+
+

दुनियाँकै महँगो आँप, सुरक्षाका लागि खटिन्छन् गार्ड र कुकुर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १२:४६

अहिले फलको राजा आँपको सिजन हो । अहिले सस्तै मूल्यमा छानी छानी राम्रो आँप किनेर खान पाइन्छ । मालदह, दशहरी, बम्बइ आदि विभिन्न थरीका आँप तपाईंले खानु भएकै छ । तर के तपाईंले संसारकै महँगो आँप खानुभएको छ ? यो आँप खाने मौका त पर जाओस् देख्ने मौका पनि सायद तपाईं हामीलाई परेको छैन होला ।

मियाजाकी जातको उक्त आँप यदि धेरै महँगो छ कि एक किलो आँप खरिद गर्न तपाईंसँग झण्डै साढे ४ लाख रुपैयाँ चाहिन्छ । त्यतिधेरै मूल्यवान भएकै कारण यो आँपको बोटको सुरक्षाका लागि मानिस सुरक्षाकर्मीसँगै कुकुर समेत खटाइएको हुन्छ ।

यो आँप मूल रुपमा जापानको मियाजाकीमा पाइन्छ । साथै दक्षिण पूर्वी एसियाका कतिपय क्षेत्रमा पनि यो आँप पाइने गरेको छ । यो आँप रुबी रङको छ । यो आँप निकै स्वादिलो हुन्छ । मानिसहरू यो आँपलाई सूर्यको अण्डा भन्ने गर्दछन् ।

छिमेकी मुलुक भारतको मध्यप्रदेशका एक व्यक्तिले आफ्नो बगैंचामा यो आँप रोपेर फलाएका छन् । जबलपुर बस्ने संकल्प परिहारले बगैंचामा फलेको त्यो महँगो आँपको सुरक्षाका लागि ४ जना सुरक्षाकर्मी र खतरनाक तालिम प्राप्त कुकुर खटाएका छन् । उनीहरूले २४ सै घण्टा आँपको सुरक्षा गरिरहेका हुन्छन् । भारतमा निकै दुर्लभ रहेको यो आँप गतवर्ष पनि उनको बगैंचामा फलेको थियो । तर फलेको आँप चोरी भएपछि उनले यो वर्ष आँपको बोटलाई कडा सुरक्षा दिएका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा यो आँपको मूल्य प्रतिकिलो करिब ४ लाख ३५ हजार रुपैयाँ छ । भारतमासमेत फलेको उक्त आँपको एउटा गेडालाई मानिसहरू २० हजार भारुसम्म दिन तयार भएका छन् । तर पनि संकल्प अहिल्यै आँप बेच्न तयार छैनन् । उनी आँप पूर्णरुपमा टिप्ने भएपछि मात्र टिपेर बिक्री गर्ने तयारीमा छन् ।

यो आँपमा चिनीको मात्रा १५ प्रतिशतभन्दा बढी हुनुका साथै अन्य विभिन्न पोषक तत्वहरु उच्च मात्रामा पाइन्छ । यसमा एन्टीअक्सिडेन्ट, बिटा क्यारोटिन तथा फोलिक एसिड पनि पाइन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?