफैं सास फेर्न सक्नुमा छ ।

निजगढमा प्रस्तावित विमानस्थल ८ हजार हेक्टर क्षेत्रफलमा फैलने प्रारम्भिक अनुमान छ । यो जुन क्षेत्रफल तोकिएको छ, धेरै प्रश्न यसैमा सन्निहित छन् । यति ठूलो विमानस्थल किन चाहियो ? नेपालको जनसंख्या, यहाँ आउने पर्यटक, आन्तरिक यात्रु चाप, निजगढबाट हुने ‘कनेक्टिङ’ उडान, नेपालमा कार्गो उडान आदि सबैको बृहत् अध्ययन सरकारले गरेको छैन । विमानस्थलको क्षेत्रलाई जंगलभित्र पार्ने उद्देश्यले विमानस्थलको क्षेत्रफल बढाइएको त होइन ? पर्यावरणको क्षेत्रमा काम गर्नेहरूले उठाएको सान्दर्भिक आशंका यही हो ।

संसारका ठूला विमानस्थलहरूको क्षेत्रफलसँग निजगढको तुलना गरौं । यसले निजगढ विमानस्थललाई विकासको अत्युत्तम नमूना देख्ने आँखाका पर्दा उघार्न केही सहयोग गर्न सक्छ ।

देश         जनसंख्या     प्रति व्यक्ति आय (यूएस डलर)  सहर         सहरको जनसंख्या            विमानस्थल   क्षेत्रफल हेक्टरमा      प्रतिवर्ष यात्रु संख्या        
चीन १ अरब ४० करोड ११००० बेइजिङ २ करोड १० लाख बेइजिङ ४६६१ ३ करोड ४४ लाख
चीन ,, ,, सांघाई २ करोड ६० लाख सांघाई १६१३ ९ करोड ४३ लाख
भारत १ अरब ३५ करोड १९२८ मुम्बई २ करोड ६ लाख छत्रपति शिवाजी ७५० १ करोड ९० लाख
भारत ,, ,, दिल्ली १ करोड ९० लाख इन्दिरा गान्धी २०६६ ३ करोड ७६ लाख
जापान १३ करोड ४०१९३ टोक्यो १ करोड ३० लाख टोक्यो ७२
सं.रा अमेरिका ३३ करोड ६८३०९ वासिंगटन ७० लाख डलास ५२६० २ करोड ४० लाख
सं.रा. अमेरिका ३३ करोड न्युयोर्क १ करोड जे एफ केनेडी १९९५ ३ करोड ७ लाख
जर्मनी ८ करोड  ३२ लाख ५५२२० फ्रयांकर्फट ६२ लाख फ्रयांककर्फट २३०० १८ लाख ७७ हजार
बेलायत ५ करोड ६० लाख ४०२८५ लन्डन ९१ लाख हिथ्रो १२१४ ७ करोड
थाइल्याण्ड ६ करोड ९८ लाख ७१९० बैंकक् १ करोड ७ लाख सुवर्णभूमि ३२४० ५ करोड
नेपाल २ करोड ९२ लाख

 

 

११९६ निजगढ २० हजार निजगढ ८०००
नेपाल     काठमाडौं ३० लाख त्रिभुवन अन्तर्राष्ट्रिय १० हेक्टर भन्दा कम ३३ लाख

माथिको तालिकाले देश र शहरको जनसंख्या, विमानस्थलको क्षेत्रफल र यात्रु चापलाई देखाएको छ । यस तालिकालाई विचार गर्दा निजगढ विमानस्थल हाम्रो आवश्यकता हो वा स्वैरकल्पना भन्ने पुष्टि हुन्छ ।

अब निजगढ विमानस्थलका लागि लगानीको कुरा गरौं । प्रारम्भिक अनुमान अनुसार निजगढ विमानस्थल निर्माणका लागि अमेरिकी डलर ६.७ अरब लाग्नेछ । आजको दरमा यो रकम ८ खर्ब ४ अर्ब नेपाली रुपैयाँ हुने छ अर्थात् नेपालको एक वर्षको सम्पूर्ण बजेटको आधा ।

संसारमा कुनै एक देशले आफ्नो सम्पूर्ण वाषिर्क बजेटको आधा बजेट एउटै परियोजनामा खर्च गर्न सक्छ ? गर्न मिल्छ ? कथंकदाचित त्यस परियोजनाले प्रतिफल दिन सकेन भने देशको अर्थतन्त्र कुन हदसम्म प्रभावित हुनेछ ?

यस परियोजनाले अन्य सारा सामाजिक सेवाका राज्य अभियानहरूलाई प्रभावित गर्छ गर्दैन ? जुन-जुन नेता र विकासवादीहरूले निजगढ विमानस्थल निर्माण रोकिएकोमा सर्वोच्च न्यायालयको हुर्मत लिने वक्तव्य दिइरहेका छन, उनीहरूलाई हामी सबैले एकमुखले सोधौं, संभव छ यो परियोजना निर्माण गर्न ? अनि नेपाल सरकारले २०७९/८० को बजेटमा २६ करोड रुपैयाँ छुट्याएको छ विमानस्थलका लागि, अब भनौं सरकार आफैंलाई ढाँटिरहेछ कि सारा नेपालीलाई उल्लु ठानिरहेको छ ।

जहाँसम्म वातावरण र वनको कुरा छ, निजगढमा रहेको वन प्राकृतिक हो । यो ‘टिम्बर फरेष्ट’ हो । यहाँको वनमा ४०० वर्ष पुराना साल र सिसौका रूख छन भन्ने अध्ययनले देखाएको छ । नेपालको साल र सिसौ संसार प्रसिद्ध काठ हो । सरदरमा एउटा रूखबाट १ हजार क्यु फिट काठ आउँछ भन्ने मान्ने हो भने पनि २४ लाख रूखबाट २ अर्ब ४० करोड क्यु फिट काठ आउन सक्छ । विमानस्थललाई जंगलतिर फैलाउनुका पछाडि कतै यो कारण त प्रमुख छैन ? सर्वोच्च न्यायालयको निजगढ विमानस्थलमाथिको निर्णयमा दलहरूको आपत्तिको यो पनि कारण हुन सक्छ कि ?

मानव क्रियाकलापले उत्सर्जन गर्ने ताता ग्याँसहरू रूखले संचित गरी अक्सिजन उत्पादन गर्दछ । सूर्यका तापयुक्त प्रकाशलाई रूखले नै संचित गरी पृथ्वीमा तापक्रम सन्तुलनमा राख्ने काम गर्दछ । अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टिहरूबाट उत्पन्न विपद्हरूलाई नियन्त्रणमा राख्ने क्षमता जंगलमा मात्र हुन्छ । यसले गर्दा जंगलको महत्वलाई प्राथमिक महत्वको क्षेत्र मानिएको हो ।

पृथ्वीको सतहमा बढेको तापमानले हिमालयहरू पग्लँदै गएका कारण नेपाली चिन्तित छन् । तराईमा रहेको जंगलले तराईको तापक्रम सन्तुलनमा राख्ने काम गरिरहेको छ र यसले पहाडलाई चिसो राखिराख्न मद्दत गरेको छ । यदि तराईको जंगल नाश हुने हो भने तराई त मरुभूमि हुन्छ हुन्छ, त्यहाँ बढेको तापक्रमको असर पहाडमा पर्छ र पहाडको हिमाल र हिमनदीमा ।

माथि भनिएको छ पर्यावरण पर्यावरणीय तत्वहरूको सम्यक् सम्बन्धमा स्वस्फूर्त संचालित छ, त्यसको स्वतः संचालित प्रक्रियामा मानव हस्तक्षेप बढ्नाले धर्ती तातो हुँदै गएको हो । निजगढको पर्यावरणीय विशेषतालाई नाश गर्नु भनेको मान्छेले आफ्नो समय छोट्याउनु हो । सम्मानित सर्वोच्च न्यायालयले प्रकृतिमाथि न्याय गर्नै पर्दथ्यो । जसले अन्ततोगत्वा अभिमानी मानिस प्रजातिको आयु नै बढाउने हो ।

अब अर्को तरिकाले हेरौं, निजगढको जंगलले के दिन सक्छ ?

निजगढको वनले ४७ लाख ६६ हजार ६६१ टन कार्बन संग्रहण गर्दछ । रोयटरको अनुसन्धानमा कार्बनको प्रति टन मूल्य कम्तीमा पनि अमेरिकी डलर १०० हुनुपर्छ भनिएको छ । यस अनुसार निजगढको वनले ४७ करोड ६६ लाख ६६ हजार १०० मूल्यको कार्वन संचिति गरेको छ । यसको नेपाली मूल्य ५७ अर्ब १९ करोड ९९ लाख ३२ हजार हुन आउँछ । प्रत्येक वर्ष प्राप्त हुने मूल्य हो यो ।

यस वनले दिने अक्सिजन, नन टिम्बर फरेष्ट प्रडक्टको, वनमा आश्रति जनसंख्याको ठूलो हिस्साको जीविकोपार्जनको मूल्य, वन्यजन्तु चराचुरुंगी र घस्रने प्रजातिका जीवहरूलेे पर्यावरणमा पुर्‍याएको योगदान र पर्यावरणीय महत्व यसमा समावेश गरिएको छैन । अब सोधौं पर्यावरणमा काम गर्नेहरू गलत हुन् वा निजगढमा असम्भव सपना बाँडेर भोटको राजनीति गर्नेहरू गलत ?

अब मृत शरीरमा इटालीमा बनेको कपडाको सुन्दर सुट पहिराएर चितामा चढाउनु र निजगढको वनमा विमानस्थल बनाएर नेपाल विकसित भयो, सुन्दर भयो भन्नु उस्तै कुरा भयो कि भएन त ?

लेखकको बारेमा
श्रवण शर्मा

शर्मा राइट्स अफ नेचर अभियानमा संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?