
३ असार, काठमाडौं । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न भएको छ ।
तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्की चोकदेखि काठमाडौंको मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारणलाइनलाई बिहीबारदेखि १३२ केभीमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन निर्माण सम्पन्न भएसँगै काठमाडौं उपत्यकामा थप विद्युत् प्रवाहका लागि विश्वसनीय प्रसारण सञ्जाल तयार भएको बताए ।
कुलेखानी नचलेको बेला मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइनमार्फत विद्युतलाई काठमाडौं हुँदै हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ थप विद्युत प्रवाह गराउन सकिने भएकोले यो प्रशारणलाइन काठमाडौं उपत्यकाका लागि लाइफ लाइन भएको उनको भनाइ छ ।
मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन निर्माणका लागि भारतीय कम्पनी टाटा प्रोजेक्ट लिमिटेडसँग १६ असार २०७३ मा १ करोड ३ लाख अमेरिकी डलर र ७६ करोड ६३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
प्रतिक्रिया 4