+
+

साउनभित्र प्रहरी समायोजन गर्न संघलाई प्रदेशको अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १६:२५

२३ असार, जनकपुरधाम । ६ वटा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुले साउन भित्र प्रहरी समायोजन गर्न संघीय सरकारलाई अल्टिमेटम दिएका छन् ।

जनकपुरधाममा भएको मन्त्रीहरुको भेलाले ७ बुँदे घोषणा पत्र जारी गर्दै साउन मसान्तभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेका छन् । प्रहरी समायोजन ऐन र प्रहरी समन्वय सम्बन्धी ऐनलाई आधार लिई प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न उनीहरुले भनेका हुन् ।

प्रदेशभित्रका जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश मातहत ल्याउनु पर्नेमा जोड दिँदै उनीहरुले संघीय सरकारलाई यसतर्फ अग्रसर हुन आग्रह गरेका छन् ।

प्रदेशभित्रका सबै सरकारी वकिल कार्यालयला२ प्रदेशको मुख्य न्यायाधिवक्ता मातहत ल्याई अभियोजन सम्बन्धी अधिकार मुख्य न्यायाधिवक्तालाई हस्तान्तरण गर्नु पर्नेमा पनि प्रदेशका आन्तरिक मामिला मन्त्रीको माग छ ।

उपत्यकाकाको सुरक्षाको जिम्म प्रदेशलाई दिनु पर्नेमा जोड

काठमाडौं उपत्यकाका तीन जिल्लाको शान्ति सुरक्षाको जिम्मा पनि प्रदेश प्रहरीलाई दिन उनीहरुले माग गरेका छन् ।

विपद व्यवस्थापन तथा भूमि व्यवस्थापन सम्बन्धी पूर्ण अधिकार प्रदेशलाई हुनुपर्ने, वन ऐन तथा नियमावलीमा भएको प्रदेशको क्षेत्राधिकारमा हस्तक्षेप हुने गरी भएका प्रावधान यथाशीघ्र खारेज हुनुपर्ने र प्रदेश निजामति सेवा अनुसार प्रदेशको प्रमुख सचिव तथा सचिवहरु प्रदेशको आफ्नै नियमावली अनुसार ल्याउनुपर्ने माग घोषणा पत्र मार्फत् मन्त्रीहरुले गरेका छन् ।

यी घोषणा पत्रमा उल्लेखित प्रादेशिक अधिकारहरु सुनिश्चित गराउन समन्वय, सहकार्य तथा संघर्ष गर्न प्रतिबद्ध रहेको मन्त्रीहरुले बताएका छन् ।

भेलामा प्रदेश १ का मन्त्री केदार कार्की, मधेश प्रदेशका भरत साह, बागमतीका कृष्ण प्रसाद शर्मा खनाल, गण्डकीका डोबाटे विश्वकर्मा, लुम्बिनीका तिलकराम शर्मा र सुदुर पश्चिमका डा. रणबहादुर रावल भेलामा सहभागी भएका थिए । कर्णालीका मन्त्री भने सहभागी हुन सकेनन् ।

उनीहरुले संविधानले व्यवस्था गरेको तीन तहको सरकार अन्तर्गत प्रदेश सभाको निर्वाचन भई प्रदेश सरकार गठन भएको ५ वर्ष पुग्न लागेको अवस्थामा पनि संघीयताका आधारभूत संरचनाहरु क्रियाशील हुन नसकेको बताएका थिए ।

घोषणा पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?