+
+
विचार :

बालेन र हर्कले राजनीतिमा सिर्जना गरेको दबाव

बालेन्द्र साह र हर्क साम्पाङहरू सफल हुनुपर्छ । उनीहरू सफल हुँदा राजनीतिक दलहरूलाई पनि राम्रो गर्नैपर्ने दबाव सिर्जना हुन्छ । तर बालेन र हर्कको देवत्वकरण आवश्यक छैन । कमजोरी भए आलोचना गर्दै सुधार्न कोसिस गर्नुपर्छ ।

रामचन्द्र उप्रेती रामचन्द्र उप्रेती
२०७९ असार १२ गते १४:०३

राजनीतिक दल, तिनका नेता र कार्यकर्ताको आचरण, व्यवहार, शैली, बोली आदिको विकल्प खोजेका र यिनलाई सबक सिकाउन चाहने मतदाताले स्वतन्त्र उम्मेदवारलाई जिताएका हुन् । केही मानिसलाई राजनीतिक पार्टी भनेकै मन पर्दैैन, केहीलाई तिनको नेता मन पर्दैन, केहीलाई तिनको काम गर्ने तरिका मन पर्दैन । यी सबैले एक ठाउँमा आकार पाउँदा र विकल्प अलि चित्तबुझ्दो भयो भने यस्तो परिणाम आउने रहेछ । पार्टी प्रणाली भएको मुलुकमा हुने चुनावमा त्यो पनि महानगर र उपमहानगरमा संगठन नै नभएका स्वतन्त्रहरूले चुनाव जित्नु सामान्य र चानचुने कुरा होइन । त्यसैले चुनाव जित्ने र जिताउन लागि पर्ने सबै बधाईका पात्र हुन् ।

चुनाव जित्ने र जिताउनेलाई जे लागेको छ त्यो सजिलै हुनेवाला छैन । पाँच वर्षको कार्यकाल सफल बनाउन धेरै मिहिनेत गर्नुपर्छ । जिताउनेलाई लागेको छ पार्टीका मानिस स्वार्थी र भ्रष्ट थिए, छन् । तिनले राम्रो काम गर्न चाहँदैनथे, अब यिनले गर्छन् । किनकि यिनलाई पार्टीको दबाव हुने छैन ।

जित्नेलाई लाग्छ, म काम गर्न आएको छु, मैले पार्टीको घेरामा थुनिनु, बाँधिनु पर्दैन । पालिकामा भएको स्रोत–साधनको प्रयोग गरेर फटाफट जनताको काम गर्नेछु । जित्नेहरूलाई लागेको छ कि ‘नगरवासीलाई काम कसरी गर्नुपर्छ भन्ने म देखाउँछु, पाँच वर्षमा म नगरको मुहार फेर्नेछु, म भ्रष्टाचार गर्दिनँ, गर्नु पर्दैन ।’ सायद मनै मनमा त जित्ने सबैलाई यस्तो लाग्छ– ‘म चमत्कारै गरेर देखाउँछु ।’

पालिकामा निर्वाचित भएका सबै पालिका प्रमुख र वडा अध्यक्षहरू कार्यकारी हुन् । कार्यकारी प्रमुख पद भनेको लगाम विनाको घोडा होइन । जे मन लाग्छ त्यो गर्न पाइन्छ भन्ने हुदैन । नराम्रो त गर्नै हुदैन, गर्दैनन्, गर्नेले लुकेर गर्ने हुन् । त्यो सधैं छोपिंदैन, देखिन थालेपछि समस्या पर्ने हो । स्वतन्त्र जसले जनताको यति ठूलो विश्वास पाएर जितेका छन् तिनले नराम्रो काम गर्ने छैनन् भन्ने मानौं । लुकेर गर्नुपर्ने स्वार्थी काम गर्ने छैनन् ।

राम्रो गर्न, राम्रा काम गर्न पनि नीति विधिको बाटो हिंडेर मात्रै पूरा गर्न सकिन्छ । यसलाई हामी प्रक्रिया भन्छौं । प्रक्रिया नपुर्‍याई कुनै काम गर्नुहुदैन । प्रक्रियाको जालो छिचोल्न भएका संयन्त्रको सहारा लिनैपर्छ । प्रक्रिया नमान्ने, मिच्ने छुट कसैलाई हुँदैन ।

प्रक्रिया भनेको नीतिनियमको पालना पनि हो । निर्वाचित जनप्रतिनिधिलाई जहिले पनि विकासको हतारो हुन्छ । अर्थात् देखिने गरिको विकास, प्रतिफल चाँडै होस् भन्ने चाहना हुन्छ र यो स्वाभाविक पनि हो । तर प्रशासनले प्रक्रिया पूरा भएको र नभएको हेर्नुपर्छ, प्रक्रिया पूरा गर्ने काम गर्नुपर्छ ।

प्रक्रिया र विकासमा मनसायको घूलनशीलता हुन्छ । नेतालाई विकास चाहिन्छ । विकाससँगै पैसा चाहिन्छ । पैसा नभए पार्टी चल्दैन, नेताको जीवन चल्दैन । चुनावमा हुने अपारदर्शी खर्च जोहो गर्नका लागि पनि विकाससँग घोलिएर आउने आर्थिक लाभको अपेक्षा गरिन्छ । यो नै नेताले गर्ने विकाससँगै आर्थिक लाभको मनसाय हो । यस्तो लाभको मनसाय त्याग्नु आवश्यक छ ।

स्वतन्त्र भएर जितेकाहरूले पार्टीको दबाव झेल्नु पर्दैन, चुनावमा कुनै ठूलो खर्च भएन, जीवन चलाउन पुग्ने साधारण खर्च कार्यकारी पदमा जितेकाहरू सबैले नियम अनुसार नै पाउँछन् । त्यसैको सीमामा आफूलाई राख्नसके धेरै पैसा चाहिंदैन । केही नेताहरू आफ्नो प्रतिष्ठालाई सबैभन्दा ठूलो सम्पत्ति मान्ने गर्छन् । प्रतिष्ठा जोगाउन विकासमा आर्थिक लाभको मनसाय राख्दैनन् । यो नेताको सुन्दर पक्ष हो । अपुगमा परिवारले सपोर्ट गर्नुपर्छ, गर्छन् । जीवन सामान्य हुन्छ । जनताले चाहेका यस्तै नेता हुन् । स्वतन्त्र भएर जितेका नेतासँग जनताले यस्तै असल नेता हुनुको अपेक्षा गरेका छन् । जसले विकासमा आर्थिक लाभको मनसाय नराखुन् ।

विकासको प्रक्रियामा संलग्न संयन्त्रका अरू (प्रशासनिक प्रमुखदेखि कार्यालय सहयोगीसम्म) ले पूरा गर्ने प्रक्रियामा आर्थिक लाभको मनसाय घूलनशील हुनु नेपालको सन्दर्भमा सामाजिक मान्यताप्राप्त विषय हो । यसलाई अपराध मान्नै छोडियो । त्यसैले धेरैले यो प्रक्रियामा पाँच–दश प्रतिशत छुट्याएर आफ्नो काम फत्ते गर्छन् । विकासको प्रकृति हेरेर कतै योभन्दा निकै धेरै प्रतिशत हुन्छ ।

विकास सबैभन्दा धेरै यहीं अल्झिन्छ । बालेन्द्र साह र हर्क साम्पाङले मात्रै होइन निर्वाचित सम्पूर्ण पालिका प्रमुखहरू (जो आफैंमा कार्यकारी प्रमुख हुन्) ले यो प्रक्रियालाई बुझ्ने, सहजीकरण गर्ने र उल्झनलाई परास्त गर्ने काममा सफल हुनुभयो भने मात्रै उहाँहरूले चाहेको जस्तो काम हुन सक्छ । यो प्रक्रियाको बेवास्ता पनि गर्न सकिंदैन र यसलाई नबुझिकन उल्झन हटाउन पनि सकिंदैन ।

अझ यस्ता विकासमा नेताले पनि आर्थिक लाभको आशा गरे भने कर्मचारी संयन्त्रलाई खुदो पर्नेछ र कमिसनको रेट बढ्ने मात्रै होइन जहाँबाट धेरै कमिसन आउँछ बजेट र विकास त्यतै जान्छ । प्रक्रिया त्यतैको पूरा हुन्छ । यस प्रकारको कार्यले विकास, विकासका लागि नभएर कमिसनका लागि हुन्छ । कमिसनको लोभमा भएको विकास न जनताका लागि हुन्छ न भरपर्दो र दिगो हुन्छ । एकप्रकारले यो स्रोतको दुरुपयोग मात्रै हो । यसको मूल्य नगरवासीले चुकाउनुपर्छ ।

पालिका प्रमुख र वडाका प्रमुखमा कार्यकारी अधिकार हुन्छ । उनीहरू समन्वयकर्ता र कार्यकारी प्रमुख पनि हुन् । उनीहरूको मन सफा भयो र कार्यक्षमता देखाउन सके भने उनीहरूले पाएको समय पाँच वर्षमा आफ्नो क्षेत्रमा सुधार र विकासका धेरै नमूना काम गर्न सक्छन् । मनसाय आर्थिक लाभमा अल्झियो, संयन्त्रभित्रका जटिलताको भेउ पाउन सकेनन्, भेउ पाएर पनि त्यसलाई सहजीकरण गर्दै छिचोल्न सकेनन् भने यसैमा अल्झेर पाँच वर्ष बिताउने छन् र जनतालाई धोका हुनेछ ।

बालेन्द्र साह र हर्क साम्पाङले मात्रै होइन सबै पालिकाका प्रमुख र वडा अध्यक्षहरूले आफ्नो बोर्डको विश्वास जित्नुपर्छ । बोर्ड सदस्यहरूलाई विश्वासमा लिनुपर्छ । निर्णय प्रक्रियामा उहाँहरूको सहमति अनिवार्य हुन्छ । सके सर्वसम्मत र नसके पनि बहुमतको स्वीकृति र सहमति नभई बोर्डबाट निर्णय पारित हुन सक्तैन ।

कार्यकारी प्रमुखले बोर्डमा प्रस्ताव लैजाने र निर्णय गराउने हो । बोर्डबाट पास भएका निर्णयलाई कार्यान्वयन गर्ने जिम्मा प्रमुखको हुन्छ । बोर्डको निर्णय अर्थात् बोर्डबाट पास भएका निर्णयको दैनिक कार्यान्वयनका लागि पालिकामा पालिका प्रमुखले र वडामा वडा प्रमुखले नेतृत्व गर्ने हो । आफ्ना पालिका र वडामा भएका जनशक्ति (कर्मचारी), औजार, यन्त्रउपकरण र धनशक्तिको परिचालन र निर्णय कार्यान्वयन गर्ने जिम्मा कार्यकारी प्रमुखलाई हुन्छ ।

एक बैठकदेखि अर्को बैठकको अवधिमा पालिका वा वडामा हुने सम्पूर्ण दैनन्दिन कामको नेतृत्व कार्यकारी प्रमुखले गर्ने भएकाले यो अवधिमा के के काम भए ? अघिल्लो बैठकमा भएका निर्णयको कार्यान्वयनको अवस्था के छ ? निर्णय कार्यान्वयन हुन नसकेको भए के कारणले भएन ? आगामी दिनमा के गर्न सकिन्छ ? के गर्नुपर्छ यो सबै काम–कुराको जानकारी बोर्ड बैठकमा दिनुपर्छ ।

केही मानिसलाई राजनीतिक पार्टी भनेकै मन पर्दैैन, केहीलाई तिनको नेता मन पर्दैन, केहीलाई तिनको काम गर्ने तरिका मन पर्दैन । यी सबैले एक ठाउँमा आकार पाउँदा र विकल्प अलि चित्तबुझ्दो भयो भने स्वतन्त्रले जित्ने अवस्था आउने रहेछ ।

पालिकाको बोर्ड बैठकले गर्ने निर्णय पालिकाको वार्षिक सभाले पास गरेको बजेट र योजना अनुसार हुनु अनिवार्य छ । यी सबै निर्णय प्रचलित नीति, नियम, कानुन अनुसार हुन आवश्यक छ । नीति नियमले प्रष्ट नपारेको हकमा पालिका सभाले पास गरिदिएको वा आफ्नै बोर्डले पास गरेको कार्यविधि अनुसार हुनुपर्छ ।

यो वास्तविकतालाई हेर्दा पालिका प्रमुखको पद र जिम्मेवारी कार्यकारी प्रमुख मात्रै होइन समन्वयकारी पनि हुनुपर्छ । आफ्नो बोर्डमा भएका उपप्रमुखसहितका सबै सदस्य जनताबाटै निर्वाचित भएर आएका हुन् । ती सबैको सहमति र निर्णयबाट पालिकाको आवश्यकता र जनताको हितमा काम गर्ने म्याण्डेट हो भन्ने प्रष्ट हुन्छ ।

पालिका प्रमुखले आफूलाई सर्वेसर्वा प्रमुख ठान्दा वा स्वार्थको द्वन्द्वका कारण वा समन्वय गरेर विश्वासमा लिन नसकेका कारण बोर्ड बैठक व्यवस्थित हुन सक्दैन । बोर्डको बैठक नै व्यवस्थित भएन भने निर्णय समयमा र सही नहुन सक्छ । यस्तो अवस्थामा पालिकामा प्रमुखले सोचेको, चाहेको विकासको काम पूरा हँुदैन ।

पालिका प्रमुखको पद राजनीतिक, प्रशासनिक र व्यवस्थापकीय कामको पद हो । यी पदहरूको भूमिका संयोजन, कानुनी र सुझबुझपूर्ण हुनैपर्छ । जसले यो भूमिका राम्ररी पूरा गर्न सक्छन् उनीहरू सफल हुनेछन् । स्वतन्त्रले यो भूमिका निर्वाह गर्न सक्दैनन् पार्टीबाट जितेकाले मात्रै गर्न सक्छन् भन्ने हुँदैन । जसले सुझबुझका साथ माथिका सबै विषयमा संयोजन गर्न सक्छन् उनीहरू सफल हुन्छन् ।

बालेन्द्र साह र हर्क साम्पाङहरू सफल हुनुपर्छ । उनीहरू सफल हुँदा राजनीतिक दलहरूलाई पनि राम्रो गर्नैपर्ने दबाव सिर्जना हुन्छ । यसले समग्र समाज, राजनीति र देशलाई नै फाइदा हुन्छ । बालेन्द्र साह र हर्क साम्पाङहरूलाई असफल बनाउन लाग्नेहरूलाई निरुत्साहित गर्नुपर्छ । तर उनीहरूको देवत्वकरण गर्न आवश्यक छैन । कमजोरी भए आलोचना गर्र्र्दै सुधार्न कोसिस गर्नुपर्छ ।

बालेन्द्र साह र हर्क साम्पाङले मात्रै होइन जनताको सेवा, पालिकाको विकास गरेर सफल हुन चाहने जोसुकैले पहिला कामचोर, पथभ्रष्ट, अल्छी, अयोग्य, चाप्लुसी गरेरै नजिक हुन चाहने संयन्त्रका जनशक्तिको पहिचान गरेर तिनलाई सुधार्न सक्नुपर्छ वा सुध्रिन बाध्य पार्नुपर्छ । असल, सहयोगी र योग्य जनशक्तिलाई साथमा लिएर अगाडि बढ्नुपर्छ ।

यसैगरी स्वार्थी ठेकेदार र कमिसनखोरहरूको जालो तोडेर बाहिर निस्कन सक्नुपर्छ । यतिले मात्रै पनि हँुदैन पालिकाको आवश्यकता, स्रोतको पहिचान र परिचालनमा उत्तिकै खरो उत्रिन सके बालेन्द्र साह र हर्क साम्पाङ मात्रै होइन सबै सफल हुनेछन् । सबैले राम्ररी पालिकाको नेतृत्व गर्न सक्नेछन् । अन्यथा पार्टीका सफल हुने र स्वतन्त्र असफल हुने भन्ने हुँदैन ।

(उप्रेती सहकारी अभियन्ता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?