+
+

नेपाल टी-२० लिग : खेल नेपालको, कानून भारतको !

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असार ३ गते १८:२९

३ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी-२० लिग आयोजनाका लागि भारतीय कम्पनीसँग भारतकै कानून अनुसार सम्झौता गरेको पाइएको छ ।

क्यान र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स (एस थ्री) बीच नेपालको आधिकारिक टी-२० लिग आयोजनाका लागि पटक-पटक सम्झौता भएको थियो ।

तर हालै सार्वजनिक पछिल्लो सम्झौता पत्रमा त्यो सम्झौता भारतको कानून अनुसार भएको उल्लेख छ । सम्झौतापत्रको २१ नम्बर बुँदामा लेखिएको छ, ‘यो सम्झौता भारतीय कानून अनुसार भएको छ ।’

सम्झौतामा कुनै विवाद आएमा र १५ दिनभित्र समाधान नभएमा भारतको कानून अनुसार नयाँ दिल्लीमा विवादको निरुपण गरिने उल्लेख छ ।

तर क्यानका सचिव प्रशान्त विक्रम मल्ल मध्यस्थता गर्नका लागि दिल्ली जानु पर्ने बुँदालाई ठूलो बनाउन नहुने बताउँछन् । ‘केही समस्या भए मध्यस्थता गर्न सकिने छ भनेर राखेको हो । त्यसका लागि सिंगापुर राख्ने भनेको थियो, तर टाढा भएकोले दिल्ली । यसमा केही समस्या छैन । केही समस्या आए मध्यस्थाता गर्ने भनेको हो । कुनै मुद्दाको कुरो छैन ।’

नेपाल टी-२० लिग आयोजनाका लागि क्यान र एस थ्री बीच २०७७ माघमै भएको ५१ पृष्ठ लामो सम्झौता भएको थियो । कोभिड-१९  र नेपाल सरकारको अनुमति नभएको कारण बिचमा एस थ्रीसँग सम्झौता रद्ध गर्ने निर्णयमा क्यान पुगिसकेको थियो । तर पछिल्लो पटक धनगढीमा भएको साधारण सभाले पुरानो सम्झौतामा केही संशोधनसहित एस थ्रीलाई नै अधिकार दिने निर्णय गर्दै पारित समेत गरिसकेको छ ।

जसअनुसार क्यानले एस थ्रीसँग पछिल्लो पटक संशोधित सम्झौता गरेको थियो । संशोधित सम्झौता अनुसार नेपाल सरकारबाट अनुमति पाएपछि पछिल्लो र पहिलाका सम्झौता लागु हुने उल्लेख छ ।

८ वर्षसम्मका लागि कायम रहने सम्झौताले सेभेन थ्री स्पोर्ट्सलाई क्यानले स्ट्राटेजिक एण्ड कमर्सियल पार्टनर एण्ड एडभाइजर राइट्स’ (रणनैतिक र व्यवसायिक साझेदार र सल्लाहकार अधिकार) दिएको उल्लेख छ । त्यस वापद एस थ्रीले ८ वर्षमा क्यानलाई ३३ करोड रुपैयाँ दिने छ ।

नेपाल टी-२० लिग सँगै जुनियर क्रिकेट च्याम्पियनसिप कार्यक्रम

क्यानले नेपाल टी २० लिग गर्नका लागि सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेको जनाएको थियो । तर दुई पक्षबीच भएको सम्झौतामा टी-२० लिगसहित नेपालमा हुने टी-१०, टी-१५ लगायत नेपालमा हुने कुनै पनि क्रिकेट प्रतियोगिताको आयोजना अधिकार सेभेन थ्री स्पोर्ट्सलाई दिने उल्लेख छ ।

आईसीसीबाट मान्यता प्राप्त भविष्यमा हुने कुनै पनि फर्म्याटको क्रिकेट प्रतियोगितामा खेलाडी ड्राफ्ट गर्ने, फ्रेन्चाइजी लिनेदेखि स्पोन्सर छान्ने अधिकारसम्म सेभेन थ्री स्पोर्ट्सलाई नै हुनेछ ।

क्यानका सचिव मल्लले नेपाली टी-२० लिग मात्र एस थ्रीलाई बेचेको र अरु सबै नेपाली क्रिकेटको विकासको हितमै भएको दावी गरे । ‘नेपाली टी-२० लिगको अधिकार मात्र दिएको हो । पहिलो पटक ४ करोड रुपैयाँ दिएर कसैले गर्दैछ भने हामीले त्यसमा किन असहयोग गर्ने? हामीले अरु केही बेचेका छैनौँ । क्यानले विश्वास दिलाउनका लागि मात्र अरु लिग गरेको खण्डमा तिमीहरुलाई नै दिन्छौँ भनेर राखेको हो । अरु केही होइन’, मल्ले स्पष्टिकरण दिए ।

क्यानको संरक्षकत्वमा हुने नेपाल टी-२० क्रिकेट ट्यालेन्ट हन्ट वा अन्य प्रतियोगिता, लिग वा अबको ८ वर्षसम्म हुने इभेन्टको बौद्धिक सम्पत्ति सेभेन थ्री स्पोर्ट्ससँग एक्सक्लुसिभ रहनेछ । यसमा लिगको ट्रेडमार्क लोगो नाम लगायत समावेश हुनेछ ।

यस्तै जुनियर क्रिकेट च्याम्पियनसिप (जेसीसी) आयोजनाका लागि पनि सेभेन थ्री स्पोर्ट्सले अधिकार पाएको छ ।

नेपाल टी-२० लिगका लागि ट्यालेन्ट हन्टको रुपमा जुनियर च्याम्पियनसिप गर्ने र त्यसबाट छानिएका खेलाडीहरु भारतमा गएर जुनियर च्याम्पियनसिपमा खेल्न क्यानका कार्यवाहक सचिव मल्लले बताए । ‘जुनियर च्याम्पियनसिप भारतमा पनि हुन्छ । नेपालभर ट्यालेन्ट हन्ट गर्ने र भारतमा लगेर खेलाउन उनीहरुले सहयोग गर्ने सहमति भएको हो ।’

सम्झौता अनुसार ४ करोड ८० लाख रकम भने जुनियर च्याम्पियनसिपमा खर्च हुनेछ । मुख्य सम्झौता अनुसार भने जुनियर च्याम्पियनसिपबाट छानिएका खेलाडी भविष्यमा नेपाल टी-२० लिगमा पनि समावेश गरिने उल्लेख छ ।

फेञ्चाइजी टिमको मालिक बन्न टेण्डर

८ असोजदेखि ५ कात्तिकमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिलो संस्करण घोषणा गरेको क्यानले टिमको नाम समेत सार्वजनिक गरेर टिम मालिक बन्नका लागि टेन्डर नै आह्वान गरिसकेको छ ।

लिगमा ६ टिमको सहभागिता हुनेछ । तीन क्याटेगोरीका खेलाडी टिममा हुनेछन् ।

क्यानले बैँक डिटेल पठाएपछि एस थ्रीले लाइसेन्स फि वापतको १५ प्रतिशत रकम सुरुमा पठाउने उल्लेख छ । जस अनुसार पहिलो सिजनका लागि १५ प्रतिशत ( ५८ लाख ५० हजार) रकम आइसकेको क्यानले जनाएको छ ।

यस्तै एस थ्रीले पहिलो सिजनका लागि मैदानको स्तरोन्नतीका लागि २५ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

नेपाल टी-२० लिग नेपालको एक मात्र आधिकारिक लिग रहने र अन्य लिगलाई क्षेत्रीय लिगको रुपमा आयोजना गर्ने व्यवस्था गर्ने क्यानले निर्णय गरिसकेको छ । क्यानले टी-२० लिगका लागि मात्र सेभेन थ्रीलाई अधिकार दिएको पत्रकार सम्मेलन मार्फत नै घोषणा गरेको थियो ।

यस्तै मुख्य सम्झौता अनुसार तीन क्याटेगोरीका खेलाडी रहने ए क्याटेगोरीमा नेपालका शीर्ष तीन खेलाडी राखिने व्यहोरा छ । संशोधित सम्झौतामा भने कम्तीमा नेपालका एक जना राष्ट्रिय खेलाडी ए क्याटेगोरीमा राख्ने उल्लेख छ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?