
२० असार, काठमाडौं । भारतको ठूलो मध्येको एक विमान कम्पनी इण्डिगोका धेरै कर्मचारीले गत शनिबार एकै दिन विरामी बिदा लिए । जसको असर इण्डिगोको उडानमा पर्यो । त्यसदिन उसका ५५ प्रतिशत उडान ढिलो गरी भए ।
एकै दिन धेरै कर्मचारीले बिरामी बिदा लिए पनि उनीहरु खासमा बिरामी भएका थिएनन् । उनीहरु अधिकांश बिरामी बिदा लिएर एअर इण्डियामा जागिरका लागि अन्तर्वार्ता दिन गएको पाइएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।
एयर इण्डियालाई टाटाले टेकओभर गरेको छ र उसले सेवा विस्तारका लागि नयाँ कर्मचारी भर्ना गरिरहेको छ । शनिबार क्याबिन क्रुका रुपमा काम गर्ने कर्मचारी छनोटका लागि अन्तर्वार्ता तोकिएको थियो ।
कर्मचारी अभावमा इण्डिगोको उडानमा ढिलाइ भएको बारेमा डायरेक्टोरेट जनरल अफ सिभिल एभिएशन डीजीसीएमा उजुरी पनि परेको छ ।
इण्डिगोले आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी दैनिक १ हजार ६०० उडान गर्छ । शनिबार उसका ४५.२ प्रतिशत उडान मात्र समयमा भएका थिए । जबकी डीजीसीएले मासिक रुपमा निकाल्ने प्रतिवेदनका अनुसार इण्डिगोले ८० प्रतिशत उडान समयमा हुने गरेको थियो ।
प्रतिक्रिया 4