+
+

वायुसेवा निगमको ३३ करोडको ठेक्कामा मिलेमतो

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ असार ३ गते १९:१२

३ असार, काठमाडौं । नेपाल वायुसेवा निगमले यात्रु व्यागेज र कार्गो ह्यान्डलिङको काम गर्ने कामदार आपूर्तिका लागि मिलेमतोमा ठेक्का आह्वान गरेको छ । एउटै प्रकृतिका काम दुई वटा कम्पनीलाई ‘सेटिङ’का आधारमा जिम्मा दिने गरी टेन्डर आह्वान भएको हो ।

सकेसम्म अन्य कम्पनीलाई प्रतिस्पर्धामा आउनै नदिने र आए भने प्राविधिक मूल्यांकनमा फेल हुने गरी ठेक्का आह्वान भएको निगम स्रोतले बतायो । सार्वजनिक खरिद ऐन र नियमावलीले प्रतिस्पर्धा खुम्च्याएर ठेक्का गर्न नपाइने व्यवस्था गरेको छ । तर, निगमले विमानस्थलमा करिब एक दशकदेखि काम गरिरहेका कम्पनीहरुलाई नै फेरि ठेक्का दिने बन्दोबस्त मिलाएर ठेक्का निकालेको हो ।

वायुसेवा निगमको यात्रुसेवा विभागले गत २४ जेठमा ‘प्रति सिफ्ट’ र ‘प्रति उडान’का आधारमा भन्दै २ वटा ठेक्का आह्वान गरेको थियो । आउट सोर्सिङ कम्पनी छनोटका लागि भएको ठेक्का अहिले त्रिभुवन विमानस्थलभित्रै काम गरिरहेका सुनगाभा सर्भिसेज एन्ड सप्लायर्स र नयाँ नेपाल जनशक्ति प्रालिलाई ठेक्का दिने गरी मिलेमतोकै ठेक्का भएको निगम स्रोतले बतायो ।

निगमले प्रति उडानका लागि गरेको बोलपत्र (सीएसडी/०१/२०७८/०७९) सुनगाभा सर्भिसेज एन्ड सप्लायर्स र प्रति सिफ्टको (सीएसडी/०२/२०७८/०७९)लाई नयाँ नेपाल जनशक्ति प्रालिलाई ठेक्का दिलाउने गरी बनाएको छ ।

बोलपत्रले आपूर्तिकर्ता कम्पनीको उद्देश्यमा नै विमानस्थल, वायुसेवा कम्पनी वा लोडिङ/अफलोडिङ कामदार आपूर्तिसम्बन्धी कार्य गर्न भनेर स्पष्ट उल्लेख भएको हुनुपर्ने योग्ग्यता मागेको छ । जबकी नेपालमा यसरी ‘विमानस्थलमा लोडिङ/अफलोडिङ कामदार आपूर्तिसम्बन्धी काम’को किटान गरेरै स्थापित कम्पनी ज्यादै न्यून छन् ।

त्यसमाथि ३ वर्षभित्र कुनै विभाग, फर्म, संस्था वा कार्यालयमा १ वर्षसम्म तोकिएको संख्यामा जनशक्तिहरु आपूर्ति गरी विमानस्थल वा विमानस्थलसँग सम्बन्धित प्रकृतिका कम्पनीमा ग्राउन्ड ह्यान्डलिङ वा लोडिङ अफलोडिङ कामदार आपूर्ति नगरेका कम्पनीले ठेक्कामा भाग नै लिन नपाउने बनाइएको छ । यस्तो काम गरेर विमानस्थल वा वायु सेवा कम्पनीसँग कारोबार रकमको सीमा पनि तोकिएको छ ।

‘प्रतिउडान’को लागि भएको बोलपत्रमा विमानस्थलमा २५० भन्दा बढी श्रमिक राखेर लोडिङ/अफलोडिङसम्बन्धी काम गरेको कम्पनीको योग्यता भएका कम्पनीलाई बढी अंकभार दिने गरी टेन्डर भएको छ । जबकी नेपालमा विमानस्थलमा लोडिङ/अफलोडिङमा यति ठूलो जनशक्ति आपूर्ति गर्ने कम्पनी सुनभागा मात्रै हो ।

नयाँ नेपाल जनशक्ति प्रालिलाई दिने गरी निकालिएको ‘प्रतिसिफ्ट’को लागि भएको बोलपत्रमा पनि १५० जनाले त्यस्तै काम गरेको अनुभव भएमा बढी अंक दिने तय गरिएको छ ।

‘विमानस्थलमै ठूलो मात्रा जनशक्ति लोड/अफलोड काम गरेको ३ वर्षको अनुभव मागिएपछि अरु कम्पनीले ठेक्का पाउने बाटो नै बन्द भयो,’ निगमका एक अधिकारी भन्छन्, ‘७० अंक ल्याएमा पास हुने भनेर तोकिएका अंकभारका शर्तहरु हेर्दा अरु कम्पनीले ३० अंक पनि पुर्‍याउन कठिन छ ।’

नेपालमा भर्खरै मात्रै लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको हो, त्रिभुवन विमानस्थलमाबाहेक अन्यत्र शर्त बमोजिम कामदार आपूर्ति गरेका कम्पनी भेट्न मुस्किल छ । त्रिभुवन विमानस्थलको आन्तरिक भागसहित अन्य आन्तरिक विमानस्थलमा सम्बन्धित एयरलाइन्स आफैंले यस्तो कामका लागि कर्मचारी राख्ने गरेका छन् ।

‘सुख्खा बन्दरगाहसहित कतै कसैले यस्तो काम गरेका छन् भने पनि ती कम्पनीले १०/१५ जना आपूर्ति गरेका होलान्, त्यस्ता कम्पनी प्रतिस्पर्धामा नै आउन पाउँदैनन्,’ स्रोत भन्छ, ‘सामान लोड र अनलोड गर्ने काम कुनै प्राविधिक रुपमा जटिल होइन, जसमा अनुभवी कम्पनी नै चाहियोस् ।’

बोलपत्रमा अरु कम्पनीलाई आउन नदिन सामाजिक सुरक्षा कोषमा कम्तीमा १०० देखि १५० र २०० देखि २५० जना श्रमिक आबद्ध गरिएको योग्यता पनि मागिएको छ । रोचक त के छ भने जोइन्ट भेन्चर गरेर आउन नदिन ठेक्काको क्राइटेरियामा ‘संयुक्त उपक्रम’को कम्पनीले ठेक्कामा सहभागी नै हुन नपाउने व्यवस्था गरिएको छ ।

‘सामाजिक सुरक्षा कोषमा कम्पनी आवद्ध भएको र श्रमिकलाई सो सुविधा दिने ग्यारेन्टी माग्नु ठीक हुन्छ, तर सामाजिक सुरक्षा कोषमा यति संख्यामा श्रमिक आवद्ध भएको भनेर माग्नुले नै यसमा मिलेमतो गरिएको पुष्टि हुन्छ,’ निगमका ती अधिकारी भन्छन् ।

करिब ३३ करोडका यी दुई ठेक्कामा स्वच्छ प्रतिस्पर्धा भएमा २० प्रतिशतसम्म मूल्य घट्नसक्ने अधिकारीहरु बताउँछन् । ‘तर, यो अनुमानित लागत बराबरमै ठेक्का लाग्दैछ,’ निगमका एक अधिकारी भन्छन्, ‘प्रतिस्पर्धा नै हुन नदिने गरी ठेक्का गरेको जान्दाजान्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मौन छ ।’

निगमका यात्रु सेवा विभाग प्रमुख टंकनिधि दाहाल भने विमानस्थल जस्तै प्रकृतिका अन्य काम गरेकाहरु पनि प्रतिस्पर्धामा सहभागी हुन पाउने बताउँछन् । ‘म यसबारे पछि भनौला,’ अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?