+
+

पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान्छुः पर्यटनमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १६:०३

२२ असार, काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रीपरिषद्मा लैजाने बताएका छन् ।

बुधवार मन्त्रालयमा आयोजित पोखरा पर्यटन बसपार्क महानगरपालिकालाई हस्तान्तरण गर्दै मन्त्री श्रष्ठले यस्तो बताएका हुन् ।

पोखरा महानगरपालिकाले यसअघि नै पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने निर्णय गरिसकेको छ । सोही निर्णयलाई नेपाल सरकारबाट पारित गर्न संघीय पर्यटन मन्त्रालयमा बुझाएको थियो । जसमा पर्यटमन्त्री श्रेष्ठले पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने प्रस्ताव प्रक्रिया तत्काल थाल्ने बताए ।

मन्त्री श्रेष्ठले पोखरा पर्यटकको लागि एक गन्तव्य भएको भन्दै पोखरालाई व्यवस्थित र आकर्षण बनाउन आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘पोखरा पर्यटकको लागि एउटा गन्तव्यस्थल हो । धेरै पर्यटक जाने ठाउँ पनि हो । पोखरा महानगरलाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गर्नुभएको छ । त्यो घोषणाको लागि सरकारलाई माग गर्दै पत्र दिनुभएको छ । यो निकै महत्वपूर्ण विषय हो । नेपालको लागि नयाँ खालको विषय हो । यसलाई मन्त्रालयले सकारात्मक
रुपमा लिएको छ । यो प्रक्रियालाई अगाडि बढाउँछौं । मन्त्रीपरिषद्मा निर्णयको लागि प्रस्ताव लानेछौं ।’

त्यस्तै,पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकहरुको राजधानी बनाउनको लागि व्यवस्थित बनाउने काम तीब्र रुपमा अगाडि बढाउने बताए ।

उनले पर्यटक आउने पर्यटन बसपार्क अव्यवस्थित भएकाले अब पर्यटन बसपार्क व्यवस्थित बनाउने बताए । मेयर आचार्यले १८ रोपनी क्षेत्रफलमा फैलिएको पर्यटन बसपार्क करिव ८ करोडको लगानीमा निर्माण सम्पन्न भएर आजबाट त्यसको जिम्मेवारी महानगरलाई आएको बताए ।

उनले भने, ‘पोखरामा लेकसाइडको नजिकै १८ रोपनी क्षेत्रफलमा पर्यटनहरु लिएर आउने बसहरुलाई पार्किङ गर्न पर्यटन बसपार्क बनाएका छौं । पार्किङ स्थान हिलो,धुलो रहेको थियो । त्यसलाई पर्यटन विभागले करिव ८ करोडको बजेटमा बसपार्क निर्माण सम्पन्न गरेर शौचालय,पसल स्टलहरु सहितको आधुनिक पर्यटन बसपार्क निर्माण भएको छ । त्यो आयोजना पर्यटन विभागमार्फत पोखरा महानगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ । त्यसलाई व्यवस्थित तरिकाले अगाडि बढाउँछौं । पोखराको समग्र पर्यटन विकासका लागि यो ठूलो सहयागी बन्नेछ ।’

मेयर आचार्यले पर्यटन बसपार्क निर्माणले पोखराको समग्र पर्यटन विकासका लागि ठूलो योगदान पुर्‍याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?