+
+
बुटवल उपमहानगरको नीति तथा कार्यक्रम  :

तिनाउ नदीमा स्टिमर र आरती केन्द्र, सेमलार–मोतिपुर ग्रीन सिटी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १५:५७

८ असार, बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख खेलराज पाण्डेयले नगर सभाको एघारौं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्कको अवधारणालाई सुनिश्चित गर्ने विषय प्राथमिकतामा छ ।

तिनाउलाई तटबन्ध गरी ड्याम निर्माण गरेर हिउँदमा पानी संकलन गरेर स्टिमर चलाउने, साँझमा आरती गर्ने गरी तिनाउ आरती केन्द्रका रुपमा विकास गर्ने नीति तथा कार्यक्रम उल्लेख छ । यस्तै बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोला र बेलबास–बेथरी सडक यथाशीघ्र निर्माण र मर्मत गर्न पहल गर्ने, बुटवल वडा नंं. १४ देखि १९ (मोतिपुर सेमलार क्षेत्र) सम्मलाई कृषि, पशुपालन, आधुनिक बसोबासको क्षेत्रका रुपमा विकास गर्दै ग्रीनसिटीमा रुपान्तरण गर्ने उल्लेख छ ।

यस्तै पुरानो बुटवललाई पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय शहरको क्षेत्रका रुपमा विकास गर्ने, बुटवल मण्डपलाई गिरिजाप्रसाद कोइराला बुटवल मण्डप नामाकरण गरिने र मेयर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

बुटवल १५ मा २ अर्ब लागतको अत्याधुनिक थोक कृषि बजार, बुटवल ७ मा प्रादेशिक बसपार्क निर्माण, बुटवल–१६ कर्साघाटमा शवदाह स्थल, बुटवल १ देखि नुवाकोटसम्म पैदलमार्ग निर्माण, नगरमा भएका स्वास्थ्य संस्थाको स्तरोन्नति,सबै वडामा स्वास्थ्य संस्था स्थापना र १५ बेडको सुविधा सम्पन्न नगर अस्पताल सञ्चालन गर्न प्रकृया अघि बढाइने उल्लेख छ ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले चुनावी संकल्पमा अघि सारेको ‘समानता, स्वाभिमान र अवसर : बस्नयोग्य बुटवल शहर’ मूल नारालाई कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्वस्थ शिशुदेखि ज्येष्ठ नागरिकसम्म नगर प्रमुख कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्यका विशेष कार्यक्रम ल्याइने उल्लेख छ ।

जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण र औषधि उपचार गर्न ‘जनतासँग नगर प्रमुख कार्यक्रम’लाई प्रभावकारी रुपमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रम, क्षयरोग मुक्त बुटवल अभियान, स्वस्थ जीवनशैलीका लागि योग कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

नगर क्षेत्रभित्र सार्वजनिक निजी साझेदारीमा अत्याधुनिक डाइनोस्टिक ल्याब सञ्चालन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पताललाई बुटवलमा डिप्लोमा तहको प्यारामेडिकल लगायतका विषय अध्यापन गराउन प्रकृया अघि बढाइ यसलाई यस क्षेत्रकै प्रमुख अस्पतालका रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विद्यालयलाई हिलो र धुलोमुक्त बनाइने

नीति तथा कार्यक्रममा नगरभित्रका सामुदायिक विद्यालयलाई हिलो र धुलोमुक्त बनाउन ग्राउण्ड इन्टरलक तथा दुबो लगाएर हरियालीयुक्त बनाइने उल्लेख छ ।

लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्व विद्यालयका रुपमा विकास गर्न बुटवलको चारपाला सामुदायिक वन क्षेत्रको पूर्वाधार विकासमा सहकार्य गर्ने, संस्थागत र सामुदायिक विद्यालयको वर्गीकरण गर्ने,सबै माध्यमिक विद्यालयमा विज्ञान, कम्प्युटर प्रयोगशाला व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

संस्थागत विद्यालयले लिने शुल्कलाई निश्चित मापदण्डका आधारमा निर्धारण गरी न्यायोचित बनाइने,बुटवलको उपयुक्त स्थानमा ई लाइब्रेरी स्थापना गर्ने उल्लेख छ ।

कृषि बुटवलको जीवनयापनको आधार

नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई बुटवलको जीवनयापनको महत्वपूर्ण आधारका रुपमा ग्रहण गरी नवीनतम सीप तथा प्रविधिको प्रयोगमार्फत आधुनिकीकरण तथा व्यवासयिकरण गरिने उल्लेख छ ।

कृषि विकासकमा के पाइन्छ होइन, के चाहिन्छ नीति अवलम्बन गरिने उल्लेख छ ।

यस्तै कृषि बाली उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन, जग्गा बाँझो राख्न निरुत्साहन, बुटवल १२–१९ मा हरियाली कृषि प्रबद्र्धन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख छ ।

एक वडा एक बाली

कृषिमा संभाव्यताको आधारमा एक वडा एक बाली उत्पादन कार्यक्रम गरिने उल्लेख छ ।

वन तथा वातावरणतर्फ एक वन एक वहु पोखरी अभियान अघि बढाउने,ज्योतिनगर पहिरोको अलपकालीन र दीर्घकालीन व्यवस्थापनमा पहल गर्ने,पेट्रोल पम्पहरुमा सार्वजनिक शौचालय अनिवार्य, सामुदायिक वनहरुमा गरीबसँग वन कार्यक्रम सञ्चालन, एक घर दुई विरुवा तथा एक वडा एक हरियाली पार्क कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ ।

रोजगार प्रबर्द्धनतर्फ श्रम बैंक स्थापना, महिला आयआर्जन कार्यक्रम सञ्चालन, कोसेली घर सञ्चालन लगायतका योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

पूर्व नगर प्रमुख स्वर्गीय सूर्यप्रसाद प्रधानको स्मृतिमा विकास पत्रकारिता पुरस्कार स्थापना, पत्रकार स्वास्थ्य बीमा, सञ्चार उपकरण खरिदमा अनुदान, पत्रकारिता अनुसन्धान केन्द्र स्थापना पहल, वन तथा वातावरण प्रबद्र्धन पत्रकारिता पुरस्कार स्थापना, जेष्ठ पत्रकार सम्मान, आर्थिक पत्रकारिता पुरस्कार स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?