+
+

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे संसदीय छानबिन माग गर्दै एमालेले गर्‍यो संसद अवरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १६:५७

३१ जेठ, काठमाडौं । नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन गठन गर्नुपर्ने माग गरेका हुन् ।

‘यो गम्भीर विषय सदनमा प्रवेश भइसकेपछि, सारा जनताले थाहा पाइसकेपछि, मिडियामा आइसकेपछि खास खास घरानाका मान्छेले प्रश्रय दिने गरी करको दरमा हेरफेर भइसकेपछि यो सदन मुकदर्शक भएर बस्न सक्दैन’ उनले भने ।

सांसद भट्टराईका अनुसार बजेट निर्माण गर्ने क्रममा जेठ १४ गते राति अर्थ मन्त्रालयमा अर्थमन्त्रीको प्रतिनिधि बनेर अनधिकृत व्यक्ति प्रवेश गरेका थिए । उनले विभिन्न व्यापारिक घरानालाई फाइदा हुने गरी करको दर हेरफेर गरेका थिए ।

सांसद भट्टराईले यो विषय सञ्चार माध्यममार्फत सार्वजनिक भइसकेपछि अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने पनि बताए । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गर्नु राष्ट्रघात र ठूलो वित्तीय अपराध भएको पनि भट्टराईले बताए ।

‘त्यो खालको व्यक्तिहरु प्रवेश गराएर करको दर हेरफेर गराउने, यो भन्दा ठूलो राष्ट्रघात अर्को हुन सक्दैन । यो भन्दा ठूलो वित्तीय अपराध अरु हुन सक्दैन’ उनले भने ।

भट्टराईले जेठ १४ गते राति अर्थ मन्त्रालयमा बजेट निर्माण भइरहेको ठाउँको सीसीटीभी फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमै अर्थमन्त्री शर्माले भने बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश नगरेको प्रष्टीकरण दिएका थिए । तर सांसद भट्टराईले भने, ‘बदमासी गर्नेहरुले हो भनेको रेकर्ड छैन, हो भन्ने तथ्यले बताउँछ आधारले बताउँछ, क्रियाकलापले बताउँछ ।’

त्यसपछि एमाले सांसदहरु बसेको ठाउँबाट उठेर संसद बैठक अवरोध गरेका छन् ।  सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा आफूले अरु सांसदहरुले पनि प्रश्न लिने र अर्थमन्त्रीले जवाफ दिने  बताए पनि एमाले सांसदहरुले मानेनन् । त्यसपछि सभामुख सापकोटाले संसद बैठक असार १ गते विहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।

अनधिकृत व्यक्ति संलग्न भएका छैनन् : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका सबै प्रक्रिया आधिकारिक रुपमा भएको प्रष्टीकरण दिएका छन् । संसदमा उठेका प्रश्नबारे मंगलबार जवाफ दिँदै उनले बजेट तर्जुमा सम्बन्धी विषय तोकिएको जिम्मेवारी भित्र रहेर बनाइएको बताए । ‘बजेट तथा आर्थिक विधेयक तर्जुमा प्रक्रिया अन्तर्गत नै रहेर बनाइएको हो,’ उनले भने ।

यसमा अर्थसचिव र राजस्व सचिवले नेतृत्व गरेको भन्दै उनले मातहतमा अन्य विभागीय प्रमुख कर्मचारीको तहमा विभिन्न स्तरमा छलफल भएर, सरोकारवालाबाट आएका सुझाव समेतलाई ध्यान दिएर बजेट बनाइएको बताए ।

अर्थमन्त्रीको हैसियतमा नीतिगत रुपमा भिजन दिएर बजेटमा योगदान गरेको भन्दै उनले भने, ‘बजेट निर्माण गर्दा राजस्वका दर चलाउन रातको १२ बजे कोही व्यक्ति आएको भन्दै भ्रामक र झुटो कथा बनाइएको छ ।’ उनले अनधिकृत व्यक्तिले बजेट बनाएको विषय भ्रामक भएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?