+
+

प्रेमीले झुट बोलेपछि शंकास्पद बन्यो गायिका सुनार मृत्यु प्रकरण

गौरव पोखरेल गौरव पोखरेल
२०७९ असार १२ गते २१:३८

१२ असार, काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको फेसबुक एकाउन्टमा शनिबार बिहान १ः२० बजे स्ट्याटस पोष्ट भयो, ‘कसैको माया पाउन जति कोशिश गरे पनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिन्दिनै मर्न सकिनँ, आमा ।’

आफ्नो इच्छाले यो कदम उचालेको भनाइसहित ‘कसैले खोजी नीति पनि नगर्नु र पोष्टमार्टम पनि नगर्नु’ उल्लेख गरेर स्ट्याटस पोष्ट भएपछि शनिबार बिहानैबाट आफन्त र शुभचिन्तकले फोन गर्न थाले । तर उनको फोन ‘अनरिचएबल’ भनिरहेको थियो । फोन नलागेपछि नेपालटारस्थित दिलमाया बस्ने कोठाका घरबेटीलाई पनि फोन आए ।

धेरैको फोन आएपछि घरबेटी ओर्लिएर दिलमायाको कोठातिर हेर्दा ढोकाको अलिकति भाग खुल्लै थियो । ‘बहिनी’ भन्दै उनले ढोका ढक्ढक्याए, भित्रबाट आवाज आएन । चिहाएर हर्दा खाटमा दिलमाया लडिरहेको देखे ।

दिलमायालाई लडिरहेको देखेपछि भुइँ तलामा रहेका मेडिकल पसलका मानिसहरुलाई पनि बोलाए, अन्य कोठामा बस्ने पनि जम्मा भए । त्यहीँबाट प्रहरी कन्ट्रोल १०० मा फोन गरेर घटनाबारे जानकारी गराए ।

करिब पौने ११ बजेतिर प्रहरी वृत्त, बालाजु र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुग्दा गायिका सुनार मृत अवस्थामा थिइन् । घटनास्थल पुगेका बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रका अनुसार उनको घाँटीमा ‘मार्क’ देखिएको थियो, शरीरमा अन्य कुनै निशान थिएन ।

घटनास्थलको प्रकृति हेर्दा सुरुवात्मा शंकास्पद नदेखेको भन्दै प्रहरीले मुचुल्का गरेर शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठायो ।

शंकास्पद किसिमको घटना भए प्रहरीले अस्पतालबाट फरेन्सिक विज्ञ चिकित्सकलाई त्यहीँ बोलाएर पनि जाँचबुझ गर्ने गर्छ । ‘यसमा सुरुमा त्यस्तो नदेखिएपछि मुचुल्का गरेर शवलाई पोष्टमार्टमका लागि पठाएका थियौं’ मिश्रले अनलाइनखबरसँग भने ।

जब प्रेमीले झुट बोले…

प्रहरी वृत्त, बालाजुका डीएसपी मिश्रका अनुसार घटनास्थलमा मुचुल्का सकेपछि घरमा बस्ने व्यक्तिहरुसँग सोधपुछ गरिएको थियो । त्यसक्रममा उनको घरमा राति एक पुरुष आएको खुल्यो ।

‘ठ्याक्कै नाम बताउन नसकेपनि घरवेटीले उनीहरुले श्रीमान्–श्रीमतीको रुपमा परिचय दिने गरेको बताउनुभयो’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘परिवारसँग बुझ्दा दिलमायाको पहिल्यै डिभोर्स भइसकेको पायौं ।’ त्यसपछि प्रेम सम्बन्ध हुनसक्ने आशंका अनुसन्धान अधिकृतहरुले गरे । नभन्दै दिलमाया झण्डै डेढ वर्ष अघिदेखि गोठाटार बस्ने सूर्य श्रेष्ठसँग सम्बन्धमा रहेको खुल्यो ।

अनुसन्धान अधिकृतहरुका अनुसार उनीसँग सम्बन्धमा रहेको खुलेपछि प्रहरीले सोधपुछका लागि श्रेष्ठलाई नियन्त्रणमा लियो ।

तर उनले सुरुवात्मा दिलमायाबारे अनविज्ञता प्रकट गरे, आफूले पनि स्ट्याटस देखेपछि बारम्बार फोन गरिरहेको बताए । ‘उनको भनाइमा विश्वास गरिहाल्ने आधारमा थिएन । त्यसैले प्राविधिक पक्षको पनि विश्लेषण गर्‍यौं’ एक अधिकृत भन्छन्, ‘त्यसक्रममा उनको मोबाइलको लोकेसन राति त्यही एरियामा मात्र देखिएन, उनको मोटरसाइकल कोठा अगाडि पार्क गरेको क्लोज सर्किट (सीसी) क्यामराको दृश्य नै भेटियो ।’

दुईतिरको सीसी क्यामराको समेत फुटेज देखाएर प्रत्यक्षदर्शीलाई समेत भेट गराएपछि उनले शुक्रबार दिलमायाको घरमा गएको स्वीकारे । त्यसपछि सूर्यले प्रहरीलाई दिएको बयान अनुसार उनी प्रेमिकालाई भेट्न भन्दै गोठाटारस्थित पसलबाट शुक्रबार राति ८ बजे निस्किएका थिए ।

‘त्यो हिसाबले ऊ ८ः४५ तिर नेपालटारस्थित दिलमायाको कोठामा पुगेको देखिन्छ’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘ऊ बाटोमा खसीको मासु किनेर त्यहाँ गएको थियो, कोठामा पुगेर दुई जनाले सँगै खाना बनाएर खाएका रहेछन् ।’

‘कोठामा प्रायः जसो लोकल रक्सी हुँदोरहेछ, सूर्यले रक्सी खाएको बताएका छन्’ ती अधिकृत थप्छन्, ‘तर दिलमायाले चाहिँ ड्यू मात्र खाएको भनेका छन् ।’ पाँच लिटर लोकल रक्सी भएको जर्किन आधा खाली भएको अवस्थामा प्रहरीले कोठामा बरामद गरेको छ ।

राति खाना खाएर आफू बाहिर निस्किएको उनले बयान दिए, तर प्रहरीले पत्याएन । उनको झुट फेरि समातिइहाल्यो । किनकि, बिहान ४ बजेतिर मात्रै उनी निस्किएको सीसी टीभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको थियो ।

‘त्यो देखाउँदा उनले आफूलाई छातीको समस्या भएको र राति १२ बजेतिर दुखाइ कम गर्ने औषधि लिन बाहिर गएको बताए,’ स्रोतले भन्यो, ‘फर्किएर आएपछि दिलमायाले फेसबुक चलाउन थालेको, आफू चाहिँ एक्छिनमा जान्छु भन्दाभन्दै निदाएको उनले बताएका छन् ।’ प्रहरीका अनुसार सूर्यले घर फर्किने भन्दाभन्दै ‘औषधि र मदिरा’का कारण लठ्ठिएर निदाएको बयान दिएका छन् ।

उनीहरु राति १२ः१० मा घरबाट बाहिर निस्किएको आएको सीसी टीभी फुटेजमा पनि देखिएको प्रहरी बताउँछ ।

दिलमायालाई झुण्डिरहेको देखेँ

सूर्यको बयान अनुसार बिहान साढे ३/४ बजेतिर उनी ब्यूझिँएका थिए । झ्यालमा हेर्दा सानुमायालाई सलको पासो लगाएर झुण्डिरहेको देखे । ‘समय त ठ्याक्कै याद भएन तर साढे ३/४ बजेतिर हुनुपर्छ,’ प्रहरीलाई दिएको बयानमा उनले भनेका छन्, ‘झुण्डिरहेको देखेपछि आत्तिएर डोरी खोलेर छाम्दा शरीर चिसोे थियो, त्यसपछि के गर्ने कसो गर्ने दिमागमा केही आएन ।’

एकातिर प्रेमी भनिएका सूर्यले सुरुवात्मा झुटो बयान दिनु र अर्कातिर उनको मोबाइल नभेटिनुले शंका गर्ने ठाउँ दिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

बयान अनुसार गोठाटारस्थित घरमा श्रीमती र छोराछोरी छाडेर प्रेमिकासँग बस्न आएका उनी अकल्पनीय परिस्थिति आइलागेपछि सल लिएर आत्तिँदै बाहिर निस्किएका थिए । ‘फस्छु भन्ने डर भयो, केही थाहा नहोला भनेर सल लिएर निस्किएँ’ उनले भनेका छन् ।

बिहान ४ बजेतिर घरबाट निस्किएका उनले सल लिएर गएर महाराजगञ्जमा कतारको भिसा सेन्टर छेऊमा भएको नालीमा फालेका थिए । उनकै बयानमा आधारमा सल बरामद गरिएको डीएसपी मिश्र बताउँछन् ।

सूर्यले भने जस्तै घाँटीमा डामबाहेक अन्य संकेत नभएकै कारण प्रहरीले सुरुवात्मा यो घटनालाई ‘आत्महत्या’ हुनसक्ने भनेको थियो ।

तर अहिले दिलमायाले स्ट्याटस पोष्ट गरेको भनिएको मोबाइल कोठामा बरामद नहुनुले घटनालाई रहस्यमय बनाएको छ । एकातिर प्रेमी भनिएका सूर्यले सुरुवात्मा झुटो बयान दिनु र अर्कातिर उनको मोबाइल नभेटिनुले शंका गर्ने ठाउँ दिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

‘मोबाइल भेटिए धेरै रहस्य खुल्न सक्थ्यो, तर आइतबार दिनभर खोज्दा पनि भेटिएन,’ एक अधिकृत भन्छन् । सुनारको परिवार र लोक दोहोरी प्रतिष्ठानले पनि सुनारको फेसबुकमा पोष्ट भएको स्ट्याटसप्रति शंका व्यक्त गरेको छ र अन्य व्यक्तिले नै स्ट्याटस पोष्ट गरेको हुनसक्ने शंका गरेको छ ।

प्रहरीले चाहिँ यस विषयमा केही बताएको छैन । मोबाइल भेटिएपछि नै त्यसबारे पनि थाहा हुने अधिकृतहरु बताउँछन् । यहीबीच आइतबार सुनारको हत्या भएको दाबी गर्दै सूर्यविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

३० वर्षीया गायिका दिलमाया लाइभ दोहोरी गीतका कारण चर्चामा आएकी थिइन् । उनले ख्यातिप्राप्त लोक दोहोरी गायक राजु परियारसँग मिलेर पनि केही चलेका लोक दोहारी गाएकी थिइन् । केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् ।

उनीसँग सुन व्यवसायीले श्रेष्ठको १५ महिनाअघि चाबहिलको दर्पण छायाँ दोहोरी साँझमा भेट भएको थियो । श्रेष्ठको बयान अनुसार त्यसपछि भौतिक भेटघाट र सामाजिक सञ्जालमा कुराकानी हुँदै उनीहरुबीच निकटता बढेको थियो ।

तर पछिल्लो समय सुनारले तारन्तार गर्दा श्रेष्ठ फोन काट्ने गरेका थिए, त्यसैले सुनार विक्षिप्त थिइन् । ‘घर परिवारसँग हुन्थे, उठाउन मिल्ने अवस्थामा हुन्नथ्यो,’ उनले बयान दिएका छन्, ‘एक हप्ता वा १५ दिनमा कोठामा गएकै हुन्थेँ ।’

सुनार बस्ने घरमा बस्ने अन्यले पनि सुनार पछिल्लो समय मानसिक रुपमा अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन् ।

बालाजुका डीएसपी मिश्र भन्छन्, ‘मृत्युको कारण चाहिँ अब पोष्टमार्टम रिपोर्टमै भर पर्छ, अन्य आधारले निष्कर्षमा पुग्न सकिएन ।’

सूर्यले भनेजस्तै सुनारले ‘ड्यू’ मात्रै खाएको हो/होइन भन्ने यकिन गर्न प्रहरीले भिसेरा जाँच गर्ने पनि तयारी गरेको छ । भिसेरा परीक्षणबाट उनले मृत्यु अघि के खाएकी थिइन् भन्ने खुल्न सक्छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?