+
+

बाहिरी चक्रपथ बन्नेमा सन्देह छ : मन्त्री झाँक्री

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १४:३४

१ असार, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पहिले भनेकै ठाउँमा बाहिरी चक्रपथ बन्नेमा शंका रहेको बताएकी छन् ।

शहरी विकास मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै बुधबार उनले बाहिरी चक्रपथको कुनै पनि प्रक्रिया अघि नबढेको जानकारी गराइन् ।

‘आउटर रिङरोड (बाहिरी चक्रपथ) को प्रक्रिया केही पनि अघि बढेको छैन, जुन ठाउँमा आज आउटर रिङरोड बन्ने भनिएको थियो, त्यही ठाउँबाट बन्छ कि बन्दैन भन्ने कुराको सन्देह छ’ उनले भनिन् ।

बाहिरी चक्रपथ बन्ने भनिएको चोभारको ड्राइपोर्ट (सुख्खा बन्दरगाह)देखि सतुंगलसम्मको ६ किलोमिटर क्षेत्रमा धेरै सरकारी भवन बनेको र त्यसको मुआब्जा दिन ३ अर्ब रुपैयाँ भन्दा धेरै रकम आवश्यक पर्ने मन्त्री झाँक्रीको भनाइ छ ।

‘चोभारको ड्राइपोर्टदेखि सतुंगलसम्म जहाँ आउटर रिङरोड भनेर सर्वे गरिएको थियो । त्यो ६ किलोमिटर क्षेत्रमा कयौं सरकारी भवन बनेका छन् । यदि राज्यले मुआब्जा दिने हो भने करिब करिब ३ अर्ब लाग्छ’ उनले भनिन् ।

त्यस्तै बाहिरी चक्रपथ बन्ने क्षेत्रमा जग्गाको धेरै कित्ताकाट भएको भन्दै उनले यो योजनाको पुनः अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

मन्त्री झाँक्रीले काठमाडौं उपत्यकामा चारवटा स्याटेलाइट शहर बनाउने योजनाको पनि काम भन्दा कुरा धेरै भएको बताइन् ।

चार स्याटेलाइट सिटीमध्ये उत्तरपूर्वी शहरको भौतिक पूर्वाधारको योजना मन्त्रिपरिषदले पास गर्ने तयारी भएको र अरु तीन वटाको सम्भाव्यता अध्ययन नै जारी रहेको उनको भनाइ छ । ती शहर बनाउने भनेको ठाउँमा जग्गा रोक्काको काम पनि अघि नबढेको मन्त्री झाँक्रीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?