+
+

बागमतीमा मुख्यमन्त्री फेर्न कांग्रेस र माओवादी केन्द्रले सुरु गरे हस्ताक्षर संकलन

राजन दाहाल राजन दाहाल
२०७९ असार १६ गते १८:३०

१६ असार, हेटौंडा । बागमती प्रदेशमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तन गर्ने तयारी सुरु गरेका छन् ।

सत्तारुढ गठबन्धनको सहमतिमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तनका लागि दबाव दिन बिहीबार सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् ।

बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच आलोपालो सरकार चलाउने सहमति भएको तर मुख्यमन्त्री पाण्डेले सहमति अनुसार राजीनामा गर्नुपर्नेमा आलटाल गरेकाले दबाव दिन हस्ताक्षर संकलन थालिएको सांसद सीता अधिकारीले बताइन् ।

‘दलका नेताबाट मुख्यमन्त्री परिवर्तनको कुरा छ हस्ताक्षर गर्न भनेपछि हामी सबैले हस्ताक्षर गरेर दलको कार्यालयमा बुझाएका छौं ।’ प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्ने तयारी रहेको सांसद अधिकारीले बताइन् ।

पाण्डेपछि कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने गरी भएको तीन दलबीचको सहमति केही समयअघि सार्वजनिक भएको थियो । तर पाण्डेले भने सहमति भए पनि  सत्ता गठबन्धनको शीर्ष तहमा सहमति भएमा मात्र पद छाड्ने बताउँदै आएका छन् ।

कांग्रेस र माओवादी केन्द्रले भने पाण्डेलाई दबाव दिन हस्ताक्षर संकलन गरेको बताएका छन् । कांग्रेस सांसद नरोत्तम वैद्य भन्छन्, ‘सहमति कार्यान्वयनका लागि मुख्यमन्त्रीलाई दबाव दिन हस्ताक्षर संकलन गरेका हौं ।’

बिहीबार कांग्रेस र माओवादी सांसदहरुले खाली कागजमा हस्ताक्षर गरेका छन् । नेकपा माओवादी केन्द्रका एक सांसदले अनलाइनखबरसँग भने, ‘भोलि प्रक्रिया पूरा गर्नुपर्‍यो भने, वर्षाको बेला छ, सबै सांसदहरु उपस्थित नहुन सक्छन् भनेर हस्ताक्षर संकलन गरिएको हो ।’

नेकपा एकीकृत समाजवादीका नेता पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई माओवादी २३, नेपाली कांग्रेस २२, एकीकृत समाजवादीका १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?