+
+

स्थानीय चुनावमा धोका भयो, तर पाँचदलीय गठबन्धन कायम राख्नुपर्छ : राष्ट्रिय जनमोर्चा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १७:४१

९ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका अरु दलले धोका दिएको निश्कर्ष निकालेको छ । तर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निर्णय गरेको छ ।

असार ८ गते काठमाडौं बसेको पार्टीको केन्द्रीय समितिको बैठकम स्थानीय तह निर्वाचन र सत्तारुढ गठबन्धनको समीक्षा भएको थियो । अध्यक्ष चित्रबहादुर केसीका अनुसार पाँच दलीय गठबन्धनले नेकपा एमालेसँग तालमेल नगर्ने नीति अपनाए पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले उल्लंघन गरे । एमालेसँग खुला वा छद्म प्रकारले गठबन्धन गरेर सत्तारुढ गठबन्धनभित्रै अन्तर्घात गरिएको पनि अध्यक्ष केसीले बताए ।

त्यस क्रममा केही स्थानीय तहमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारमाथि पनि गठबन्धनका अरु दलले अन्तर्घात गरेको केसीले उल्लेख गरेका छन् । ‘प्यूठानको झिमरुक, गुल्मीको कालीगण्डकी, अर्घाखाँचीको भूमिकास्थानका केही वडाहरु, बागलुङका कतिपय वडाहरु, काठमाडौँको चन्द्रागिरी नगरपालिकामा राष्ट्रिय जनमोर्चाका विरुद्ध कतै कांग्रेस  एमालेसँग मिलेर, कतै माओवादी एमालेसँग मिलेर, कतै माओवादीले कांग्रेससँग साँठगाँठ गरेर जनमोर्चाका विरुद्ध अन्तर्घात गरी जनमोर्चालाई हराउने काम गरेको छ’ अध्यक्ष केसीले भने ।

राष्ट्रिय जनमोर्चाको बैठकले अन्तर्घातपूर्ण क्रियाकलापको भर्त्सना गर्दै भविष्यमा त्यसप्रकारका काम कारबाही नगर्न सरोकारवाला पक्षको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

त्यस्तै राजमोले अहिले पनि मुलुकमा प्रतिगमनको समस्या गम्भीर रुपमा देखा परिरहेको हुनाले भन्दै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत पाँच दलीय गठबन्धन गर्नुपर्नेमा जोड दिएको छ । ‘एमालेसहितको बाम गठबन्धनको बैठकको विरोध गर्दै अहिले कायम पाँच दलीय गठबन्धनलाई कायम राख्न र त्यसमा कुनै पनि प्रकारको विभाजन ल्याउन नहुने कुरामा गम्भीर हुन सबैलाई आह्वान गरेको छ’ बैठकपछि बिहीबार अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राजमोले महंगी, भ्रष्टाचार, कालोबजारी, मल, बीऊ तथा पाठ्यपुस्तकको हाहाकार, महिलामाथि सिलसिलेवार रुपमा भइरहेको हत्या, यौन हिंसाका घटनामा सरकार जिम्मेवार नभएको भन्दै असार १५ देखि २० सम्म देशब्यापी विरोध कार्यक्रमको घोषणा गरेको छ ।

बैठकले संगठन, आर्थिक, प्रकाशन, सञ्चार तथा प्रचार–प्रसार विभाग, विकास निर्माण तथा स्थानीय तह परिचालन विभाग तथा सम्पर्क समिति समन्वय विभागको गठन गरेको छ । राष्ट्रिय जनमोर्चाले मनोज भट्ट इन्चार्ज रहने गरी सात सदस्यीय संगठन विभागको गठन गरेको छ । जसका सदस्यहरुमा जनकराज शर्मा, नन्दराज भट्ट, सोमकुमार कार्की, रामकुमार क्षेत्री, गणेश आचार्य र नारायण जिसी रहेका छन् ।

त्यस्तै हिमलाल पुरी इन्चार्ज रहने गरी सात सदस्यीय आर्थिक विभागको गठन गरिएको छ । यस विभागमा मधु क्षेत्री, बद्रे आलम, कृष्ण अधिकारी, घनश्याम न्यौपाने, राजेन्द्र ढुंगाना सदस्य रहेका छन् । रिक्त रहेको एक सदस्य पछि पूर्ति गरिने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

राजमोले घनश्याम न्यौपाने इन्चार्ज रहने गरी सात सदस्यीय प्रकाशन, सञ्चार तथा प्रचार–प्रसार विभाग गठन गरेको छ । जसमा हिमलाल पुरी, पियारी थापा, देवेन्द्र कुँवर, विशाल दर्लामी, विमल पोखरेल सदस्य छन् । यो विभागमा पनि एक सदस्य पछि थप हुनेछ ।

त्यस्तै दुर्गा पौडेल इन्चार्ज रहने गरी विकास निर्माण तथा स्थानीय तह परिचालन विभाग गठन गरिएको छ । विभागका सदस्यहरुमा कृष्णबहादुर खड्का, झविलाल थापा,  नन्दराज भट्ट, अमर थापा, नरबहादुर पुन र पियारी थापा रहेका छन् ।

राजमोले दुर्गा पौडेल नै इन्चार्ज रहने गरी सात सदस्यीय सम्पर्क समिति समन्वय विभागको गठन गरेको छ । सदस्यहरुमा घनश्याम न्यौपाने, समिर सिंह, झविन्द्र बेलबासे, गणेश अधिकारी, भीष्म जोशी र रितु केसी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?