+
+

किशोरी शिक्षा कार्यक्रमले सबल बन्दै पर्साका छोरीहरू

सुरेश बिडारी सुरेश बिडारी
२०७९ असार १७ गते ९:१५
रविता कुमारी चौधरी

१७ असार, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१ की रविता कुमारी चौधरीले १२ कक्षा पढेपछि पढाइ छोडिदिइन् । घरकै काम धन्दामा उनको दिन बित्थ्यो । किशोरी सशक्तीकरणका लागि शिक्षा (इन्गेज) कार्यक्रम आएपछि उनलाई त्यसमा आबद्ध हुने मौका मिल्यो । त्यसपछि थप पढ्ने इच्छा जाग्यो । त्यसपछि स्नातक तहमा भर्ना भएकी उनको अहिले जीवनशैली नै बदलिएको छ ।

घरको काम, पढाइसँगै उनले ‘ठूली दिदी’को रुपमा जिम्मेवारी पाएकी छन् । अहिले उनी १२ जना साना बहिनी र अपाङ्गता भएका दुई जना बालबालिकाको हेरचाह पनि गर्छिन् । बहिनीहरुलाई पढ्न उत्प्रेरित गर्छिन्, आफूले जानेको कुरा सिकाउँछिन् । अपाङ्गता भएका बालबालिकालाई आफैं फिजियोथेरापी गराउँछिन्, अनि उनीहरुको अभिभावकलाई पनि सिकाउँछिन् ।

किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रमको जिल्लास्तरीय सिकाइ आदानप्रदान कार्यशालामा उनले आफ्नो जीवनमा आएको परिवर्तनको बारेमा सुनाइन् । ‘बाल विवाहले पार्ने असरको बारेमा थाहा थिएन, सिक्यौं, महिनावारीको समयमा मन्दिरमा पूजा गर्न दिँदैनथे, घरमा खाना बनाउन रोक लगाइन्थ्यो, चिया समेत पिउन दिँदैनथे’, उनले भनिन्, ‘कार्यक्रमबाट विभिन्न किसिमको तालिम दिइन्थ्यो, मेरो जीवनमा मात्रै हैन, सामाजमा परिवर्तन आइसक्यो, महिनावारी हुँदा पनि पूजापाठ गर्छन्, बाल हिंसा, लैंगिक हिंसा, फिजियोथेरापी, व्यायाम लगायत थुप्रै कुरा सिकाएको छ ।’

दिब्य युवा क्लब, विरञ्चिवर्वाका अनुसार भीएएसओ नेपालको सहयोगमा सन् २०१८ देखि पर्साको जगरनाथपुर र धोबिनी गाउँपालिकामा इन्गेज परियोजना लागु भएको हो । गाउँपालिकामा विद्यालय बाहिर रहेका दलित, जनजाति सीमान्तकृत समुदायका बालबालिकाको पहिचान गर्दा ९ सय जना र शारीरिक अपाङ्गता भएका ४६ जना बालबालिका भेटिए । उनीहरु पनि शिक्षा पाउने अधिकारबाट बञ्चित थिए ।

०–१४ वर्षकालाई ‘सानी बहिनी’ र १५ देखि १९ वर्षकालाई ‘ठूृली दिदी’ भनेर छुट्याइयो । पहिला १ सय ३३ जना ठूली दिदीलाई सक्षम बनाइयो । उनीहरुलाई लैंगिकतामा आधारित हिंसाको बारेमा बुझाइयो, मेन्टोरिङ सीप सिकाइयो, आत्मविश्वास र हौसला बढाउन गाउँपालिका स्तरीय शिक्षा सञ्जालको बैठक र वक्तृत्वकला प्रतियोगिताहरुमा सहभागी गराइयो ।

सानी बहिनीहरुलाई ९ महिनाको ब्रिज कक्षा दिइयो । ठूली दिदीहरुले सानी बहिनीहरुलाई घरमै पढाउँथे । ४ सय १९ जनाले ब्रिज उत्तीर्ण गरे । उनीहरुमध्ये ३ सय ७४ जना जगरनाथपुर, धोविनी, कालिकामाई गाउँपालिका, पोखरिया नगरपालिका र वीरगञ्ज महानगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत छन् । उनीहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री परियोजनाले नै उपलब्ध गराउँदै आएको छ ।

नेरा मावि विजबनियामा अध्ययनरत सुस्मिता कुमारी नुनियाले पढाइलाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताइन् । ‘पढ्न जाने गरेको थिइनँ, आमालाई घरको काम सघाउँथे । शिक्षाको बारेमा थाहा थिएन । नचिनेको मान्छेसँग बोल्न लाज डर लाग्थ्यो’, उनले भनिन्, ‘कार्यक्रम आएपछि अभिभावकलाई सम्झाइयो, ९ महिनाको ब्रिज कोर्ष गर्यौं । पढाइ सँगसँगै विभिन्न तालिम कार्यक्रममा सहभागी भएर धेरै कुरा सिक्न पाएकी छु । मान्छेको अगाडि बोल्न सक्ने भएको छु ।’

विद्यालय टाढा भएकाले आउ–जाउ गर्न सहज होस् भनेर उनीहरुलाई ८ हजार रुपैयाँको साइकल पनि प्रदान गरिएको परियोजना संयोजक गणेश ठकुरीले जानकारी दिए । ‘विविध कारणले ब्रिज कक्षा उत्तीर्ण सबैलाई विद्यालय शिक्षामा ल्याउन सकेनौं’, उनले भने, ‘तर सानी बहिनीमध्ये ३ सय ७४ जना नियमित विद्यालय गइरहेका छन् । ठूली दिदीहरु पनि सीपमुलक तालिम लिएर आय आर्जनको काममा लागेका छन् । २० वर्ष उमेर पूरा भएका कतिपयको विवाह पनि भइसकेको छ ।’

१५ देखि १९ वर्ष उमेर समूहका किशोरी भने आयमूलक तालिममा सरिक भए । दुवै पालिकामा गरी किशोरी तथा अति अशक्त बालबालिकाका अभिभावक गरी २ सय ३९ जनाले सीप सिकेका छन् । ८२ जनाले सिलाइ, ३७ जनाले ब्युटिसियन, ४० जनाले बुटिक, ३२ जनाले बाख्रा पालन, १२ जनाले स–साना पसल, २१ जनाले चुरा बनाउने र ५ जनाले तरकारी खेती सम्बन्धी तालिम लिइसकेका छन् ।

तालिम लिएपछि कतिपय किशोरी र अभिभावक आय आर्जनको क्रियाकलापमा संलग्न रहेको दावी संस्थाले गरेको छ । महिनावारी हुँदा कपडा प्रयोग गर्दै आएका ७३५ जना किशोरीले सेनेटरी प्याड बनाउन सिकेका छन् । ३२ जना किशोरीलाई ६४ वटा बाख्रा वितरण र खोर निर्माणका लागि आर्थिक सहयोग गरिएको संस्थाले जानकारी दिएको छ ।

२२ जना बहिरा र दृष्टिविहीन बालबालिकाको शिक्षा र व्यक्तित्व विकासमा पनि संस्थाले सहयोग गर्दै आइरहेको छ । ९ जना दृष्टिविहीन बालबालिका वीरगञ्जको त्रिजुद्ध माविमा अध्ययनरत छन् । ७ जना सुनाइ सम्बन्धी अपाङ्गता भएका बालबालिका भिखमपुरस्थित विशेष विद्यालयमा अध्ययनरत छन् । उनीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्री र वक्तृत्वकला, चित्रकला जस्ता व्यक्तित्व विकासका तालिम कार्यक्रम पनि संस्थाले सञ्चालन गर्दै आएको छ । शारीरिक अपाङ्गता भएका १४ जना बालबालिकालाई सहायक सामाग्री वितरण गर्नुको साथै अति अशक्तता भएका बालबालिकालाई फिजियोथेरापी समेत गर्ने गरिएको दिव्य युवा क्लबका निर्देशक रामाकान्त पटेल बताउँछन् ।

सहयोग जारी राख्ने प्रतिबद्धता

संस्थाले कार्यक्रम मार्फत आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । त्यसका लागि उसले कार्ययोजना बनाएको छ । धोविनी र जगरनाथपुर गाउँपालिकाका ४८ वटा विद्यालयमा अपाङ्गता भएका बालबालिकाकाको तथ्यांक संकलन गर्ने र आवश्यक सहयोग सँगसँगै सहायक सामग्री वितरण गर्ने, विद्यालयमा समावेशी वातावरण तयारीको लागि पूर्वाधार मर्मत सम्भार गर्ने, विद्यालय र पालिकास्तरमा गठन भएको बालिका तथा समावेशी शिक्षा सञ्जाललाई निरन्तर परिचालन गर्ने, आयआर्जन कृयाकलापमा सहभागी भएका किशोरीहरुको व्यवसायलाई बढाउन सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने योजना छ ।

विद्यालयमा गठित गुनासो सुनवाइ समितिको सक्रिय, पालिकाको तथ्यांक व्यवस्थापनका लागि एमआईएस अपरेटरलाई तालिम तथा डाटा व्यवस्थापनमा सहयोग गर्ने, समुदाय स्तरमा स्थापना भएको १० वटा सिकाइ केन्द्र व्यवस्थापन गर्ने र विद्यालय भर्ना भएका किशोरीको शिक्षाका लागि आवश्यक सामग्री सहयोग गर्ने कार्यलाई निरन्तरता दिने योजना बनाइएको परियोजना संयोजक ठकुरीले बताए ।

वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले महानगरलाई साक्षर घोषणामा सहयोग गर्न आग्रह गरे । ‘पहिला महानगरमा ९२७ जना मात्रै निरक्षर  भनिएको थियो । पहिला साक्षर घोषणा गर्न ६ वटा इन्डिकेटर थियो, त्यसको आधारमा जुनसुकै बेला साक्षर घोषणा गर्न सकिन्थ्यो, अहिले क्याल्कुलेटर, मोबाइल चलाउन जान्नुपर्ने, म्यासेन्जरमा कुरा गर्न सक्नुपर्ने जस्ता प्रविधिसँग जोडिएको इन्डिकेटर थपिएको छ’, उनले भने, ‘वडा नं. १ मा मात्रै सर्वेक्षण गरेको ३ सय जना निरक्षर देखियो, संस्थाले साक्षर घोषणाका लागि पनि सहयोग गरे राम्रो हुन्थ्यो ।’

सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले अशिक्षाका कारण गाउँ समाजमा धेरै समस्या देखिएको अवस्थामा किशोरीलाई सक्षम बनाउन आवश्यक रहेको बताए । ‘अशिक्षाले गर्दा समाजमा धेरै विकृति देखिएको छ, किशोरी हिंसामा परेका छन्, आय आर्जनमा महिला कमजोर छन् । सशक्तीकरणका कार्यक्रमले महिलालाई सक्षम बनाउँछ’, उनले भने, ‘अन्य पालिकामा विद्यालय बाहिर बालबालिका छन्, यस्ता कार्यक्रमलाई अन्य पालिकाकामा पनि विस्तार गर्नुपर्छ । ’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?