+
+

प्रदेश अस्पतालको एमआरआई खरिदमा अनियमितता भएको आशंकामा लेखा समितिको छानबिन

यज्ञ खत्री यज्ञ खत्री
२०७९ असार १७ गते १७:०७

१७ असार, सुर्खेत । कर्णाली प्रदेश अस्पतालले एमआरआई खरिदमा अनियमितता भएको आशंका गर्दै प्रदेश सभाको सार्वजानिक लेखा समितिले छानबिन थालेको छ ।

सिभिल सर्भिस अस्पताल काठमाडौंले २२ करोडमा खरिद गरेको एमआरआई उपकरण प्रदेश अस्पतालले २९ करोडमा किन्न लागेको पाइएको भन्दै लेखा समितिले छानबिन थालेको हो ।

एउटै गुणस्तर र कम्पनीको एमआरआई उपकरण खरिदमा ७ करोड रुपैयाँ फरक परेपछि अनियमितता भएको हुन सक्ने समितिका अध्यक्ष करवीर शाहीले बताए ।

‘दुई सरकारी अस्पतालमा एउटै कम्पनीबाट खरिद गरिएका, एकै क्षमताका एमआरआई मेसिनमा ठुलो रकम फरक परेको पाइएको छ । हामीले अस्पतालसँग कागजनात मागेर प्राविधिक टिम सहित छानबिन थालेका छौं,’ अध्यक्ष शाहीले अनलाइनखबरसँग भने ।

उनका अनुसार सार्वजानिक लेखा समितिले उपकरण खरिदका सम्बन्धनमा जानकारी गराउन ३ दिनको समय दिएको थियो । निर्देशन अनुसार अस्पतालले शुक्रबार समितिलाई खरिद प्रक्रियाका आवश्यक कागजात उपलब्ध गराएको छ । ‘आज दिउँसो मात्रै हामीले कागजात प्राप्त गरेका छौं,’ शाही भने, ‘प्राविधिक टोली सहित छानबिन पनि सुरु गरेका छौं ।’

सामान एउटै, बेच्ने पनि एउटै, तर मूल्य ७ करोड फरक

कर्णाली प्रदेश अस्पताल सुर्खेत र सिभिल अस्पताल काठमाडौंंले खरिद गर्ने निर्णय गरेका एमआरआई मेसिन एउटै कम्पनी र एउटै क्षमताका हुन् ।

यी दुवै अस्पतालले थ्री टेस्ला क्षमता भएको एमआरआई खरिदका लागी बोलपत्र स्वीकृत गरि प्रक्रिया अगाडि बढाएका छन् । तर सिभिल अस्पताल भन्दा कर्णाली प्रदेश अस्पतालले खरिद गर्न लागेको उपकरणमा ७ करोड रुपैयाँ महँगो परेको छ । दुवैले ईष्ट वेस्ट कन्सर्न प्रालिमार्फत मेसिन खरिद गर्न लागेका हुन् ।

सिभिल अस्पतालले १७ लाख २२ हजार ९०० डलर अर्थात २२ करोड ७४ लाख २२ हजार ८०० नेपाली रुपैयाँमा खरिद गर्ने निर्णय गरेर प्रक्रिया अगाडि बढाइसकेको छ ।

प्रदेश अस्पतालले भने २९ करोड ७१ लाख ६६ हजार ७९२ रुपैयाँमा खरिद गर्न कन्सर्नलाई जिम्मा दिएको छ ।

दुवै अस्पतालले उपकरणका लागि तयार पारेको स्पेसिफिकेसनमा अधिकांश विवरणहरु समान छन् ।

दुवै अस्पतालले साना र ठूला गरी ३०० भन्दा बढी बुँदामा स्पेसिफिकेसन बनाएका छन् । सिभिलले २५ वटा मुख्य विषयमा र प्रादेशिक अस्पतालले ३० वटा मुख्य विषयमा बुँदागत रुपमा स्पेसिफिकेसन बनाएका छन् । जसमा अधिकांश बुँदाहरु एक अर्कामा मेल खान्छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?