+
+
सभामुखलाई सांसदको प्रश्न :

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव किन अघि बढेन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १७:५४

६ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण सभामुख अग्निप्रसाद सापकोटाले दिनुपर्ने बताएका हुन् ।

‘यस (महाअभियोग प्रस्ताव) मा सभामुखज्यूको जिम्मेवारी र दायित्व हुन्छ कि हुँदैन ? हुन्छ भने कहिलेबाट महाअभियोग समितिले विषयवस्तु पाउने ? काम गर्न पाउने ? देश र जनताले उठाएका प्रश्नहरुको जवाफ पाउने ?’ सांसद पण्डितले सोधे ।

आफू ११ सदस्यीय महाअभियोग सिफारिस समितिको सदस्य समेत भएको उल्लेख गर्दै सांसद पण्डितले उक्त समितिलाई कहिलेसम्म जिम्मेवारीविहीन अवस्थामा राख्ने भनेर पनि प्रश्न गरेका छन् ।

महाअभियोग प्रस्ताव ल्याउनेहरु कहाँ हराए ? भन्दै सांसद पण्डितले सोधे, ‘त्यो महाअभियोग प्रमुख प्रतिपक्षीसँग छलफल नगरी ल्याइएको र पास हुन सक्दैन भनेर प्रस्तावकहरु नै हराइसक्नुभएको हो कि ? उहाँहरु प्रस्तावमाथि छानविन गर्नका लागि तयार हुनुहुन्न कि के भएको हो ?’

महाअभियोग ल्याएर अगाडि नबढाउनु संविधानिक व्यवस्थाको दुरुपयोग भएको पण्डितको भनाइ छ ।  ‘संविधानमा महाअभियोगको प्रस्तावको जुन व्यवस्था छ । यदि यसको दुरुपयोग भयो भने संविधानको यो व्यवस्थालाई जनताले कसरी बुझ्छन् ? भविष्यमा यस्ता संस्थाहरुको जिम्मेवारी र दायित्व कसरी अगाडि बढ्छ ?’

१ फागुन २०७८ देखि प्रतिनिधिसभामा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव विचाराधीन छ । जबराविरुद्ध पाँच दलीय सत्ता गठबन्धनमा आवद्ध ९८ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिनिधिसभाले २२ फागुन २०७८ मा ११ सदस्यीय महाअभियोग सिफारिस समिति पनि गठन गरेको थियो । तर, हालसम्म प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग प्रस्तावलाई सिफारिस समितिमा पठाएको छैन। यहीँनेर सांसद पण्डितले प्रश्न गरेका छन्, ‘यही सदनबाट महाअभियोग प्रस्तावमाथि छलफल गर्न समिति बनेको छ । उक्त महाअभियोग समितिले कहिले काम पाउने हो ?’

महाअभियोग सिफारिस समितिमा एमालेका चार, कांग्रेस र माओवादी केन्द्रका दुई–दुई, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एक जना सांसद छन्।

समिति सभापतिमा एमालेका विष्णु पौडेल छन् । सदस्यहरुमा एमालेबाट शिवमाया ताम्बाहाङ्फे, कृष्णभक्त पोखरेल र लालबाबु पण्डित छन् । कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रकी यशोदा सुवेदी गुरुङ र रेखा शर्मा, एकीकृत समाजवादीकी कल्याणी खड्का, जसपाका प्रमोद साह र लोसपाका एकवाल मिया सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?