+
+

विश्वव्यापी अनुसन्धानकर्मीको नजरमा कोभिड-१९ : उत्पत्ति, फैलावट र परिणाम

कोभिड-१९ को असरबारे हजारौं वैज्ञानिक लेख प्रकाशन भए पनि विश्वव्यापी अनुसन्धानकर्मी विज्ञहरूको कोभिड-१९ प्रतिको अनुभव र धारणाबारे यो अनुसन्धान सम्भवतः आफैंमा नयाँ र नौलो हो ।

डा.प्रकाशकुमार पौडेल, डा. सुबोध अधिकारी डा.प्रकाशकुमार पौडेल, डा. सुबोध अधिकारी
२०७९ असार २६ गते १८:०५

नेपाली वैज्ञानिकहरूको नेतृत्वमा १३१ देशका ३ हजार ७८९ जना अनुसन्धानकर्मीसँग गरिएको सर्वेक्षण अनुसार अनुसन्धानकर्ताहरूले कोभिड-१९ संकटको कारण र रोकथामबारे विविध विचार व्यक्त गरे पनि, अबको दिनमा स्वास्थ्यमा न्यायोचित र समानतापूर्ण पहुँच र वैज्ञानिक अनुसन्धानमा आधारित नीति-निर्माण हुनुपर्नेमा मतैक्य देखियो ।

कोभिड-१९ को असरबारे हजारौं वैज्ञानिक लेख प्रकाशन भए पनि विश्वव्यापी अनुसन्धान विज्ञहरूको कोभिड-१९ प्रतिको अनुभव र धारणाबारे यो अध्ययन सम्भवतः पहिलो हो । विभिन्न १२ देशका २२ जना अनुसन्धानकर्ता मिली गरेको यो विश्वव्यापी अनुसन्धान आफैंमा नयाँ र नौलो हो ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (सार्स कोभिड-२, कोभिड-१९) ले अकल्पनीय परिस्थिति ल्यायो । हठात् मानिस घरमै बस्नुपर्‍यो । विश्वका प्रायः सबै मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष असर पार्नुका साथै अहिलेसम्म आधा अर्बभन्दा धेरैलाई रोग लागेको प्रमाणित भएको छ र ६० लाख बढी मानिसको मृत्यु भएको अनुमान छ । यसले मुख्यतः गरीब र सीमान्तकृत समुदायलाई अत्यन्त गहिरो र नकारात्मक प्रभाव पारेको छ ।

उद्योग र व्यवसाय बन्द हुँदा अर्बौं मानिसलाई जीविकोपार्जन गर्न पनि कठिन भयो र करोडौं गरिबीको दुष्चक्रमा परे । धनी र सम्पन्न देशहरूले केही राहत दिन सके पनि, कोभिड-१९ को संकटको पराक्रम विश्वभरि नै अझ धेरै समयसम्म देखिनेछ । विज्ञान र प्रविधिमा मानिसले गरेको प्रगतिको बाबजुद मानव सभ्यतामा विरलै हुने यस्ता महासंकटले हाम्रो सीमितता मात्र देखाएको छैन, हामी संकटपूर्ण छौं र त्यसैले प्रकृतिका नियमको पूर्ण पालना गर्दै नयाँ ढंगले अघि बढ्नुपर्छ भन्ने पाठ सिकाएको छ ।

यसले कोभिड-१९ महासंकट हाम्रा सामाजिक, आर्थिक र राजनीतिक व्यवस्थासँग निरपेक्ष छैन र यस सम्बन्धित बहस व्यापक र विश्वव्यापी हुन आवश्यक छ भन्ने समेत देखाएको छ ।

भनिन्छ विविधतामा सुन्दरता हुन्छ । विश्वव्यापी रूपमा हेर्ने हो भने मानव समाज, संस्कृति, भेषभुषा, भाषा र चालचलनको विविधताले अलौकिक बनाएको छ । यसैगरी विचारको विविधताले जीवन्त बनाएको छ । तथापि कोभिड-१९ जस्ता महासंकटलाई हेर्ने मामलामा विचारको विविधतासँगै समाधानको लागि एकरूपताको आवश्यक हुन्छ ।

यस सन्दर्भमा हामी १२ देशका २२ जना अनुसन्धानकर्ता मिली विश्वभरका हामी जस्तै अरू विविध क्षेत्रका अनुसन्धानकर्मीहरूले कोभिड-१९ जस्ता महासंकटलाई कसरी बुझेका र भोगेका छन् भन्ने अनुसन्धान पत्र भर्खरै मात्र विश्व प्रतिष्ठित नेचर प्रकाशनको हृयुमानिटिज् एण्ड सोसियल साइन्स कम्युनिकेशन्स जर्नलमा प्रकाशित भएको छ ।

विभिन्न १३१ देशका ३ हजार ७८९ जना अनुसन्धानक विज्ञहरूसँग गरिएको सर्वेक्षण अनुसार कोभिड-१९ संकटको कारण, रोकथाम र कोभिड-१९ पछिको संसारको भविष्यका बारेमा मुख्यतः तीन प्रकारका विचार समूह देखियो । पहिलो विचार समूहले कोभिड-१९ लाई सार्वजनिक स्वास्थ्यको परिदृश्यमा हेर्छ ।

यस्ता महामारीबाट बच्न र भविष्यमा हुन नदिन जनस्वास्थ्य विज्ञको सल्लाह र वैज्ञानिक अनुसन्धानका आधारमा सार्वजनिक स्वास्थ्य संस्थाहरूमा प्रशस्त लगानी गर्न सल्लाह दिन्छ । आर्थिक सहयोग र स्वास्थ्य सेवाको वृद्धि गरी सार्वजनिक स्वास्थ्य सेवालाई सबलीकरण गर्ने कुरामा मत राख्छ ।

दोस्रो विचार समूहले वैज्ञानिक तथ्यमा आधारित सार्वजनिक नीति नियमहरू बनाउँदै स्वास्थ्य सुविधा र सरसफाईमा ध्यान दिन जोड दिन्छ । जनतालाई लक्षित आर्थिक विकास र वन्यजन्तु व्यापारको पूर्ण रोकथाम हुनुपर्नेमा मत जाहेर गर्छ । आर्थिक र प्राकृतिक अवयवलाई ध्यान दिंदै विज्ञानमा आधारित नीतिनिर्माण हुनुपर्ने मत यो समूहले जाहेर गरेको छ ।

तेस्रो विचार समूहले कोभिड-१९ संकट र भविष्यमा हुनसक्ने कुनै पनि महामारी हुनै नदिने पक्षमा मत राख्यो । यो समूहले तिनका विरुद्ध लड्ने क्षमता वृद्धिका लागि पूर्ण रूपमा पर्यावरणीय चक्र (इकोसिस्टम) सम्बन्धित विषयलाई ध्यान दिनुपर्नेमा मत व्यक्त गरे ।

यो विचार समूहले कोभिड-१९ संकट हुनुको मुख्य कारण विकासको नाउँमा वन्यजन्तुको वासस्थान नष्ट गर्ने, चोरी शिकारी र तस्करी गर्ने गर्दा मानव जाति र अन्य वन्यजन्तुबीच बढी घुलमिल हुने र कोरोनाभाइरस जस्ता खतरनाक कीटाणुको फैलावट बढ्ने हुँदा यस्ता कुरामा बेलैमा सचेत हुनुपर्नेमा मत जाहेर गरे ।

कोभिड-१९ को असरबारे हजारौं वैज्ञानिक लेखहरू प्रकाशन भए पनि विश्वव्यापी अनुसन्धानकर्मी विज्ञहरूको कोभिड-१९ प्रतिको अनुभव र धारणाबारे यो अनुसन्धान सम्भवतः आफैंमा नयाँ र नौलो हो । १३१ देशका ३ हजार ७८९ जना अनुसन्धानकर्ताले भाग लिएको यो सर्वेक्षणमा ६८ प्रतिशत पुरुष र ३२ प्रतिशत महिला सहभागी भएका थिए भने तिनीहरूले आफ्नो पेशामा काम गरेको अवधि हेर्दा ० देखि ५० वर्ष थियो । त्यस्तै धेरैजसो (६६ प्रतिशत) अनुसन्धानकर्मीहरूको पीएचडीसम्मको अध्ययन थियो र तिनीहरू प्रायःजसो (७४ प्रतिशत) पूर्णकालीन जागिरे थिए ।

मुख्यतः प्रतिष्ठित वैज्ञनिक जर्लनमा अनुसन्धान लेख प्रकाशन गरेका अनुसन्धानकर्तामा लक्षित गरिएको यस अनुसन्धान लेखमा कोभिड-१९ को उद्भव, फैलावट, न्यूनीकरण र भविष्यमा यस्ता महामारी रोक्न गर्नुपर्ने बारे विविध दृष्टिकोणबाट ३० वटा प्रश्न सोधिएको थियो । यद्यपि सहभागीको राय उनीहरूको सामाजिक, आर्थिक र जनसांख्यिकीय सूचकहरू फरक-फरक थिए । कोभिड-१९ सँग कसरी लड्ने भन्ने प्रश्नको उत्तरमा अधिकांश सहभागीले प्रभावित समुदायलाई आर्थिक सहयोगको वृद्धि गर्ने, स्वास्थ्य संस्थाहरूमा लगानी बढाउँदै सुविधासम्पन्न बनाउने र वैज्ञानिकको सल्लाह लिने विषयमा धेरै सहमति जनाए ।

सरकार र जनस्वास्थ्य केन्द्रहरूको कमसल तयारीले कोभिड-१९ को संकट बढेको भन्ने रायमा पनि धेरैको सहमति रहृयो । तथापि सर्वेक्षणका सहभागी ‘वन्यजन्तुहरूको व्यापार र खपत नै कोभिड-१९ को मुख्य कारण हो’ भन्नेमा भने सहमत हुन सकेनन् ।

निष्कर्ष

अन्त्यमा, हुन त हामीले विश्वव्यापी सर्वेक्षणको आधारमा यो लेख तयार पारेको भए पनि हाम्रो अनुसन्धानले कोभिड-१९ जस्ता भविष्यमा हुने महामारीको रोकथामको लागि नेपाल जस्ता देशहरूले के गर्नुपर्छ भन्ने सुझावहरू पनि प्रस्तुत गरेको छ । वातावरणीय विनाशले जनावरजन्य (जुनोटिक) रोगहरूको उत्पत्ति र प्रसारणमा सहयोग गर्छ ।

हाम्रै जीवनकालमा भोगिएको कोभिड-१९ जस्तो डरलाग्दो रोगबाट पाठ सिकी यसलाई अवसरका रूपमा लिंदै भविष्यमा हुनसक्ने कुनै अरू रोगबाट बच्नलाई चालिनुपर्ने कदमहरूको तयारी गरिनु जरूरी छ ।

हाम्रो अनुसन्धानमा सहभागी विश्वभरका अनुसन्धानकर्मी विज्ञहरू भाषा, धर्म, शिक्षा, जाति, वर्ण, लिंग, आर्थिक, सामाजिक सबै हिसाबले भिन्न छन् । तथापि उनीहरू वैज्ञानिक तथ्यमा आधारित नीतिनियम बनाउने, स्वास्थ्य समानता र सामाजिक न्याय कायम गर्ने र सार्वजनिक स्वास्थ्यलाई सबलीकरण गर्ने कुरामा सहमत छन् । हाम्रो अनुसन्धानले सरकारी र सार्वजनिक स्वास्थ्य निकायका कमजोर संयन्त्र र तयारी तथा स्वास्थ्य, सामाजिक र आर्थिक असमानताको उजागर गरेको छ ।

अनुसन्धानका लागि आवश्यक आधुनिक प्रविधिका लागि अन्य विकसित देशसँग सहकार्य गर्दै यो र यस्ता अन्य समाजशास्त्रीय र वैज्ञानिक अनुसन्धानलाई आधार मानेर सामाजिक, आर्थिक र पारिस्थितिक नीतिनियम बनाउने र पालना गर्ने-गराउनेतर्फ राजनीतिक दल, नेपाल सरकारका स्वास्थ्य निकाय र अन्य सम्बन्धित संघसंस्थाको ध्यान जान जरूरी छ ।

(डा. पौडेल काठमाडौं इन्स्टिच्युट अफ अप्लाइड साइन्सका कार्यकारी निर्देशक र यस अनुसन्धानको प्रमुख अनुसन्धानकर्ता, डा. अधिकारी संयुक्त राज्य अमेरिकाको आइडाहो विश्वविद्यालयमा पोस्टडक्टरल अनुसन्धानकर्ता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?