+
+

प्रशासनिक भवन बनाउन भरतपुर महानगरले पायो जग्गा

सुवास पण्डित सुवास पण्डित
२०७९ असार ९ गते १९:०७

९ असार, चितवन । चितवनको भरतपुर महानगरपालिकालाई प्रशासनिक भवन बनाउन नेपाल नेत्रज्योति संघ, चिवतनले एक विघा १५ धुर जग्गा दिएको छ ।

महागनरपालिकासँगै रहेको संघको जग्गा महानगरको नाममा लैजाने गरी बिहीबार मेयर रेनु दाहाल र नेपाल नेत्रज्योति संघ चितवनका अध्यक्ष कृष्णराज धरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

भरतपुर महानगरपालिका–१० स्थित भरतपुर हाइटमा नेपाल नेत्रज्योति संघ, चितवनले भोगचलन गर्दै आइरहेको एक बिघा ७ कठ्ठा १५ धुरमध्ये भरतपुर महानगरपालिकालाई एक बिघा १५ धुर जग्गा दिने सम्झौता पत्रमा उल्लेख छ ।

सोही ठाउँमा सञ्चालित भरतपुर आँखा अस्पतालको बहिरंग सेवा विभागको भवन भने यथावत रहनेछ । त्यसका लागि ७ कठ्ठा जमिन संघले आफैसँग राखेको हो ।

सम्झौता पत्रमा भरतपुर आँखा अस्पतालको सेवा सञ्चालन गर्न आवश्यक पर्ने अस्पताल भवन निर्माणका लागि भरतपुर महानगरपालिकाले आवश्यक स्रोत व्यवस्थापन गरिदिने उल्लेख छ । साथै महानगरपालिकाले उक्त भवनको नक्सा पास गर्दा लाग्ने दस्तुर मिनाहा गर्ने पनि सहमति भएको छ ।

सम्झौतापछि सो जग्गा भरतपुर महानगरपालिकाको नाममा लालपूर्जा बनाउने प्रक्रिया अघि बढ्ने महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए ।
महानगरपालिकाले प्राप्त गरेको जग्गामा आइसल्याण्ड जंगल रिसोर्ट सञ्चालनमा रहेको थियो । सो रिसोर्टको सम्झौता सकिएपछि अहिले खाली अवस्थामा रहेको छ ।

सो जग्गा भौतिक संरचनासहित युएसएडले २०४६ पुस २६ गते नेपाल नेत्रज्योति संघलाई हस्तान्तरण गरेको थियो ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरपालिकाले बजारको मुटुमा १ विघा १५ धुर जग्गा पाउनु अहिलेसम्मकै ठूलो सफलता भएको बताइन् । ‘मुख्य राजमार्गमै एक विघाभन्दा बढी जग्गा प्राप्त गर्नु ठूलो सफलता हो, यसले महानगरको प्रशासनिक क्षेत्र फराकिलो र आकर्षक हुने भयो’, मेयर दाहालले भनिन् ।

यस्तो बन्ने छ भरतपुरको प्रशासनिक भवन

महानगरपालिकाको अहिले रहेको भवनको पूर्वतर्फ नयाँ प्रशासनिक भवन बन्नेछ । हाल महानगरपालिका मातहतमा रहेको जग्गामात्र प्रशासनिक भवनका लागि साँघुरो हुने भएपछि नेपाल नेत्रज्योति संघले भोग चलन गर्दै आएको जग्गा लिन महानगरपालिकाले जोड गर्दै आएको थियो ।

सात कठ्ठामा निर्माण हुने ६ तले नयाँ प्रशासनिक भवनको कुल लागत ९४ करोड ३२ लाख ३० हजार रुपैयाँ रहेको छ । आगामी साढे दुई वर्षमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भवनका लागि अर्थ मन्त्रालयबाट पनि ३५ करोड रुपैयाँको स्रोत सुनिश्चित भइसकेको छ । अपुग रकम महानगरले व्यहोर्ने छ ।

महानगरले प्रशासनिक भवन बनाउन बोलपत्र आह्वान गरिसकेको छ । ठेकेदारसँग सम्झौता भएको मितिले ३० महिनाभित्र बनाइसक्ने भवन ६ तले हुनेछ । जम्मा क्षेत्रफल १४ हजार १५२ वर्गमिटर बन्ने भवनमा ५० गाडी र २५० वटा मोटरसाइकल अट्न सक्ने अन्डर ग्राउण्ड पाकिङ हुनेछ ।

भवनमा दुईवटा लिफ्ट, साँस्कृतिक हल, पुस्तकालय रहनेछ । त्यस्तै प्रत्येक तलामा जेष्ठ नागरिक विश्राम कक्ष रहनेछ ।

भवनमा १५८ वटा साना ठूला कार्य कक्ष रहने छन् भने २२१ वटा कोठाहरु रहने छन् । भवन शिलान्यास गत चैत ११ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?