 
																			२ असार, काठमाडौं । तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्य रहेका रितबहादुर खड्काको स्मृतिसभालाई सत्ता गठबन्धनका जिल्ला नेताहरुले सम्बोधन गरेका छन् ।
खड्कालाई २०५९ साल असार २ गते रौतहटमा प्रहरीले नियन्त्रणमा लिई हत्या गरेको थियो । उनकै खड्काको २१ औं स्मृतिसभा मनाउन नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा दोलखाबाट प्रतिनिधित्व गर्ने गठबन्धनका नेताहरुले मिलेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आथित्यमा भएको कार्यक्रममा एकीकृत समाजवादीका दोलखाका नेता गोपाल न्यौपानेले सम्बोधन गर्दै अहिलेको परिवर्तनमा माओवादी युद्धको ठूलो भूमिका रहेको टिप्पणी गरेका थिए।
‘माओवादीले गरेको युद्धले यो परिवर्तनलाई ठूलो योगदान गरेको छ। सामान्तवादको अन्य गर्न, विकृति, विसंगतिको अन्य गर्नका लागि र भ्रष्टाचारको अन्त्यका लागि यो युद्धले ठूलो फड्को मारेको छ,’ न्यौपानेको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेस दोलखाका पूर्व जिल्ला सभापति रुद्रबहादुर खड्काले पनि सम्बोधन गरेका थिए। उनले रितबहादुर खड्कालाई स्मरण गर्दै राजनीतिक, सामाजिक परिवर्तनका लागि आफूसँग कुरा गर्ने गरेको बताए।
‘रितबहादुरजी युवा हुनुहुन्थ्यो,’ उनले सम्झिए, ‘त्यो बेला म जिल्ला विकास समितिको सभापति थिएँ । उहाँले भेट्दा भन्नुहुन्थ्यो–दाइ मुलुकमा धेरै परिर्वतन गर्नुछ । मुलुकका समाजिक विकासका धेरै कुरा अगाडि बढाउनु छ । उहाँको स्वर्गबास हुँदा म विदेशमा थिएँ । यो २१ औं स्मृति दिवसमा उहाँले पुर्याएको योगदान र यो मुलुकमा परिवर्तनका लागि गरेको जुन किसिमको बलिदान थियो, त्यो बलिदानप्रति उच्च सम्मान व्यक्त गर्र्दै हार्दिक सद्धासुमन व्यक्त गर्न चाहान्छु ।’
गठबन्धन कसिलो बनाउने धारणा
खड्काको स्मृतिसभामा नेतारुले हालै सम्पन्न स्थानीय चुनावमा जिल्लामा भएको गठबन्धनबाट मुलतः सफलता पाएको भन्दै संघीय चुनावमा यसलाई झन कसिलो बनाउनुपर्ने धारणा राखेका थिए ।
‘राजनीतिमा देखिएको दम्भव, घमण्डविरुद्ध हामी गठबन्धनमा छौं,’ एकीकृत समाजवादीका नेता न्यौपानको भनाइ थियो, ‘गठबन्धनको यात्राले जनतामा एउटा ठूलो उर्जा मिलेको छ । गठबन्धनलाई निरन्तरता देउ, बेठिकलाई परास्त गर र कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउ भन्ने सन्देश जनताले दिएका छन् ।’
कांग्रेसभा पूर्व जिल्ला सभापति खड्काले पनि संघीय चुनावमा झन् बलियो बनाउनुपर्नेमा जोड दिए । ‘यो गठबन्धनबाट धेरै ठाउँमा विजय हासिल भएको छ,’ उनको भनाइ छ, ‘निकटमा अर्को चुनावको सामना गर्दै छौं । म अध्यक्ष प्रचण्डज्यूलाई अनुरोध गर्न चाहान्छु, आउने चुनाव हामी मिलेर सामना गरौं । र, पाँच वर्षमा हामीले यो मुलुकको मुहारमा धेरै परिवर्तन गर्न सक्छौं।’
आफ्ना दाजुको स्मृति सभालाई सम्बोधन गर्र्दै माओवादी नेता देवी खड्काले पनि आमी दिनमा पनि गठबन्धनलाई थप सुध्रिढ बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरेकी थिइन् । ‘गठबन्धन भनेको एक आपसमा सहकार्य हो,’ उनको भनाय थियो, ‘सहअस्थित्व र आपसी सद्भावलाई स्वीकार गरेर सहकार्य गर्ने सन्दर्भमा ७५ प्रतिशत हामी दोलखाली सफल भएका छौं । आगामी दिनमा अझ यसलाई सुध्रिढ गर्दै लैजान्छौं।’
कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले पनि आगामी चुनावमा पनि हालको गठबन्धनले नै निरन्तरता पाउने बताएका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4