+
+

डीआईजी बढुवामा कुँवरको छलाङ

नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको सिफारिसमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले छलाङ मारेका छन् । प्रहरी उपरीक्षक (एसपी) बाट एसएसपीमा बढुवा हुँदा आफ्नो ब्याचको १३ औं नम्बरमा रहेका उनी एसएसपीबाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस हुँदा एक नम्बरमा उक्लिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते २०:५९
वसन्तबहादुर कुँवर । फाइल फोटो ।

९ असार, काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको सिफारिसमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले छलाङ मारेका छन् ।

प्रहरी उपरीक्षक (एसपी) बाट एसएसपीमा बढुवा हुँदा आफ्नो ब्याचको १३ औं नम्बरमा रहेका उनी एसएसपीबाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस हुँदा एक नम्बरमा उक्लिएका हुन् ।

प्रहरी उपरीक्षक (एसपी) बढुवा हुँदा पाँचौं र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा हुँदा छैठौं नम्बरमा रहेका कुँवर प्रहरी निरीक्षकका रुपमा नियुक्ति लिँदा चाहिँ १ नम्बरमै थिए । उनी गण्डकीका पूर्वप्रदेश प्रमुख बाबुराम कुँवरका भाइ हुन् । हाल कुँवर उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् ।

नेपाल प्रहरीमा पछिल्लो समय सत्तासँग हुने पहुँचका आधारमा अधिकृतहरुको वरियता हेरफेर हुँदै आएको छ । अहिले बढुवाको एक नम्बरमा पुगेका कुँवर पनि नेपाली कांग्रेस नेतृत्वको सरकारका पालामा महान्यायाधिवक्तासमेत भएका बाबुराम कुँवरसँगको सम्बन्धका कारण बढुवामा छलाङ मार्न सफल भएको उनका ब्याचका अधिकृतहरू दाबी गर्छन् ।

उनी वरियतामा आफूभन्दा अघिका १२ जनालाई उछिनेर अगाडि आउँदा ६ फागुन २०७५ मा एसएसपी बढुवामा हुँदा नं. १ मा रहेका सन्दीप भण्डारी चाहिँ ६ स्थान तल झरेका छन् । हुन त केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एसएसपीमा बढुवा भएका उनको त्यसबेला प्रधानमन्त्रीसँग निकट सम्बन्ध थियो ।

प्रहरी उच्च तहको बढुवाले भावी महानिरीक्षकको दौडमा पनि प्रभाव पार्ने भएकाले पनि सत्तारुढ दलले चलखेल गर्ने गरेका छन् । हालका आईजीपी धिरजप्रताप सिंहले २०७९ चैतमा अवकाश पाएपछि अहिले पहिलो वरियतामा बढुवा भएका कुँवरकै ब्याचबाट आईजीपी नियुक्त हुनेछन् । त्यसैले पनि अहिलेको बढुवामा शक्ति केन्द्रको विशेष चासो थियो ।

कार्य सम्पादनमा कमजोर मानिएकी किरण राणा पनि डीआईजी बढुवामा समेटिँदा प्रहरी महानिरीक्षककै सचिवालयमा कार्यरत एसएसपी विष्णुकुमार केसी चाहिँ बढुवामा छुटेका छन्

अहिले कांग्रेस नेतृत्वको सरकार भएका कारण वरियतामा अगाडि आउन सफल अधिकृत अशोक सिंह पनि हुन् । कुँवरहरु एसएसपीमा बढुवा हुँदा छुटेका सिंह एक वर्षपछि दोस्रो लटमा १७ वैशाख २०७७ मा बढुवा भएका थिए । एसएसपी हुँदाको वरियता अनुसार उनी २० औं नम्बरमा थिए ।

तर अहिले बालुवाटारसँग राम्रो सम्बन्ध भएका उनलाई सरकारले तीन नम्बर वरियतामा राखेर बढुवा सिफारिस गरेको छ । काठमाडौं प्रहरी प्रमुख हुँदा उनलाई गृहमन्त्री बालकृष्ण खाँणले जिम्मेवारीबाट हटाएका थिए, तर बालुवाटारसँगको पहुँचका कारण उनले काज सरुवा रोकेका थिए ।

कार्य सम्पादनमा कमजोर मानिएकी किरण राणा पनि डीआईजी बढुवामा समेटिँदा प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षककै सचिवालयमा कार्यरत एसएसपी विष्णुकुमार केसी चाहिँ छुटेका छन् । कानूनी पृष्ठभूमिका केसी जिल्ला प्रहरी कार्यालय, झापामा कार्यरत रहँदा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुखको अवार्ड पाउने अधिकृत हुन् ।

डीआईजी बढुवा सिफारिसको दोस्रो नम्बरमा रहेका एसएसपी टेकप्रसाद राई चाहिँ एसएसपी हुँदा पनि सोही वरियतामा थिए । आतंकवाद र विध्वंशकारी गतिविधिमाथि निगरानी राख्ने विशेष ब्यूरोका क्याडर राई अन्तरदेशीय अपराध मामलमा पनि दख्खल राख्ने अधिकृत मानिन्छन् ।

चौथो नम्बरमा रहेका एसएसपी दीपक थापा सबैलाई मिलाएर लैजान सक्ने अधिकृतका रुपमा चिनिन्छन् । सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक हुँदा उनको ‘कोर टिम’का सदस्य रहेका थापा १९ भदौ २०५२ मा प्रहरी निरीक्षक रुपमा सेवा प्रवेश गरेका अधिकृत हुन् । कुँवर, राईहरु चाहिँ ५ चैत २०५१ मा प्रहरी सेवा प्रवेश गरेका अधिकृत हुन् ।

तर शीर्ष चार वरियतामा रहेका कारण भावी प्रहरी प्रमुखका लागि उनी पनि कुँवरहरुसँगै दाबेदार बनेका छन् । हालका महानिरीक्षक धिरजप्रताप सिंहपछि बन्ने आईजीपीका लागि पनि उनको स्वभाविक दाबेदारी रहने छ, यद्यपि उनले कुँवरको टोलीलाई उछिनेर आईजीपी बनेनन् भने पनि त्यसपछि पनि प्रहरी प्रमुख बन्न सक्छन् ।

हाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका विश्वराज पोखरेलले आगामी २० साउनमा अवकाश पाउँदैछन् । हुन त उनी महानिरीक्षक बढुवाविरुद्ध रिट लिएर अदालत धाइरहेका छन् ।

यदि पोखरेलको पक्षमा त्यसअघि फैसला नआए उनले अवकाश पाउनेछन् । त्यसपछि पनि उमेरहदका कारण पोखरेल जस्तै क्रमशः मुकुन्द आचार्य, रवीन्द्रबहादुर धानुक र अरुणकुमार विसीले अवकाश पाउनेछन् । उनीहरूको अवकाश पछि रिक्त हुने एआईजी पदमा पनि बाजी मार्नेले अधिकृत भावी महानिरीक्षकका लागि स्थान सुरक्षित बनाउनेछन् ।

तत्काललाई कुँवर, राई, सिंह, थापा भावी महानिरीक्षकका लागि प्रबल दाबेदार देखिएका छन् । तर सत्ताको निकटताका आधारमा जथाभावी वरियता हेरफेर र निर्णय हुने गरेकाले तत्काल भावी महानिरीक्षकको दौडबारे अनुमान गरिहाल्न नमिल्ने अधिकृतहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?