+
+

सञ्चालमा आयो बुटवल–लुम्बिनी प्रसारणलाइन, भैरहवा क्षेत्रमा आपूर्ति सुधार हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते २०:१३

२३ असार, काठमाडौं । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएको छ ।

नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारणलाइनमा बुधबारबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ । प्रसारण लाइनको निर्माणसँगै करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ ।

मैनहियामा १३२/३३/११ केभीको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसनमा ४५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहनेछन् ।
प्रसारणलाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने र उद्योगहरुलाई मागेजति विद्युत् दिन सकिने आयोजनाका प्रमुख हरीप्रसाद पाण्डेले बताए ।

स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने छ । त्यसमध्ये ४ वटा फिडरको लाइन तानिएको पाण्डेले उल्लेख गरे ।

१८ किलोमिटर प्रसारणलाइनमा ५७ वटा टावरको निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारणलाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ । प्रसारणलाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/०७१ मा सुरु भएको थियो । रुट परिवर्तन, कोभिड–१९ को महामारीलगायतका कारणले आयोजनाको निर्माणमा केही ढिला भएको थियो ।

मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारणलाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारणलाइनको निर्माण अन्तिम चरणमा छ । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोमा मैनहिया–सम्पत्तिया बन्नेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युतव्यापारलाई अझ सहज बन्ने छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?