+
+

दैलेखमा पेट्रोलियम अन्वेषणको बाँकी काम सक्न चिनियाँ टोली नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १९:२२
फाइल तस्वीर

२२ असार, काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम थाल्ने तयारी भएको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थानहरु छनोट गर्न एक चिनियाँ प्राविधिक टोली नेपाल आएको छ ।

कोरोना भाइरस (कोभिड-१९) महामहारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक नेपाल आउन सकेका थिएनन् । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटा ड्रिलिङको काम अघि बढाउने स्थानहरुको पहिचान गर्न चीनको प्राविधिक टोली दैलेख पुगेको बताउँछन् । विभागको पेट्रोलियम अन्वेशषण शाखाका प्राविधिक पनि दैलेखमा छन् ।

१९ चैत २०७७ मा चिनियाँ प्राविधिक तथा विज्ञ टोली आउने तय भएको थियो । तर, कोरोना महामारीका कारण चिनियाँ टोली नेपाल फर्किन सकेन । अब चिनियाँ टोली आएर गर्ने अन्तिम चरणको अन्वेषणपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यवसायिक उत्खनन सम्भावनाको टुंगो लाग्ने हो ।

अन्तिम चरणमा हुने ड्रिलिङलगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा त्यसको प्राविधिक पक्षको पनि व्याख्या गर्नेछ ।

पहिलो चरणमा साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएपछि २०७६ फागुनमा चिनियाँ प्राविधिक टोली स्वदेश फर्किएको थियो । पहिलो चरणको सर्वेक्षणमा अन्वेषण भएको क्षेत्रमा पेट्रोलियम खानी हुनसक्ने सम्भावना देखिएपछि ‘ड्रिलिङ’सहितको काम गर्न चिनियाँ टोली नेपाल आउनुपर्ने थियो ।

अन्वेषणस्थलमा ड्रिलिङका लागि ३५ मिटरसम्म लामो फलामे पाइप (रेग) लैजानुपर्ने छ । तर, सडक साँघुरो र घुम्तीहरु सानो भएकाले अन्वेषणको काम चुनौतीपूर्ण छ । त्यस्ता उपकारण लिएर चिनियाँ टोली नै नेपाल आउनेछन् ।

यसअघि दैलेखको नाभिस्थान, श्रीस्थान, पादुकालगायतका क्षेत्रलाई आधार मानेर ४०० वर्ग किलोमिटर क्षेत्रलाई समेट्ने गरी साइस्मिक सर्वेक्षण गरिएको थियो । पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणमा म्याग्नेटोटेल्युरिक जिओलोजिकल सर्वेक्षण तथा जियोक्यामिकल स्याम्पलिङ सर्वेक्षणमा सकारात्मक नतिजा आएपछि अर्को चरणको सर्भे अघि बढाउने तय भएको हो ।

जमिनमुनि चार किलोमिटरसम्म छेडेर अन्तिम चरणको सर्वेक्षणको काम गरिनेछ । दैलेखको भैरवी गाउँपालिका, दुल्लु नगरपालिकाका, डुङ्गेश्वर गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिकाका र नारायण नगरपालिकाको केही क्षेत्रलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषणको काम टुंग्याइनेछ ।

०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । २०७५ गत माघमा नै चीनलाई नेपालका दुईवटा क्षेत्रमा पेट्रोलियम तथा ग्याँस खानीबारे विस्तृत अन्वेषण गर्न दिने सम्बन्धी परियोजना स्वीकृत गरेको थियो ।

उक्त सहमतिअनुसार २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो ।

यो समझदारीलाई कार्यान्वयन गर्न चीन र नेपालले संयुक्त रुपमा कार्ययोजना बनाएका छन् । पहिलो चरण (१० महिना) मा चीनको विज्ञ टोलीले दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचानको काम गर्ने समझदारी भएको थियो ।

योजनाअनुसार दोस्रो चरण (११ देखि २८ महिना) मा दैलेख क्षेत्रमा ड्रिलिङ कार्य सम्पन्न गरिनेछ । तेस्रो चरणमा (२९ देखि ३६ महिना) मा नेपालमा समग्र पेट्रोलियम भौगर्भिक अवस्थाबारे अध्ययन भई सर्भे प्रतिवेदन प्राप्त हुने भनिएको थियो ।

तर, कोरोनाको महामारीका कारण परियोजनाको काम दुई वर्षदेखि रोकिएको छ । २०७६ कात्तिकमा तत्कालीन उद्योगमन्त्री मात्रिका यादवले दैलेखको नाभिस्थानबाट पेट्रोलियम पदार्थ अन्वेषणको कार्यको उद्घाटन गरेका थिए ।

अन्वेषणमा लाग्ने सबै खर्च चिनियाँ पक्षले नै व्यहोरिरहेको छ । दैलेखमा अन्वेषण सफल भएमा पाल्पामा पनि चीनको सहयोगमा अन्वेषणको काम सुरु हुने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?