+
+
कार लुटिएका कर्मचारीको बयान :

‘चक्कु र ढुंगाले हाने, हातखुट्टा बाँधेर गाडी लगे’

जनक विष्ट जनक विष्ट
२०७९ असार १३ गते २०:१०

१३ असार, धनगढी । कञ्चनपुरको वेदकोट नगरपालिका–३ का ३७ वर्षीय लोकेन्द्र भण्डारी सोमबार महेन्द्रनगरस्थित चम्मन चोकबाट डडेल्धुरा जाने तयारीमा थिए ।

आलीताल गाउँपालिकाका कम्युटर अपरेटर समेत रहेका भण्डारी चिया पिएर प्रदेश नम्बर ३–००१००२३ च ८७२१ नम्बरको आफ्नै प्राइभेट कार लिएर अगाडि बढ्दै गर्दा तीन जना अपरिचित व्यक्तिले रोके ।

महेन्द्रनगर बसपार्क क्षेत्रका अटोरिक्सा चालकको सहयोगमा उनीहरु भण्डारीको कार रोक्न आएका थिए । उनीहरुले आफूहरु भारतबाट घुम्न आएकाले कैलालीको खानीडाँडासम्म लगिदिन आग्रह गरे । अटो रिक्सा चालककै आग्रहमा उनीहरु खानीडाँडासम्म जान पेट्रोल हालिदिन पनि तयार भए । सोमबार बिहान करीब सवा ९ बजेतिर भण्डारी भारतको राजस्थान घर बताउने तीन जना अपरिचित व्यक्तिहरुसँगै महेन्द्रनगरबाट डडेल्धुरातर्फ हिँडे ।

कैलालीको गोदावरी धाम नजिकै पुगेपछि उनीहरुले दर्शन गर्ने भन्दै भण्डारीलाई कार रोकिदिन आग्रह गरे । उनले भारतबाट घुम्न आएका पर्यटक भएकाले गोदावरी धाममा दर्शन गर्न कार रोकिदिए । त्यसपछि उनीहरुले गोदावरी नदीमा करीब २० मिनेटसम्म नुहाएर गाडीमा फर्किए । भण्डारी उनीहरुलाई लिएर अघि बढे । भीमदत्त राजमार्गमा करिब १४ किलोमिटर अगाडि सेल्फी डाँडा नजिकै पुनः फोटो खिच्ने भन्दै भण्डारीलाई कार रोकिदिन आग्रह गरे ।

भण्डारीले सडक छेउमा गाडी रोकिदिएपछि उनीहरु तीनै जना बाक्लो झाडी भएको स्थानतर्फ फोटो खिच्न गए । भण्डारीका अनुसार उनी कारभित्रै बसिरहेका थिए । करिब २/३ मिनेटपछि एक जना आएर भण्डारीलाई फोटो खिचिदिनु भन्दै झाडीतिर लिएर गए ।

उनले फोटो खिचिदिने क्रममा पछाडिबाट एक जनाले हातमा चक्कु प्रहार गरे । छेक्ने क्रममा चक्कुले उनको हातको औला काटियो । रगत बग्न थालेपछि उनले अर्को हातले औँला च्यापेर रोक्ने प्रयास गर्दागर्दैै अर्को व्यक्तिले ढुङ्गाले टाउको र निधारमा बजारे । करीब २/३ मिनेट प्रतिकारमा उत्रिएका भण्डारीलाई हल्ला गरेमा हत्या गरिदिने धम्की दिए । त्यो बेला गाडीहरु आवतजावत गरिरहे पनि उनलाई सडकबाट करीब डेढ सय मिटरभित्र जंगलमा लगिएकाले अरुले देख्ने अवस्था थिएन ।

भण्डारीका अनुसार हात खुट्टा बाँधेर भीरतर्फ फालेर पर्समा भएको मोबाइल फोन र नगद पाँच हजार रुपैयाँ लुटेर उनीहरु कार लिएर भागे । उनीहरु कार फर्काएर अत्तरियातर्फ हिँडेको जस्तो लागेको उनी बताउँछन् ।

करीब १५-२० मिनेटपछि बाँधिएकै हातले पछाडीबाटै बाँधिएका खुट्टाको डोरी फुकाउन सफल भए तर हिँड्न सक्ने अवस्था नभएका कारण उनी केहीबेर त्यहीँ बसे । पछि विस्तार विस्तारै सडकमा पुगे । उनीले सडकमा पुग्दा अत्तरियाबाट डडेल्धुरातर्फ गइरहेको एम्बुलेन्स फेला पारे । एम्बुलेन्स चालकले रोक्न मानेनन् । तर भण्डारीका अनुसार ती एम्बुलेन्स चालकले प्रहरीसम्म खबर पुर्‍याइदिएका रहेछन् ।

‘म रोडमा पुग्ने बित्तिकै अत्तरियादेखि एउटा एम्बुलेन्स आयो । सहयोग गरिदिनुस् भन्दा रोक्नु भएन तर सोही एम्बुलेन्स चालकले स्थानीय र प्रहरीलाई खबर गरिदिएछन्’, भण्डारीले अनलाइनखबरसँग भने, ‘पछि त्यहाँ ओहोरदोहोर गर्ने गाडी, स्थानीय र प्रहरीको सहयोगमा मेरो उद्धार भएको हो ।’

भारतको राजस्थान घर बताउने उनीहरुले आफूमाथि योजनाबद्ध रुपमा नभएर आकस्मिक आक्रमण गरेर लुटपाट गरेको भण्डारी बताउँछन् । गोदावरी नदीमा नुहाउने क्रममा उनीहरुले लुट्ने योजना बनाएको हुनसक्न भण्डारीको भनाइ छ ।

अहिले अत्तरियाको पदमा अस्पतालमा उपचाररत भण्डारीको टाउको र हातमा चोट लागेको छ । अस्पतालका अनुसार उनको अवस्था खतरामुक्त छ । प्रहरीले घटनामा संलग्नको आरोपमा ३ जना भारतीय नागरिकलाई पक्राउ गरेका छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?