+
+

पोखरा आएका पर्यटकलाई भैरवस्थान र भकुण्डे ल्याइने

पर्यटकीय राजधानीका रुपमा रहेको पोखरा आएका पर्यटकको बसाईं लम्ब्याउन पोखराका पर्यटन व्यवसायी नयाँ गन्तव्यको खोजी र प्रवर्द्धनमा जुटेका छन् ।

रासस रासस
२०७९ असार ५ गते १३:३८
फाइल तस्वीर

५ असार, पोखरा । पर्यटकीय राजधानीका रुपमा रहेको पोखरा आएका पर्यटकको बसाईं लम्ब्याउन पोखराका पर्यटन व्यवसायी नयाँ गन्तव्यको खोजी र प्रवर्द्धनमा जुटेका छन् ।

पोखराबाट दुई/तीन घण्टामै पुग्न सकिने आकर्षक धार्मिक तथा प्राकृतिक क्षेत्रको भ्रमण गराउनसके पर्यटकको बसाईं लम्याउने योजनासहित पोखराका पर्यटन व्यवसायीहरूले पोखराका पर्यटकलाई बागलुङको बलेवा र भकुण्डे ल्याउनका लागि नयाँ गन्तव्यका रुपमा विकास गर्नका लागि प्रवर्द्धनात्मक कार्यक्रम गर्न थालेका छन् ।

नेपाल एशोसिएसन अफ ‘टुर एण्ड ट्राभल एजेण्ट्स’ (नाट्टा) गण्डकी प्रदेश तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको समन्वयमा पोखराका पर्यटन व्यवसायी बागलुङको बलेवा र भुकण्डेको प्रवर्द्धनमा जुटेका हुन् ।

पोखरामा आएका पर्यटकको बसाईं लम्ब्याउनका लागि खोज्ने वैकल्पिक पर्यटकीय गन्तव्य बागलुङको भैरवस्थान र भकुण्डे बनाउनका लागि गन्तव्य पहिचान र प्रवर्द्धनमा पोखराका पर्यटन व्यवसायी जुटेका हुन् ।

नाट्टामा आबद्ध होटल व्यवसायी, यातायात व्यवसायीलगायतका पर्यटनसँग सम्बन्धित व्यवसायीले पोखरा आएका पर्यटकलाई थप समय भुलाउनका लागि वैकल्पिक गन्तव्य खोज्ने क्रममा बागलुङको भैरवस्थान हुँदै भकुण्डे एउटा विकल्प हुने गरी प्रचारप्रसार र प्रवर्द्धनमा जुटेका हुन् ।

पोखरा आएका पर्यटक केही घण्टामै वैकल्पिक गन्तव्यमा पुग्नेगरी नयाँ गन्तव्य तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जुट्दै आएको नाट्टाले यसपटक पोखरा आएका पर्यटकलाई पर्वत र बागलुङ जोड्ने बञ्जी पुल, बलेवा विमानस्थल क्षेत्र, भैरवस्थान मन्दिर, भकुण्डे घरबास, बराह ताल हुँदै बागलुङ बजार ल्याएर पञ्चकोट पुर्‍याउने योजनाका साथ पर्यटन व्यवसायीहरूलाई त्यस क्षेत्रको भ्रमणमा ल्याएको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बताए ।

‘पोखराबाट नजिकका गन्तव्यमा पर्यटक पुर्‍याउन सके पोखराको मात्र नभई त्यस क्षेत्रको पर्यटकीय गतिविधि बढाउने हाम्रो उद्देश्य हो, पोखरा बसाईंका लागि आएका पर्यटकलाई थप दुई दिन लम्ब्याउन वैकल्पिक गन्तव्य आवश्यक हुन्छ, त्यसैले नाट्टाले समय समयमा नयाँ गन्तव्यको खोजी र प्रवर्द्धन गर्दै आएको छ’, अधिकारीले भने, ‘पोखरा आएका पर्यटक छोटो समयमै पर्वतको कुस्मा र बागलुङको बञ्जीजम्प हुँदै भैरवस्थान दर्शन गरेर भकुण्डे बसेर बागलुङको पञ्चकोट आउन सक्छन्, त्यसैले त्यस क्षेत्रको प्रवर्द्धन र अवलोकनका लागि नाट्टामा आबद्ध पर्यटन व्यवसायी र पर्यटन मन्त्रालयका कर्मचारी भैरवस्थान, भकुण्डे हुँदै बागलुङ बजार अवलोनका लागि आएका हौँ ।’

पोखरापछि थप दुई दिन बिताउन कुस्मा, भैरवस्थान हुँदै भकुण्डे गज्जबको गन्तव्य बन्ने अधिकारीको भनाइ छ । पछिल्लो समय कुस्माको बञ्जी पुल अवलोनका लागि आउने पर्यटकलाई समेत बागलुङको भकुण्डेमा एक रात बिताउनका लागि आकर्षित गर्न सकिने पर्यटन व्यवसायीको भनाइ छ ।

पोखरा आएका पर्यटकलाई बागलुङ पठाउँदा पोखराको पर्यटन व्यवसायमा समेत अप्रत्यक्ष फाइदा पुग्ने भएपछि व्यवसायी आफ्नै सक्रियतामा नयाँ गन्तव्य पहिचान र प्रवर्द्धनमा जुटेका हुन् ।

आफैँ नपुगेको र नबसेको स्थानमा पर्यटकलाई जाउ भन्न समस्या हुने र पर्यटकले नयाँ गन्तव्य भनेजस्तो नभएपछि पोखराकै पर्यटन व्यवसायमा समस्या पर्ने भएपछि नाट्टामा आबद्ध पोखराका पर्यटन व्यवसायी आफैँ भैरवस्थान दर्शन, भकुण्डे घरबास हुँदै बागलुङ बजार आएका हुन् ।

भैरवस्थान र भकुण्डेको भ्रमणमा सहभागी पर्यटन व्यवसायीले पोखरा आएका पर्यटकलाई भैरवस्थान र भकुण्डेलाई एक दिन वा दुई दिनको भ्रमणका लागि पर्यटक पठाउन समस्या नरहेको बताएका छन् ।

भकुण्डे घरबासको अर्गानिक खाना, आरामदायी बसाई, प्राकृतिक बातावरण र हिमालको दृश्यले पर्यटकलाई आकर्षित गर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

भ्रमणमा सहभागी नाट्टा गण्डकीका द्वत्तिय उपाध्यक्ष तथा भ्रमण समूहका संयोजक कमला गिरीले भैरवस्थान र भकुण्डेमा पर्यटक रमाएर दुई दिनसम्म बिताउनसक्ने बताइन् ।

भैरवस्थान र भकुण्डेलाई पोखरापछिको पर्यटकीय गन्तव्य बनाएर पर्यटक पठाउन पोखराका पर्यटन व्यवसायी लालयीत भएका छन् । उनीहरूले पदमार्ग र सवारीसाधन दुवै तरिकाले यहाँ पर्यटक आउने सम्भावना रहेको बताएका छन् ।

उनीहरूले पर्यटकीय गन्तव्य र घरबासको आतिथ्यता र व्यवस्थापन निकै राम्रो भए पनि सडकलाई भने केही सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

घरबासमा पहुँनाका लागि खानाका लागि आलु, मकै, कोदो, साग भकुण्डेमै उत्पादन भएका कारण अर्गानिक परिकार, घरबास व्यवस्थापन, भ्यू-टावर, प्राकृतिक संरचना लगायतले पर्यटक आकर्षित गरिरहेको र सिजन याममा यहाँको घरबासमा पर्यटकले खाली नहुने भकुण्डेस्थित अतिथि सत्कार घरबासका अध्यक्ष खिम थापाले बताउनुभयो ।

पर्यटकीय सम्भावना रहेका क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न तथा घरबास प्रवर्द्धनलाई गण्डकी प्रदेश सरकारले सदैव सहयोग गरिरहेको गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेलले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?