+
+

काठमाडौंमा फैलिनसक्छ हैजा

अस्पतालको आईसीयू कक्ष बाहिर जनस्वास्थ्य कार्यालय, काठमाडौंका कर्मचारीले एक युवकलाई सोधखोज गर्दै थिए, जो २ जेठमा हैजा रोग पुष्टि भएर भर्ना भएका बिरामीका आफन्त हुन् । बागबजारका दुई दिदी बहिनीमा हैजा पुष्टि भएसँगै जिल्ला जनस्वास्थ्य कार्यालय संक्रमणको स्रोत पहिचानमा जुटेको छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ असार ६ गते २०:०१

६ असार, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको आकस्मिक कक्षमा झाडापखालाका बिरामी बढ्दो छ ।

आइतबार मात्र झाडापखालाका १० जना बिरामी भर्ना भएका थिए भने सोमबार पनि ७–८ जना नयाँ बिरामी आएका छन् । बिहीबार एकै दिन २२ जना झाडापखालाका बिरामी अस्पताल पुगेका थिए । दैनिक ८–९ जना झाडापखालाका बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए ।

झाडापाखालाका बिरामीको बढ्दो संख्याले काठमाडौंमा संक्रमण फैलिएको त छैन भन्ने प्रश्न उब्जाएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । किनकी अस्पतालमा भर्ना भएका दुई दिदी बहिनीमा २ जेठमा हैजा रोगको पुष्टि भएको थियो ।

अहिले अस्पतालको आईसीयूमा उपचारत थप तीन जनामा पनि हैजाको आशंका गरिएको छ । उनीहरुमध्ये एक जना कालिमाटी फलफुल तथा तरकारी काम गर्ने महिला हुन् भने अरु दुई पुरुष सानेपा र सिन्धुपाल्चोककामा मजदुरी गर्नेहरु छन् ।

चिकित्सकका अनुसार अस्पतालको आकस्मिक कक्षमा भर्ना गर्दा उनीहरुको रक्तचाप एकदमै न्युन थियो । उनीहरुको आरडीटी पोजेटिभ देखिएको छ, तर कल्चरको रिपोर्ट आइसकेको छैन । ‘कल्चर रिपोर्ट नहेरेसम्म यकिनका साथ भन्न सकिँदैन । तर उनीहरुको लक्षण हेर्दा संक्रमण हुनसक्ने देखिन्छ’, उपचारमा संलग्न एक चिकित्सक भन्छन्, ‘एकैदिनको झाडापखालाले आईसीयूमै भर्ना गर्नुपरेको छ । त्यसले पनि हामीले हैजाको आशंकामा राखेका छौं ।’

संक्रमणको स्रोत पत्ता लगाउँदै सरकार

अस्पतालको आईसीयू कक्ष बाहिर जनस्वास्थ्य कार्यालय, काठमाडौंका कर्मचारीले एक युवकलाई सोधखोज गर्दै थिए, जो २ जेठमा हैजा रोग पुष्टि भएर भर्ना भएका बिरामीका आफन्त हुन् । बागबजारका दुई दिदी बहिनीमा हैजा पुष्टि भएसँगै जिल्ला जनस्वास्थ्य कार्यालय संक्रमणको स्रोत पहिचानमा जुटेको छ ।

बागबजारका १८ र २३ वर्षीया महिला दुई जना दाजुसँगै बस्दै आएका थिए । बिरामीका दाइका अनुसार बिरामी दिदी बहिनी कमलपोखरीमा फर्निचर पसलमा काम गर्छन् । उनीहरू दुवै जनाले गत बुधबार चटपटे खाएका थिए । त्यसपछि उनीहरूमा झाडापखाला सुरु भएको थियो ।

‘बुधबार दिउँसो काम गर्ने ठाउँमा आफैंले चटपटे बनाएर खानुभएको रहेछ । रुममा आएपछि झाडावान्ता भएको थियो’, बिरामीका दाइले भने, ‘कोठामा धारा तथा जारको पानी दुवै खान्छौं । त्यसबाट पो संक्रमण भयो कि !’

हैजा संक्रमणको स्रोत पत्ता लगाउन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडिसिडी), जनस्वास्थ्य कार्यालय र काठमाडौं महानगरपालिको टोली बागबजार क्षेत्रमा खटिएको छ ।

ईडिसिडीका निर्देशक डा. चुमनलाल दासका अनुसार यो टोलीले बागबजार क्षेत्रको ढल, पानी, खाद्यान्न लगायतको नमुना संकलन गर्ने छ । ‘त्यहाँका मानिसमा लक्षण देखिए नदेखिएको अनुगमन गर्छौं,’ दासले भने, ‘सबैभन्दा बढी जनचेतनाका पाटोलाई हामीले जोड दिछौं । अब पानी तथा खाद्य पदार्थ गुणस्तरमा सर्भिलेन्स गर्छौं ।’

‘काठमाडौंमा आउटब्रेक हुनसक्छ’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भने काठमाडौं हैजा देखिसकेकाले आउटब्रेक हुने जोखिम देख्छन् । ‘काठमाडौंमा हैजाको प्रवेश भइसक्यो । यो विस्तारै फैलँदैछ । किनकी त्यहीँको पानी वा खाद्यान्न अरूले पनि खाएका होलान्,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. पुन भन्छन्, ‘अन्य संक्रमणका कारणले पनि झाडापखालाभन्दा हैजाका कारण बढी बिरामी अस्पताल पुग्छन् ।’

भाइब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ । संक्रमण भएको एक घन्टादेखि पाँच दिनसम्म लक्षणहरु देखिन्छन् ।

तारन्तार सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाका माध्यमबाट जाने, अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका माशंपेशी बाउँडिने, वान्ता हुने, थकाइ महसुस हुने हैजाका लक्षण हुन् ।

झाडापखाला गराउने संक्रमणहरुमध्ये हैजाले छोटो समयमा नै जटिलता ल्याउनसक्ने पुन बताउँछन् । डा. पुनका अनुसार दश संक्रमितमध्ये एक जनामा हैजाले जटिल अवस्था निम्त्याउने हुन्छ ।

‘यदि समयमै सावधानी अपनाइएन भने हैजा आउटब्रेक हुने सम्भावना छ । हैजाले कडा रुप लियो र समयमै उपचार दिन नसके मृत्युदर पचास प्रतिशतसम्म पुग्न सक्छ’, डा. पुनले अनलाइखबरसँग भने ।

चिकित्सकहरुका अनुसार लक्षणविहीन संक्रमितले संक्रमण सार्न बढी मद्दत गर्छ । ‘बिरामी शौचालय गएपछि राम्रोसँग हात नधोएर अन्य व्यक्तिलाई खानेकुरा तथा पानी दिए संक्रमण सार्नसक्छ’, संक्रामक रोग विशेषज्ञ डा. पुन भन्छन्, ‘पहिला–पहिला फोहोर पानीले हैजा फैलिन्थ्यो, अहिले सफा पानीबाट फैलिनसक्छ । किनेर ल्याएको खानेपानीमा सुरक्षित नहुनसक्छ ।’

अहिले वर्षातको समय भएकाले महामारीको रुप लिनुपूर्व नै रोकथाम गर्न समयमै सर्तकता अपनाउनुपर्ने डा. पुनको बताउँछन् । कसैलाई तारन्तार झाडापखाला भए जीवनजल पिउनुपर्ने र अस्पताल जानुपर्ने डा. पुन सुझाव दिन्छन् ।

सरसफाइमा ध्यान दिने, दिशा गरेपछि हातखुट्टा साबुन पानीले राम्ररी धुने, पानी उमालेर पिउने तथा काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खाने बानी बसालेमा हैजाबाट बच्न सकिने उनी बताउँछन् ।

गत वर्ष कपिलवस्तुमा हैजाका कारण सयौं मानिस प्रभावित भएका थिए भने १० जनाको मृत्यु भएको थियो । मृत्यु भएका अधिकांशले समयमा उपचार पाएका थिएनन् । अहिले कपिलवस्तुको हैजा प्रभावित क्षेत्रमा सरकारले हैजाविरुद्ध खोप दिइरहेको छ ।

काठमाडौं क्षेत्रमा भने हैजाविरुद्ध खोपको उपलब्धता सहज नभएको डा. दास बताउँछन् । ‘अन्तर्राष्ट्रिय सहयोगबाट प्राप्त खोप हाल कपिलवस्तुका मानिसहरूलाई उपलब्ध गराएको छ । अहिले नै काठमाडौंमा उपलब्ध गराउन सहज छैन,’ दासले भने ।

सरकार हैजाको रोकथाम तथा नियन्त्रणमा काम लागेपनि आम नागरिकले सरसफाइमा ध्यान दिनुपर्ने डा. दासको सुझाव छ । उमालेर पानी पिउनु र सरसफाइमा ध्यान दिनु नै अहिले प्रमुख विकल्पको रुपमा लिनुपर्ने उनी बताउँछन् ।

गएको तीन महिनामा मात्र ४२५ जना झाडापखालका बिरामीले शुक्रराज अस्पतालमा उपचार गराएका छन् । अस्पतालका अनुसार चैतमा ११६, वैशाखमा १६२ र जेठमा १४७ जनाले उपचार सेवा लिएका अस्पतालको तथ्यांक छ ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?