+
+

गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्नुपर्ने आवश्यकता छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १९:०२

१० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनलाई आगमी प्रदेश र प्रनिनिधिसभा चुनावसम्म राख्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा नेपालले संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक भएको उल्लेख गरेका छन् ।

‘वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनमा रहेका राजनीतिक दलहरूको वर्गाधार र वर्ग चरित्र फरक फरक भए तापनि संविधानको पूर्ण कार्यान्वयन, लोकतन्त्रको रक्षा र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा सहमत भएर गठबन्धनमा रही सहकार्य गरिरहेका छन्,’ नेपालले पेस गरेको प्रतिवेदनमा उल्लेख छ, ‘यस गठबन्धन र सहकार्यलाई कम्तिमा पनि केही महिनापछि हने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म कायम राख्नुपर्ने आवश्यकता छ ।’

संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरुबीच सहकार्य गनुपर्छ भन्ने आफूहरुको मान्यता भएको नेपालको भनाइ छ । ‘संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरूले संविधानको पूर्ण कार्यान्वयनमा पनि सहकार्य गर्नुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ,’ प्रतिवेदनमा भनिएको छ।

मुलुक यतिबेला राजनीतिक रूपले मूलतः दुई धारमा विभाजित भएको विश्लेषण गर्दै प्रतिवेदनमा नेपालले ओली दाक्षणपन्थी अवसरवादी धार प्रवृत्तिको मूल बाहक भएको आरोप लगाएका छन् ।

‘मुलुक यतिबेला राजनीतिक रूपले मूलतः दुई धारमा विभाजित छ,’ प्रतिवेदनमा भनिएको छ, ‘एउटा स्वेच्छाचारी, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति बोकेको दाक्षणपन्थी अवसरवादी धार र अर्को, पूर्ण कार्यान्वयन गर्दै त्यसले निर्देश गरे अनुरूप मुलुकलाई समाजवादको दिशामा अगाडि बढा चाहने वाम–लोकतान्त्रिक धार । अघिल्लो प्रवृत्तिको मूल बाहक केपी ओली हुन् भने वाम–लोकतान्त्रिक गठबन्धनका अगुवा पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरू हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?