+
+
महिला क्रिकेट :

एसिया कप खेल्ने नेपालको सपना अधुरै

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असार १० गते १३:४३

१० असार, काठमाडौं । एसीसी महिला टी २० च्याम्पियनसिप खेल्न मलेसिया पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको लक्ष्य थियो प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा छनोट हुने ।

१० टोली सहभागि प्रतियोगितामा फाइनल पुग्ने दुई टिम टेष्ट राष्ट्रहरु सहभागी हुने एसिया कपमा छनोट हुने प्रावधान थियो । तर सेमिफाइनलबाट बाहिरिएपछि प्रतियोगिताको उपाधि जित्ने र एसिया कप खेल्ने नेपालको लक्ष्य पूरा हुन पाएन ।

यसअघि नेपालले २०१२ र २०१६ मा गरी दुई पटक टेष्ट राष्ट्रसहितको एसिया कप खेलिसकेको थियो । यस पटक भने टी २० च्याम्पियनसिप प्रतियोगिताबाट दुई टोली एसिया कपमा छनोट हुने व्यवस्था थियो ।

निर्णायक खेलमा वर्षा बाधक

निर्णायक खेलमा प्रदर्शन भन्दा पनि वर्षा बाधक बन्दा नेपाल एसिया कपमा छनोट हुन सकेन । युएई विरुद्धको सेमिफाइनल खेल पूरा हुन नपाएपछि नेपाल अभागी बन्यो भने युएई भाग्यमानी ।

युएई समूह एमा चारै खेल जित्दै समूह विजेताको हैसियतमा सेमिफाइनल पुगेको थियो । समूहमा तीन खेलमा जित र एक खेलमा हारको नतिजासहित समूहमा दोस्रो भएर नेपाल सेमिफाइनल पुगेको थियो ।

सेमिफाइनल पूरा नखेले पनि समूह विजेता बनेको आधारमा युएई फाइनल पुग्न सफल भयो । समूह उपविजेता नेपाल खाली हात घर फर्कने भयो ।

अस्मिनाको ५ विकेट

शुक्रबार मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलको टस जितेर फिल्डिङ रोजेको नेपालले उत्कृष्ट बलिङ गरेको थियो । अस्मिना कर्माचार्य एक्लैले ५ विकेट लिएपछि युएई १९.५ ओभरमा ८१ रनमा अलआउट भएको थियो ।

फिल्डिङमा केही गल्ती गरे पनि नेपालले युएईलाई अलआउट गर्दै फाइनल पुग्नका लागि आधार तयार गरेको थियो । युएई विरुद्ध अस्मिनाले करियरकै उत्कृष्ट बलिङ गर्ने क्रममा ३.५ ओभरमा जम्मा १० रन खर्चेर ५ विकेट लिएकी थिइन् । यस्तै इन्दु बर्माले ३ र सीता राना मगरले २ विकेट लिइन् ।

अस्मिना कर्माचार्यले ५ विकेट लिए पनि नेपालले ब्याटिङ गर्न नपाएपछि उनको प्रदर्शन ओझलमा पर्‍यो ।

युएईका लागि आठौं नम्बरमा ब्याटिङ गरेकी वैस्नभी महेशले सर्वाधिक १६ रन बनाउदा ओपनर इशा ओझाले १५, कप्तान छाया मुगलले १४ र खुशि शर्माले १२ रन जोडिन् ।

टी-२० अन्तर्राष्ट्रियममा अस्मिनाको यो व्यक्तिगत उत्कृष्ट बलिङ हो भने नेपालबाट समग्रमा तेस्रो उत्कृष्ट बलिङ हो ।

यसअघि अन्जली चन्दले १३ औं दक्षिण एसियाली खेलकुदमा माल्दिभ्स विरुद्ध २.१ ओभरमा  एक रन पनि नदिई ६ विकेट लिएकी थिइन् ।

यस्तै नेरी थापाले २०१९ मा टी-२० विश्वकप एसिया छनोटमा हङकङ विरुद्ध ४ ओभरमा ८ रन खर्चेर ६ विकेट लिएकी थिइन् ।

गत जेठमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको युगान्डा विरुद्धको शृंखलामार्फत नेपालको लागि डेब्यु गरेकी अस्मिनाले अहिलेसम्म ७ खेल खेल्दा १० विकेट लिएकी छन् ।

हङकङसँगको हार महँगो

समूह चरणमा तीन खेल जितेको नेपाल हङकङसँग पराजित भएको थियो । अहिले नेपाललाई त्यही हार महँगो बन्यो ।

हङकङ विरुद्ध जित निकालेको भए नेपाल समूहविजेता बन्ने थियो । जसले गर्दा नेपालले सेमिफाइनलमा अर्को प्रतिद्वन्दी पाउन सक्थ्यो । तर अब त्यो बितिसक्यो ।

समहू बीको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गरेको थियो । दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको नेपालले तेस्रो खेलमा बहराइनलाई सजिलै ८ विकेटले पराजित गरेको थियो । तर समूह अन्तिम खेलमा भने नेपाल हङकङसँग ७ विकेटले सहजै पराजित भयो । हङकङ चारै खेल जित्दै समूह विजेता बन्दा नेपाल समूह उपविजेता बन्यो ।

नेपालले सेमिफाइनलसहित च्याम्पियनसिपमा कूल ५ खेल खेल्यो । जसमा एक खेल मात्र गुमाएको नेपालले बफ्नो लक्ष्य पूरा गर्न सकेन । हङकङ विरुद्धको हार नै नेपालको लागि महँगो बन्यो ।

२०२१ नोभेम्बरमा युएईमा भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा पनि नेपाल हङकङ र युए२सँग पराजित हुँदा विश्वकप अगाडि बढ्न असफल भएको थियो ।

कुनै बेला नेपालले सजिलै हराउने हङकङ अहिले नेपालका लागि चुनौती बनेर खडा भएको छ । हङकङ र युएई नेपालको लागि पछिल्लो समय बलियो प्रतिद्वन्दी बनेर आएका छन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?