+
+

नेपाल लोकस्टार-२ साउन अन्तिमदेखि हिमालय टीभीमा, विजेताले २० लाख पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १७:१९

काठमाडौं । लोक गायनमा आधारित रियालिटी शो ‘लोकस्टार नेपाल’को दोस्रो सिजन साउन अन्तिमदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले साउन अन्त्यदेखि हरेक मंगलबार र बुधबार राति ८ बजेदेखि प्रसारण हुने जानकारी दिए ।

यसअघि चाहना मिडियाको स्वामित्वमा रहेको यो शोको ब्राण्ड हिमालय टेलिभिजनले खरिद गरेसँगै नयाँ शैलीमा दोस्रो सिजन आउन लागेको हो । शोलाई सिमोस सुनुवार निर्देशन गर्नेछन् ।

कार्यक्रमको तयारी तीव्र रुपमा अगाडि बढिरहेको र प्रतिस्पर्धाका लागि करिब तीन हजार जनाले डिजिटल अडिसन दिइसकेको कार्यक्रममा जानकारी गराइयो । ती आवेदनमध्येबाट छानिएका प्रतिभासँगै देशका विभिन्न सहरमा हुने फिजिकल अडिसनबाट छानिएका प्रतिभाहरुले शोमा प्रतिस्पर्धा गर्नेछन् । केही दिनमै छायांकन सुरु हुने शोको निर्णायकमा लोक गायक कुमार बस्नेत, रामजी खाँड, कुलेन्द्र विश्वकर्मा र लोक गायिका ज्योति मगर रहनेछन् ।

नेपाल लोकस्टार-२ का विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने हिमालय टेलिभिजनले जनाएको छ । शोको संगीत निर्देशकमा संगीतकार तथा एरेन्जर आशिष अविरल अनुबन्धित भएका छन् भने कार्यक्रमको सञ्चालक तथा ब्राण्ड आइकन गायक प्रकाश सपुत रहेका छन् ।

कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले मौलिक कला र संस्कृतिको जगेर्नाका लागि नेपाल लोक स्टारले महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

शोका निर्देशक सिमोस सुनुवारले यो शोको निर्माणबाट आफ्ना बुवा एवं लोक गायक स्वर्गीय पाण्डव सुनुवारको सम्मानमा केही योगदान पुर्‍याउन सक्ने बताए । लोक स्टारका संगीत निर्देशक आशिष अविरलले रियालिटी शोमा गाइने गीतका सर्जकलाई रोयल्टी उपलब्ध गराउने विषयमा पनि गम्भीर रहेको बताए ।

शोका निर्णायक कुमार बस्नेतले यस्ता शोले लोक संगीतमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । उनले नेपाली लोक संगीतको भविष्य उज्ज्वल रहेको बताए ।

हिमालय टेलिभिजनका कार्यकारी निर्देशक कँडेलले यो गायन रियालिटी शोले नेपाली कला, संस्कृतिको जगेर्नामा सहयोग पुर्‍याउने भन्दै निर्णायकमा कुमार बस्नेतदेखि ज्योति मगरसम्मको उपस्थिति नेपाली लोक संगीतको सबै पुस्ताको अनुहार रहेको बताए ।

लोक स्टारको ‘टाइटल स्पोन्सर’मा आईएमई

बिहीबार आयोजित कार्यक्रममा नेपाल लोकस्टार सिजन २ का प्रायोजकहरुसँग सम्झौता भएको छ । शोको टाइटल स्पोन्सर आईएमईका प्रमुख कार्यकारी अधिकृत पौडेल र हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आईएमई शोको टाइटल स्पोन्सरको रुपमा रहनेछ । यसैगरी पावर बाई स्पोन्सरको रुपमा शंकर ग्रुपअन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता रहेको छ । एसोसिएट स्पोन्सरमा आईएमई लाइफ इन्स्युरेन्स, सिमेन्ट पार्टनरका रुपमा रिद्धिसिद्धि सिमेन्ट र भोटिङ पार्टनरका रुपमा आईएमई रहनेछन् ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?