+
+

मन्त्री हेरफेरको निर्णयले एकीकृत समाजवादीमा गञ्जागोल

मन्त्रिपरिषद हेरफेर नहुँदा हाल मन्त्री पदमा रहेकाहरु मात्र मन्त्री बन्ने भनी नाम चर्चामा आएका नेतहरुको अवस्था पनि दोधारपूर्ण नै छ । बहालवाला मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकको निर्णय २० दिन पुग्दासम्म पनि कार्यान्वयन हुनसकेको छैन ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ असार ९ गते २१:४२
एकीकृत समाजवादी पार्टीबाट हाल वहालवाला मन्त्री (माथिल्लो लहरमा) र मन्त्रिपरिषदमा पठाउने निर्णय भएका नेताहरु (तल्लो लहरमा)

९ असार, काठमडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री बिहीबार साँझ अबेरसम्म शहरी नीतिबारे मन्त्रालयले आयोजना गरेको बैठकमा सहभागी भइन् ।

तर मन्त्रीकै रुपमा आफू कहिलेसम्म रहन्छु भन्ने उनी स्वयंले पनि अनुमान गर्न सकेकी छैनन् । स्वाभाविक हो, यसको असर उनको कामकाजमा परेको छ । काठमाडौंको फोहोर व्यवस्थापनदेखि, शहरी विकासका योजना बनाउनेसम्मका काम झाँक्रीले सम्हालिरहेको शहरी विकास मन्त्रालयकै कार्यक्षेत्र अन्तर्गत पर्छ ।

अहिले काठमाडौं उपत्यकाका केही ठाउँमा हैजाका बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भने उनको पार्टी नेकपा एकीकृत समाजवादीले २० दिन अघि नै फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

मन्त्रालयमै मन्त्री रहने र नरहने भन्ने कुराले मन्त्रालयको समग्र काममै असर पर्छ । यद्यपि मन्त्री खतिवडा नियमित काममा कुनै अप्ठ्यारो नपरेको बताउँछन् । ‘नियमित कामहरु भइरहेकै छ, खासै अप्ठ्यारो परेको जस्तो लाग्दैन’, मन्त्री खतिवडाले अनलाइनखबरसँग भने ।

नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नेतालाई पठाउने निर्णय गरिसकेको छ । तर मन्त्रिपरिषद हेरफेर नहुँदा हाल मन्त्री पदमा रहेकाहरु मात्र मन्त्री बन्ने भनी नाम चर्चामा आएका नेताहरुको अवस्था पनि दोधारपूर्ण नै छ ।

एकीकृत समाजवादीको मन्त्री हेरफेरको निर्णय कार्यान्वयन भएको भए नयाँ मन्त्रीहरुले काम सुरु गरिसकेका हुनेथिए ।

तर, बहालवाला मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने पार्टी सचिवालय बैठकको निर्णय २० दिन पुग्दासम्म पनि कार्यान्वयन हुनसकेको छैन ।

२२ जेठमा एकीकृत समाजवादीको सचिवालय बैठकले स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेमबहादुर आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउँदै नयाँ नाम सिफारिस गरेको थियो ।

मन्त्रीका लागि नयाँ नाममा भवानी खापुङ, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीको नाम सिफारिस गरेको थियो ।

निर्णय कार्यान्वयनमा गञ्जागोल

पार्टी कार्यालय आलोक नगरमा बिहीबार बसेको सचिवालय बैठकमा नेताहरुले मन्त्री हेरफेरको निर्णय कार्यान्वयनमा जोड दिएका छन् । यसका लागि अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग पहल गर्नुपर्ने सुझाव र दबाव धेरै नेताहरुको थियो । एकीकृत समाजवादीका कैयौं बैठकमा निर्णय कार्यान्वयन हुन नसकेको बारे जोडतोडले छलफल भएका छन् ।

सचिवालय बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब दिन होइन, घण्टामा मन्त्री हेरफेर हुने प्रतिक्रिया संवाददाताहरुलाई दिए । ‘पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने एक मात्र शर्त पार्टीको हो’ उनले भने, ‘व्यक्तिगत छलफल कसले कोसँग र कति गर्‍यो भन्ने एउटा कुरा हो । तर, अब एकदमै चाँडै, दिनहरुमा होइन, घण्टाहरुमा मन्त्रीहरुको हेरफेर गर्ने दिशातिर लागिरहेका छौं ।’

‘व्यक्तिगत छलफल कसले कोसँग र कति गर्‍यो’ भन्ने कुराको अर्थ नहुने खतिवडाको भनाइ फिर्ता बोलाइएका मन्त्रीहरुप्रति लक्षित हो । अध्यक्ष नेपालसँगको पछिल्लो भेटमा पनि फिर्ता बोलाइएका मन्त्रीहरुले फिर्ता हुन आनाकानी गरिरहेका छन् ।

बुधबार साँझ अध्यक्ष नेपाललाई भेट्न मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ र प्रेमबहादुर आले उनको निवास कोटेश्वर पुगेका थिए ।

त्यहाँ उनीहरुले चुनावको मुखमा आफूहरुलाई फिर्ता बोलाइएकोमा गुनासो गरेका थिए । पार्टीको निर्णय कार्यान्वयन हुने तर आफूहरुको पनि कुरा सुन्नुपर्ने भन्दै उनीहरुले केही शर्त अघि सारेको एकीकृत समाजवादी स्रोत बताउँछ ।

राष्ट्रियसभाबाट बजेट पारित भएपछि मात्रै मन्त्री हेरफेर गर्नुपर्ने, गैर सांसदलाई मन्त्री बनाउन नहुने र एक पटक जिम्मा पाएकालाई दोहोर्‍याउन नहुने लगायतका शर्त उनीहरुले अघि सारेका छन् ।

देउवाप्रति असन्तुष्टि

पार्टी निर्णय कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति पनि असन्तुष्टि बढेको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरुको निर्णय कार्यान्वयन नहुने हो भने आफूहरुले गठबन्धन छाड्ने चेतावनी पटक–पटक दिइसकेका छन् ।

बिहीबारको सचिवालय बैठकमा पनि निर्णय कार्यान्वयनमा पहल गर्न नेताहरुले अध्यक्ष नेपाललाई दबाव दिएका छन् । ‘हामीले प्रधानमन्त्रीलाई हामीले गरेको निर्णय तत्क्षण लागु गर्न भनिसकेपछि यो वा त्यो बहाना देखाएर अहिलेसम्म त्यो निर्णय नभएकोबारे आगामी बैठकमा गम्भीरतापूर्वक कुरा उठ्न सक्छ’ उपमहासचिव गंगालाल तुलाधरले भने, ‘त्यो कुराले गर्दा हाम्रा कार्यकर्तामा निराशा पनि आउन सक्छ । त्यसैले तत्कालै पार्टी अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गरेर छिटोभन्दा छिटो कार्यान्वयन गर्नका निम्ति आग्रह गर्नुपर्ने भन्ने कुरा बैठकमा उठेको छ ।’

यत्रो समयसम्म निर्णय कार्यान्वयन नहुँदा फिर्ता बोलाइएका र मन्त्रीका लागि सिफारिसमा परेकाहरुको मनमा के बितेको होला भन्दै नेताहरुले चिन्ता प्रकट गरेका थिए ।

तुलाधर भन्छन्, ‘किन सचिवालयले निर्णय र स्थायी कमिटीले अनुमोदन गरेको विषय अहिलेसम्म लागु हुँदैन ? यसले के सन्देश दिइरहेको छ ? हाम्रा मन्त्रीहरु जसलाई हामीले फिर्ता गरिरहेका छौं । हाम्रा मन्त्रीहरु जसलाई हामीले जानका लागि सिफारिस गरेका छौं । उहाँहरुको कस्तो प्रकारको मनोविज्ञान बनिरहेको होला ?’

एकातिर निर्णय कार्यान्वयन हुनुपर्ने र अर्कोतिर हुन नहुने भन्ने पार्टीभित्रैका नेताहरुको दबावका कारण अध्यक्ष नेपाल तनावमा परेका छन् । यसअघि फिर्ता बोलाइएका मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गुनासो गरेपछि बजेट पारित नहुन्जेलसम्मलाई मन्त्री पद थमौती भएको थियो ।

पार्टीको निर्णय विपरीत प्रधानमन्त्रीलाई दबाव र प्रभावमा पारेर मन्त्री बनिराख्न कोसिस गरेको भन्दै एकीकृत समाजवादीमा फिर्ता बोलाइएका मन्त्रीहरुप्रति आक्रोश समेत छ ।

शपथको पर्खाइमा

पार्टीबाट मन्त्रीको सिफारिसमा परेपछि एकीकृत समाजवादीका पाँच नेताहरुले शपथको पर्खाइमा कुरेको पनि २० दिन भइसक्यो । त्यसैले उनीहरुलाई शपथ आजै भइहाल्छ, भोलि नै भइहाल्छ भन्ने कुराले खासै छुँदैन ।

‘शपथ कहिले हुन्छ भन्ने जानकारी केही पनि आएको छैन, मन्त्रीमा सिफारिस भएका शेरबहादुर कुवँर भन्छन्, ‘आज, भोलि भन्दा भन्दा २० दिन भइसक्यो । पार्टीले कहिले मिलाउँछ र कहिले प्रधानमन्त्रीले बोलाउनुहुन्छ भन्ने प्रतीक्षामा छौं हामी ।’

निर्णय कार्यान्वयन नहुँदा जनता कार्यकर्ताले समेत प्रश्न सोध्न थालेको कुँवर बताउँछन् । ‘कार्यकर्ता जनताको बीचमा जाँदा शपथ कहिले हो, के हो भन्छन्’, उनले सुनाए ।

मन्त्रीका लागि सिफारिस भएका नेता जीवनराम श्रेष्ठले पनि आफू शपथकै पर्खाइमा रहेको बताए । ‘शपथ कहिले हुन्छ भन्नेबारे त्यस्तो सूचना केही छैन’ श्रेष्ठ भन्छन्,’ ‘हामी पर्खिदै छौं । यो हाम्रो व्यक्तिगत कुरा भन्दा पनि पार्टीगत कुरा हो, राजनीतिक कुरा हो । यो कुरा सबैले बुझेकै छन् ।’

निर्णय कार्यान्वयनमा विलम्ब भएकोमा प्रधानमन्त्री देउवाप्रति श्रेष्ठ असन्तुष्ट पनि छन् । उनी भन्छन्, ‘निर्णय कार्यान्वयन गर्नमा विलम्ब भएको छ । सरकारको नेतृत्वले कार्यान्वयन गर्नुपर्ने हो । यो सबै प्रधानमन्त्रीले अगाडि नबढाइकन हुँदैन । पार्टीको तर्फबाट सबै कुरा टुंगिएकै छ ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?