२१ असार, काठमाडौं । २५ वर्षीय फरवार्ड गाब्रियल जेससलाई यस समरमा धेरै क्लबले चासो देखाएका खेलाडी थिए । उनली इंग्ल्याण्डका मात्र हैन युरोपकै अन्य क्लबको पनि राडारमा परेका थिए ।
च्याम्पियन टिम म्यानचेष्टर सिटीमा साढे पाँच वर्ष बिताएका जेसस अन्तत लण्डन क्लब आर्सनल पुगेका छन् । त्यसका लागि आर्सनलले ४ करोड ५० लाख पाउण्ड खर्चिएको छ ।
आर्सनलका लागि जेससको आगमनले धेरै राहत मिलेको छ । विशेषगरी अग्रपंतिका खेलाडीहरु पिएरेम एमरिक ओबामेयाङ र अलेक्जेन्डर लाकाजेटले छाडेपछिको स्थानमा जेसस आइपुगेका छन् ।
‘मै धेरै नै उत्साहित छु, क्लबले उच्च क्षमताका खेलाडीलाई अनुबन्ध गरेर गज्जबको काम गरेको छ,’ आर्सनलका म्यानेजर मिकेल आर्टेटाले भने, ‘म व्यक्तिगत रुपमा पनि गाब्रियललाई चिन्छु, र हामी सबैलाई थाहा छ उनी प्रिमियर लिगमा सुरुदेखि नै सफल रहेका छन् ।’
६ वर्षयता च्याम्पियन्स लिगमा छनोट हुन नसकेको आर्सनलाई जेससले अब च्याम्पियन्स लिगमा पुर्याउलान कि भन्ने आशा समर्थकमा छ ।
आर्सनलमा जेससले के गर्लान् ?
इत्तेहाद स्टेडियममा हुँदा जेसस कहिले पनि मुख्य गोलकर्ताको रुपमा रहेनन् । यद्यपी उनले २३६ खेलमा ९५ गोल गरे । जुन त्यति नराम्रो पनि होइन । पेप ग्वार्डिओलाको टिमका लागि उनले चार प्रिमियर लिगसँगै तीन लिग कप र एकपटक एफए कप पनि जिते । त्यसैले पनि आर्सनलका समर्थकको आशा उनीमाथि कति छ भनेर थाहा पाउन सकिन्छ ।
अर्टेटाको युवा आर्सनल टिमले गत सिजन पनि धेरै सम्भावना देखाएको थियो । तर उनीहरुले गोल गर्न नै सकेनन् । पाँचौं स्थानमा रहेर लिग सकाएको आर्सनलले जम्मा ६१ गोल गर्यो । जुन आठौं स्थानमा रहेको लिसेस्टर सिटीले गरेको भन्दा १ गोल कम हो । आर्सनलका लागि २० वर्षीय बुकाया साकाले सर्वाधिक १२ गोल गरे । अर्का २१ वर्षीय युवा एमिल स्मिथ रोवले ११ गोल गरे ।
जेससलाई नियमित खेल्ने समय दिएमा उनले आर्सनलले चाहेको थप गोलहरु गर्न सक्छन् । उनले प्रिमियर लिगमा सुरु गरेको खेलमा ४२ प्रतिशतसम्म गोल गरेका छन् । जुन प्रिमियर लिगको इतिहासमा ५० खेल सुरु गर्नेमा १३ औं राम्रोमा पर्छ ।
जेससले म्यानचेष्टर सिटीमा गोल गर्ने बाहेक पनि अरु काम गर्थे । उनले अग्रपंतिमा विभिन्न भूमिकामा खेल्ने सक्थे र ग्वार्डिओलाको मुख्य पात्र थिए ।

उनलाई प्रायः प्रिमियर लिग च्याम्पियनको सबैभन्दा ठूलो खेलहरूको लागि खेलाइएको थियो र तिनीहरूका लागि मुख्य खेलाडी समेत बनेका थिए । उनले सिटीका लागि खेलेका १२१ शीर्ष डिभिजनका खेलमध्ये १९ मात्र हारेका छन् । जितको दर ७६ प्रतिशत छ ।
जेससले २०२१-२२ मा सिटीका लागि लिगमा ८ गोल गरे । जुन केभिन डे ब्रुयनसँगै सर्वाधिक गोल थियो । यस्तै २९ गोलका लागि असिस्ट गरेका थिए भने १५१ अवसर सिर्जना गरेका थिए ।
मुख्य खेलाडी बन्ने समय
जेससले सिटीमा अधिकांश समय सर्जियो अगुयरोको छायामा रहेर खेले । नयाँ सिजनअघि एर्लिङ हलान्ड र जुलियन अल्भारेजको आगमनपछि जेससले सिटीमा बसे पनि सम्भवत थोरै खेल मात्र खेल्न पाउने थिए ।
तर अब आर्सनल पुगेका ब्राजिलियन युवा फरवार्डलाई मुख्य खेलाडी बन्ने मैदान उपलब्ध छ ।
ओबामेयाङ गत फेब्रुअरीमा बार्सिलोना र लाकाजेट लियोन गएपछि आर्सनलको फरवार्ड लाइनमा अनुभवको कमी छ । २३ वर्षीय एडी एनकेटिए नै आर्सनलको मुख्य स्ट्राइकरको अर्को विकल्प हुन् ।
‘म एकदमै उत्साहित छु । मलाई लाग्छ गाब्रियल जेसस विश्व स्तरीय खेलाडी हुन् । यद्यपी उनको क्षमता अनुसार उनलाई प्रयोग गरिएको छैन’, आर्सनलमा पूर्व स्ट्राइकर केभिन क्याम्पबेलले बीबीसी रेडियो फाइभ लाइभको फुटबल डेली पोडकास्टमा भनेका छन् ।
‘राम्रो कुरा भनेको जब ठूला खेलहरू आउँछन्, उनले खेले, सुरु गरे र धेरै जसोमा उनले सहयोग गरे वा गोल गरे । अर्टेटाले उनीसँग काम गरेका छन् । अर्टेलालाई थाहा छ ऊ कस्तो प्रकारको खेलाडी हो भनेर । हलान्ड सिटीको मुख्य खेलाडी बन्नेछन् । त्यसैले यो समय जेससका लागि अन्तै मुख्य खेलाडी बन्ने बेला हो ।’
जेससले आर्सनलका लागि २० गोल गर्न सक्लान् ?
आर्सनलका अर्का उत्कृष्ट खेलाडी रे पार्लरले टकस्पोर्टसँग जेससको अनुबन्धलाई उत्कृष्ट अनुबन्ध भनेका छन् । जसले क्लबलाई शीर्ष चारमा पुर्याउन सक्ने उनको विश्वास छ ।
‘यदी तपाईँ नम्बर हेर्नुहुन्छ भने जेसस लाकाजेट जस्तै देखिन्छ,’ टोटनह्यामका तथा आयरल्याण्डका डिफेण्डर स्टेफेन केलीले बीबीसी रेडियो फाइभ फुटबल डेली पोडकास्टसँग भने, ‘र उनी विश्वकै सिर्जनात्मक मध्ये एक टिममा खेल्दैछन् ।’
तर उनले एक सिजनमा २० गोल गर्नेमा भने केलीले पनि प्रश्न गरेका छन् । ‘के उनले आर्सनलमा यस सिजन २० गोल गर्न सक्लान् ?’ उनले भने, ‘उनीहरु त्यसको खोजीमा छन् । तर मलाई लाग्दैन कि ती लक्ष्यहरु प्राप्त हुन्छन् ।’

क्रोनिकल्स अफ गनर पोडकास्टसँगको कुराकानीमा ह्यारी सेमेउले आर्सनलले चार खेलाडी अनुबन्ध गरेर राम्रो गरेको बताएका छन् । आर्सनलले यस सिजन जेसससँगै फरवार्ड मारक्विन्होस्, गोलकिपर म्याट टर्नर र मिडफिल्डर फाबियो भियरालाई अनुबन्ध गरेको छ । सेमेउले जेससले आर्सनलमा सफल हुनका लागि धेरै गोल गर्न नपर्ने बताए । ‘जेसस टिममा फिट हुनेछन् । हामीलाई सेन्टर फरवार्ड चाहिएको थियो । मेरो विचारमा आर्सनल अहिले जहाँ छ र जे चाहिएको छ त्यसका लागि उपलब्ध भएकामध्ये यो राम्रो विकल्प हो’, उनले भने ।
उनले जेससले २५ गोल गर्न आर्सनल नआएको र आर्सनलले त्यो नखोजेको पनि बताए । आर्सनलले ‘डबल फिगर’मा गोल गर्न सक्ने र अट्याकमा राम्रो प्रदर्शनलाई निरन्ता दिन सक्ने खेलाडी खोजेको हो ।
 
                    










 २०७९ असार  २१ गते १३:५४
                        २०७९ असार  २१ गते १३:५४                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4