+
+

पोखरा महानगरको कार्यपालिका बैठक रिसोर्टमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते २०:०१
धनराज आचार्य ।

७ असार, पोखरा । नीति तथा कार्यक्रम ल्याउनुअघि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यपालिका बैठक रिसोर्टमा राखेका छन् । पोखरा महानगरको २०७९/०८० को नीति तथा कार्यक्रम बुधबार आउँदैछ ।

कार्यक्रमलाई अन्तिम रुप दिनुअघि मंगबार बेलुकी मेयर आचार्यले पोखरा–६ लेकसाइडस्थित टीका रिसोर्टमा कार्यपालिका बैठक आयोजना गरेका हुन् । पोखरा महानगरपालिकाको आफ्नै हल हुँदा हुँदै आचार्यले रिसोर्टमा डिनरसहितको कार्यपालिका बैठक राखेका छन् ।

‘महानगरको कार्यालय परिसरभित्रै सभा हल हुँदाहुँदै मेयर साबले रिसोर्टमा बैठक बोलाएपछि हामी पनि सहभागी भएका छौं । बैठकले नीति तथा कार्यक्रमबारे छलफल गरिरहेको छ,’ बैठकमा सहभागी एक वडाध्यक्षले भने, ‘कार्यक्रममाथि गहन छलफल गर्ने र बाहिरी मान्छेले डिस्टर्ब नगरुन् भनेर रिसोर्टमा बैठक राखिएको मेयर साबको भनाइ छ ।’

गठबन्धनको घोषणापत्रलाई आधार बनाएर स्वच्छ, सुशासनयुक्त र व्यवस्थित पोखरा महानगर बनाउने योजनासहित पहिलो नीति तथा कार्यक्रम ल्याउन लागेका मेयरले रिसोर्टमा बैठक राखेका हुन् ।

फूल रोप्ने, पुष्पलालको शालिकमा माल्यार्पण गर्ने, पोखरा झल्किने स्मारक बनाउने लगायतका पुरानै ढर्राका कामसहित कार्यकाल सुरु गरेका आचार्य केही दिनमा नै आलोचित बनेका छन् ।

कुनै पनि उद्घाटन, सेमिनार, स्वागत, सम्मानमा नबोलाउन आह्वान गरेका मेयर आचार्य आफ्ना अडानमा अडिग भने हुन सकेनन् । सहकारीको उद्घाटनमा जानेदेखि महानगरकै वरिष्ठ कानुन अधिकृत नारायण शर्माको जन्मदिनमा महानगरको लोगोसहितको केक काट्न पनि उनी पुगेका थिए ।

मेयर महानगरका कर्मचारीको जन्मदिनमा कुनै रिसोर्टमा गएर सरकारी लोगोअंकित केक काटेको भन्दै आलोचित हुन पुगे । त्यतिमात्रै होइन, वडाध्यक्षसहितको क्लोज क्याम्प अर्कै पालिकामा राखेर मेयर आफैं ‘कार्यक्रम पाइलट’ बनेर प्रमाणपत्र वितरण गरेपछि झनै विवादमा तानिएका थिए ।

अन्नपूर्ण गाउँपालिकाको हिमालयन देउराली रिसोर्टमा निर्वाचित जनप्रतिनिधि र विभिन्न महाशाखाका प्रमुख कर्मचारीका लागि नेतृत्व विकास तालिम सञ्चालन गरेका थिए । लायन्स क्लब अफ ३२५ बी वानका पूर्व गभर्नर आचार्यले ३ दिने तालिममा लायन्स क्लबलाई पनि सहभागी गराएका थिए । महानगरको स्रोत खर्चेर महानगरसँग असम्बन्धित व्यक्तिलाई आयोजकको दर्जा दिएपछि जनप्रतिनिधि र कर्मचारी नै असन्तुष्ट बनेका थिए । १० लाख रुपैयाँ खर्चेर अर्कै पालिकाको रिसोर्टमा कुनै गैरसरकारी संस्थाको कार्यक्रमको ढाँचामा क्लोज क्याम्प राखेपछि आचार्यमाथि प्रश्न उठेको थियो ।

अहिले फेरि नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिन भन्दै पालिकाको सभा हल हुँदाहुँदै रिसोर्टमा कार्यपालिका बैठक राखेको भन्दै मेयरको आलोचना हुन थालेको छ । गहन छलफल गर्न भन्दै रिसोर्टमा राखिएको कार्यक्रममा कार्यपालिका सदस्यलाई फोन उठाउन नदिइएको एक सदस्यले बताए ।

महानगरको नीति तथा कार्यक्रम पोखरा सभागृहमा मेयर आचार्यले प्रस्तुत गर्दै छन् । ‘मेयर साबको मात्र होइन, सबैको सहमतिमा टीका रिसोर्टमा बैठक राखिएको हो,’ एक वडाध्यक्षले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?