+
+

जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने व्यक्ति को हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १९:०५

२३ असार, काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे शुक्रबार विहान ११ ः ३० बजे देशको पश्चिमी क्षेत्र नारामा एक चुनावी सभालाई सम्बोधन गरिरहेका थिए ।

त्यही बेला उनलाई पछाडिबाट एक व्यक्तिले गोली हाने । गोली लागेपछि उनलाई हृदयघात भयो र, अस्पतालमा उपचारकै क्रममा उनको निधन भयो ।

गोली लागे लगत्तै उनलाई उपचारका लागि हेलिकप्टरबाट अस्पताल लगिएको थियो ।

को हुन् आक्रमणकारी ?

गोली हान्ने ४१ वर्षका संदिग्धलाई प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको छ । जापानको सरकारी प्रसारक एनएचकेका अनुसार संदिग्ध आक्रमणकारी, पूर्व प्रधानमन्त्री आबेसँग निराश थिए र हत्या गर्ने उद्देश्यले नै गोली चलाएका थिए ।

एनएचकेका अनुसार आक्रमणकारीको पहिचान ४१ वर्षका तेत्सुया यामागामीका रुपमा भएको छ ।

आक्रमणकारी खैरो टी–शर्ट र ट्राउजरमा थिए । रक्षा मन्त्रालय स्रोतलाई उध्रित गर्दै एनएचकेले भनेको छ, ‘संदिग्ध सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य हुन् । तीन वर्ष (२००५सम्म) काम गरेका उनले ह्याण्डमेड गनबाट गोली चलाएका हुन् ।’

सभामा सहभागी रहेका आबेको दल डेमोक्रेटिक लिबरल पार्टीका पदाधिकारीले १० मिटरको दूरीबाट गोली प्रहार भएको बताए । उनका अनुसार गोली हानेपछि ती आक्रमणकारी शान्त थिए र भाग्ने प्रयास गरेका थिएनन् ।

आमसभामा उपस्थित ५० वर्षीया महिलाले एनएचकेसँग भनिन्, ‘म आबेको भाषण सुनिरहेको थिए । त्यहीबेला देखेँ कि हेलमेट लगाएका एक व्यक्तिले दुई गोली हाने । दोस्रो गोली लागेपछि आबे ढले । उक्त व्यक्तिलाई तत्काल गिरफ्तार गरियो ।’

प्रहरीले पक्राउ गरेका व्यक्तिको घरबाट अरु घरेलु हतियार पनि फेला परेको छ । ती हतियार आबेमाथि गोली हान्न प्रयोग भएका हतियार जस्तै छन् ।

आबेको कार्यक्रमबारे ती आक्रमणकारीले कसरी थाहा पाए भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । किनकी आबेको कार्यक्रम गएराति मात्र आकस्मिक रुपमा तय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?