+
+

पार्टी जोगाउन असन्तुष्ट सांसदलाई मन्त्री

जसपामा उपेन्द्रलाई सहज, भट्टराईले बोलाए छुट्टै बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते २२:४६

२० असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरुलाई मन्त्री बनाएका छन् । यससँगै जसपामा अल्पमत बहुमतको खेलमा उनले बाजी मार्ने पक्का जस्तै भएको नेताहरु बताउँछन् ।

जसपामा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई केही महिनादेखि कार्यकारिणी समितिका अध्यक्ष यादवको कार्यशैलीप्रति असन्तुष्ट थिए । स्थानीय चुनावको पूर्वसंध्यामा भएको सहमति समेत अध्यक्ष यादवले पालना नगरेपछि भट्टराई पक्षले पार्टीमा बहुमत पु¥याउने कसरत तीव्र बनाएको थियो ।

उनलाई तत्कालीन राजपाबाट आएका महेन्द्र राय यादव, राजकिशोर यादव, अमृत अग्रहरीका साथै यादव समूहकै मो. इस्तियाक राई र प्रदीप यादवको समेत साथ थियो । यस्तै मृगेन्द्रकुमार सिंह लगायतका नेताहरु पनि अध्यक्ष यादवसँग असन्तुष्ट थिए, तर उनीहरु भट्टराईतिर भने खुलिसकेका थिएनन् ।

तर अध्यक्ष यादव, मन्त्री हेरफेर गर्न तयार भएपछि जसपाको आन्तरिक समिकरण फेरिएको छ । जसपामा ३४ सदस्यीय कार्यकारिणी समिति छ भने ५०७ सदस्यीय केन्द्रीय समिति । कतिपय केन्द्रीय सदस्यको मृत्यु भएको छ भने केहीले पार्टी छाडेका छन् । त्यसैले कसको बहुमत पुग्छ, अनुमान गर्न गाह्रो छ । यद्यपि कार्यकारिणी समितिको बहुमत जुटाउँदा केन्द्रीय कमिटीमा पनि बलियो हुने सम्भावना बढी रहन्छ । त्यसैले इस्तियाक राई र प्रदीप यादव लगायतले भट्टराई समूह छाड्नासाथ यादव पक्ष बलियो भएको छ ।

पार्टीमा आफ्नो बश्चर्य कायम गरेसँगै जसपा अध्यक्ष यादवले गत बुधबार भट्टराईसँग भेटे र पार्टीमा बस्न नचाहेको भए अलग हुनसक्ने सन्देश दिए । लगतै मन्त्री हेरफेरको अधिकार आफूमा लिए र केन्द्रीय समितिको बैठक २७–१८ मा बोलाए ।

उनले आइतबार साँझ असन्तुष्ट सांसदहरुलाई मन्त्री बनाउने निर्णय गरेर प्रधानमन्त्रीलाई नाम बुझाए । उनले कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधारमन्त्री रेणु यादव र वनमन्त्री रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएका छन् । यादवले संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठलाई भने फिर्ता बोलाएनन् ।

यस्तै राष्ट्रियसभा सदस्य सिंहलाई कृृषि, इस्तियाकलाई भौतिक पूर्वाधार र प्रदीपलाई वनमन्त्री सिफारिस गरेका छन् । भोलि दल विभाजनमा जाँदा बहुमत जुटाउनुपर्ने भएकाले पनि असन्तुष्टहरुलाई मन्त्री दिन यादव तयार भएको नेताहरु बताउँछन् ।

जबकी सुरुमा भट्टराईतिर लागेका महिन्द्र रायलाई मात्र फिर्ता बोलाउने तयारी थियो । पार्टीमा अल्पमत बहुमतको खेल हुन थालेपछि यादवले आफू निकट रेणु र रामसहायलाई मन्त्री छाड्न सहमत गराए र भट्टराईलाई छाडेर आफूहरुतिर आएकाहरुलाई मन्त्री बनाउने निर्णय लिए । जसपाका एक पदाधिकारी भन्छन्, ‘आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर असन्तुष्टहरुलाई पठाउने उपेन्द्रजीको चतुर कदम हो ।’

मन्त्री हेरफेर रोक्ने प्रयास असफल

कार्यकारिणी समितिका अध्यक्ष यादवले मन्त्रीहरुको नाम सिफारिस गरेको थाहा पाएपछि संघीय परिषद् अध्यक्ष भट्टराईले सोमबार विहान प्रधानमन्त्रीलाई फोन गरेर एकलौटी निर्णय भएकाले कार्यान्वयन नगर्न अग्रह गरेका थिए ।

भट्टराई निकट नेताहरुका अनुसार केही पहिला जसपामा विवाद हुँदा प्रधानमन्त्री शेरबहादुर देउवाले समेत चासो देखाएका थिए । त्यही कारण भट्टराईले फोन नै गरेर रोक्न आग्रह गरेका हुन् ।

तर प्रधानमन्त्री देउवाले भट्टराईको आग्रहलाई अस्वीकार गरेका छन् । जसपा अध्यक्ष यादवले दिएको सूची अनुसार मन्त्री हेरफेर गरे र, सोमबार अपरान्ह नयाँ मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

भट्टराई पक्षले बोलायो छुट्टै बैठक

यसैबीच भट्टराई पक्षले छुट्टै बैठक बोलाएको छ । आगामी २९ र ३० गते काठमाडौंमा विस्तारित बैठक बोलाइएको नेता गंगानारायण श्रेष्ठले जानकारी दिए । यो बैठकले जसपाको आधिकारिकता दाबी गर्ने वा नयाँ दल बनाउने भन्ने औपचारिक निर्णय गर्नेछ ।

यदि केन्द्रीय समिति र संसदीय दलको बहुमत पु¥याए आधिकारिता र ४० प्रतिशत पुर्याए नयाँ दलको मान्यता पाउँछ । यसरी विभाजनमा जाँदा दल रोजेकै कारण जनप्रतिनिधिहरुको पद समेत जोगिनेछ । तर ४० प्रतिशत पनि पुगेन भने नयाँ दलतिर लाग्नेहरुलाई संस्थापन पक्षले कारबाही गर्दा पद जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?