+
+

एन्फामा पंकज विजयको अर्थ

वार्षिक झण्डै एक अर्ब बराबरको बजेट प्रयोग गर्ने संस्थाको नेतृत्वमा रहँदा आगामी चार वर्षको कार्यकालका लागि नेम्वाङलाई कार्यसमितिमा सहज बहुमत छ । तर बजेट र सञ्जालको हिसाबमा नेपालकै प्रमुख खेलसंघ मध्येको एन्फामा स्वभाविक रुपमा धेरै स्वार्थ समूहको निशाना बन्ने गरेको छ ।

कुशल तिमिल्सिना कुशल तिमिल्सिना
२०७९ असार ७ गते १७:५०

७ असार, काठमाडौं । चार वर्षअघि एकै समूहका कर्माछिरिङ शेर्पा र पंकजबिक्रम नेम्वाङ अध्यक्ष र उपाध्यक्ष बनेर नेपाली फुटबलको बागडोर सम्हाल्न पुगेका थिए । एकवर्ष नबित्दै दुईबीच कार्यगत तादम्यता बिग्रियो र सोमबार शेर्पालाई हराएर नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष बनेका छन् ।

कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको हैसियतमा रहेर पछिल्लो समय प्रतिपक्षी जस्तो भूमिका निभाएका नेम्वाङ अब जवाफ दिने स्थानमा पुगेका छन् ।

अघिल्लो कार्यकाल निर्वाचित भएलगत्तैदेखि अध्यक्षसँग मतभेद सुरु भएसँगै नेम्वाङले चुनावी गृहकार्य सुरु गरिसकेका थिए । कार्यसमिति भित्रबाट दावा लामा, वीरबहादुर खड्का, किरण राईलगायतको साथ पाएका उनले चुनावको मुखमा ‘चेन्ज एन्फा’ को नारा अझै सार्थक भइनसकेको सन्देश सम्पूर्ण मतदातामा पुर्‍याउन सफल रहे ।

आर्थिक पारदर्शिता, सामुहिक निर्णय, विकेन्द्रीकरण, अधिकार बाँडफाँड, जवाफदेहीता, चुस्त सचिवालय, राष्ट्रिय टिमको स्तरोन्नत्ति, ग्रासरुट र युवा कार्यक्रम, महिला र पुरुष फुटबललाई बराबर प्राथमिकताको एजेण्डालाई बहुमत मतदाताले समर्थन गरेपछि नेम्वाङले कर्मालाई विस्थापित गर्न सकेका हुन् ।

वार्षिक झण्डै एक अर्ब बराबरको बजेट प्रयोग गर्ने संस्थाको नेतृत्वमा रहँदा आगामी चार वर्षको कार्यकालका लागि नेम्वाङलाई कार्यसमितिमा सहज बहुमत छ । तर बजेट र सञ्जालको हिसाबमा नेपालकै प्रमुख खेलसंघ मध्येको एन्फामा स्वभाविक रुपमा धेरै स्वार्थ समूहको निशाना बन्ने गरेको छ । वैदेशिक सम्बन्ध सन्तुलनमा राख्ने चुनौती पनि उनलाई उत्तिकै छ ।

अधिकांश नयाँ अनुहार

निर्वाचन प्रक्रियाबाट अध्यक्षसँगै वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र दुई महिलासहित १३ सदस्य चुनिएका छन् । १५ सदस्य चुन्नुपर्ने भएपनि चार जनाले समान मत ल्याएका कारण टुंगो लाग्न सकेन । अब चारमध्ये दुई जना निर्वाचित सदस्यको टुंगो आगामी साधारणसभाले लगाउने सहमति भएको छ ।

एन्फा इतिहासमै सम्भवतः पहिलोपल्ट नयाँ कार्यसमितिमा लगभग सबै जना आफ्नो पोष्टमा नयाँ छन् । उपाध्यक्ष चुनिएका वीरबहादुर खड्का अघिल्लो कार्यसमितिमा उपाध्यक्ष नै थिए भने दावा लामा र दीर्घबहादुर केसी कार्यसमितिमा सदस्य थिए । एक महिलासहित नवनिर्वाचित १२ केन्द्रीय सदस्य, उपाध्यक्ष दीपक खतिवडा भने अघिल्लो कार्यसमितिमा थिएनन् ।

आफ्नै समूहमा नेता व्यवस्थापन

चार वर्षअघि एकपक्षीय जित हासिल गर्दा कर्मा छिरिङलाई आफ्नै समूहको व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । जसरी पनि चुनाव जित्न लामो समय गणेश थापा समूहमा रहेकाहरुलाई समेत उनले टिममा ल्याएका थिए ।

चुनाव जितेपछि उनीहरुलाई पदीय जिम्मेवारी दिँदा लामो समय कर्मासँग रहेकाहरु रुष्ट बनेका थिए । आफ्नो समूहका नेताहरुको व्यवस्थापन गर्न गाह्रो भएका कारण कर्माछिरिङले वरिष्ठ उपाध्यक्ष मनोनित गर्न नै झण्डै एक वर्ष लगाएका थिए ।

यसपल्ट त्यो समूहमा विभाजन आयो । दुवैतिर आधा–आधा बाडिँदा यसपल्ट नेम्वाङलाई नेता व्यवस्थापनमा कर्मालाई जति कठिन हुने छैन, सजिलो पनि छैन ।

एन्फाको विधानअनुसार सदस्यमा निर्वाचित मध्येबाठ महासचिव र कोषाध्यक्ष मनोनयन गर्नुपर्छ । नेम्वाङको समूहमा महासचिवमा किरण राईको चर्चा छ, जो अघिल्लो पटक कार्यसमिति सदस्य एवं प्रवक्ता थिए ।

एन्फाको प्रवक्ताबाट राजीनामा दिएर नेम्वाङको चुनावी तयारीमा जुटेका उनी सम्भवतः महासचिवमा मनोनित हुनेछन् । कोषाध्यक्षमा रवीन्द्रमान जोशीलाई दोहो¥याउने नेम्वाङ समूहको तयारी छ । तर प्रत्यक्ष निर्वाचनमा नआएका, तर आफूहरुलाई सहयोग गर्ने कृष्ण थापा लगायतको व्यवस्थापन गर्नुपर्ने हुनसक्छ ।

साथै कर्मछिरिङ समूहमा गएका तर, प्राविधिक रुपमा सवल मानिएका पूर्वकप्तानहरु उपेन्द्रमान सिंह, हरि खड्का, बालगोपाल महर्जन, राकेश श्रेष्ठहरुको व्यवस्थापन पनि एन्फा अध्यक्ष पंकजबिक्रमका लागि सजिलो हुनेछैन ।

गणेश थापा समूहमा खुसियाली

२२ वर्ष एन्फाको नेतृत्वमा रहेका गणेश थापा आर्थिक अपचलन प्रकरणमा विश्व फुटबल महासंघ (फिफा) को १० वर्षे प्रतिबन्धमा परेको ७ वर्ष भएको छ । तर उनी फुटबलबाट धेरै टाढा छैनन् । एन्फाको चुनावअघि मात्र उनले अध्यक्ष कर्मा छिरिङमाथि एन्फामा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

यो चुनावमा पंकजविक्रमले थापा समूहको सहयोग लिएको आरोप पनि लाग्यो । किनकी एन्फाको निर्वाचनमा गणेश थापाको बहिर्गमनपछि पनि उनको साथ नछाडेका काठमाडौं जिल्लाका विराटजंग शाही, ललितपुरका पुरुषोत्तम थापा, धादिङका दीपक खतिवडा लगायतले पंकजको प्यानललाई समर्थन गरेका थिए ।

पंकजले भने सधैं खण्डन गर्दै आएका छन् । कुनै समय आफू र कर्माछिरिङ स्वयं गणेश थापाको कार्यसमितिमा रहेर काम गरेको तथा अघिल्लो पटक कर्माछिरिङले पदाधिकारी बनाएकाहरु पनि थापाकै टिममा रहेको उनको तर्क छ ।

तर सोमबार राति बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टको हलमा नेम्वाङले जितेपछि थापा समूहले मनाएको खुसीयालीले पंकजको दाबीलाई खण्डित गर्छ । एन्फा पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठ, शापाका कान्छा छोरा अभिषेक सोमबार विहानैदेखि महाधिवेशन स्थलमा थिए भने गौरव मतदान सकिन लाग्दा पार्क भिलेज पुगेका थिए पनि दिनभर चुनावी माहोलमा सक्रिय थिए ।

पंकज निर्वाचित भएपछि गौरव र अभिषेक, एन्फाका पूर्व लेखापाल मोतीलाल श्रेष्ठ, जावलाखेल युथ क्लबका पूर्वअध्यक्ष सुनीलशमशेर राणाले खुसियाली मनाए । अब एन्फामा थापा र उनको समूहको प्रभाव कस्तो रहन्छ भन्नेले चुनावमा पंकज र गणेश थापा समूहको सहकार्य कस्तो थियो भन्ने देखाउँछ ।

एन्फा एक्सलेन्स सेन्टर र राष्ट्रिय लिग

सोमबार एन्फा अध्यक्षमा निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिएका पंकजले अघिल्लो कार्यसमितिका कार्यक्रमले निरन्तरता पाउने संकेत गरेका छन् । उनले रौतहटमा महिला एकेडेमी स्थापना गर्ने परियोजनालाई निरन्तरता दिने बताएका छन् । राष्ट्रिय लिग सञ्चालन त उनको चुनावी एजेण्डामै छ ।

एन्फाले कास्कीको भेडाबारीमा २५६ रोपनी क्षेत्रफलमा सुविधासम्पन्न पूर्वाधार निर्माण गर्ने एक महत्वाकांक्षी घोषणा गरेको छ, जसको निर्माण प्रक्रिया अहिलेसम्म सुरु भएको छैन ।

योजनाअनुसार ३ वटा प्राकृतिक घाँसे मैदान, २ कृत्रिम घाँसे मैदान, २ फुटसल र २ बिच सकर मैदान निर्माण गर्नुपर्नेछ । १२० जना खेलाडी र अफिसियलको आवासीय सुविधासहितको भवन, पौडी पोखरी, जिम र रिह्याब सेन्टर समेत फिफासँग सहकार्य गरेर २०२६ सम्म बनाउने भनिएको छ, जुन जिम्मेवारी नयाँ कार्यसमितिलाई हुनेछ ।

एन्फाले राष्ट्रिय लिगको अवधारणा अगाडि ल्याएपनि अहिलेसम्म सञ्चालन गर्न सकेको छैन । कर्माछिरिङको पालामा राष्ट्रिय लिगका लागि छनोट समेत गरेर प्रतियोगिता आयोजना हुन नसक्नुलाई मूलतः बजेटकै कारण भनिएको छ । अब शहीद स्मारक ए डिभिजन लिग स्तरोन्नतिसँगै बाहिरका चार क्लबको सहभागितामा राष्ट्रिय लिग पुनः सञ्चालन गर्नुपर्ने दायित्व पंकजसामू छ ।

एक संस्करण आयोजना भएको र दोस्रो संस्करण पटक पटक स्थगित भइरहेको नेपाल सुपर लिगको निरन्तरताबारे नयाँ नेतृत्वको धारणा आइसकेको छैन । नेपाल सुपर लिगको आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट र ए डिभिजन क्लबहरुबीचको विवादमा नेम्वाङले क्लबको पक्ष लिएका थिए ।

जबकी आफ्ना खेलाडीलाई नेपाल सुपर लिग खेल्ने अनुमति दिन फ्रेन्चाइज क्लबले निश्चित रकम भुक्तानी गर्नुपर्ने माग व्यवहारिक नहुने फुटबल विज्ञहरुले बताउँदै आएका छन् । निर्वाचित भएपछिको पहिलो प्रतिक्रियामा नेम्वाङले क्लब र आयोजकबीच सहमतिको प्रयास गरिने बताएका छन् ।

प्रशिक्षक–खेलाडी विवाद र अल्मुताइरीको भविष्य

राष्ट्रिय टिमका सिनियर १० खेलाडीलाई वैशाख दोस्रो साता बन्द प्रशिक्षणबाट बाहिरिन बाध्य पारिएको घटना समाधान गर्न नसक्नु कर्माछिरिङको असफलता मानिएको छ ।

खासगरी प्रशिक्षकप्रति झुकाव राखेको आरोप छ । त्यही कारण होला, सोमबार कर्माछिरिङलाई हराएपछि नेम्वाङ समर्थकले ‘यो जित कसको, अन्यायमा परेका १० खेलाडीको’ भन्ने नारा नै लगाए ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीमाथि दुव्र्यवहार गरी क्याम्पबाट निस्कन बाध्य पारिएको घटनामा एन्फाको छानबिन समितिले अब्दुल्लाह अल्मुताइरीको विकल्प खोज्न सुझाव दिएको छ । तर यो कार्यान्वयन सहज छैन । किनकी प्रो लाइसेन्सधारी कुवेती प्रशिक्षक अल्मुताइरी कतार फुटबल संघको सहयोगमा नेपाल आएका हुन् र उनको सम्झौता सन् २०२४ सम्म छ ।

पंकजले भने कार्यसमितिको पहिलो बैठकमा प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्ने बताएका छन् ।

एसियन कप छनोटको तेस्रो चरणका खेलहरु सम्पन्न भएपछि अल्मुताइरी नेपाल फर्किएका छैनन् । नेम्वाङ विजयी भएपछि उनले फेसबुक र इन्स्टामा आफू नेपाल नफर्किने सन्देश छोडेका थिए । तर केही मिनेटमै उनले आफ्नो पोष्ट मेटे ।

२०७७ चैतमा नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका अल्मुताइरीले २०७८ साउनमा फेसबुकमार्फत वरिष्ठ उपाध्यक्ष नेम्वाङकै कारण आफूले राजीनामा दिन लागेको बताएका थिए ।

आफूमाथि लागेको आरोपको खण्डन गर्दै नेम्वाङले छानबिनको माग गरेपछि एन्फाको आग्रहमा युवा तथा खेलकुद मन्त्रालयले बनाएको छानबिन समितिले अल्मुताइरीलाई सचेत गराएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?