+
+

हिति प्रणाली : पानी व्यवस्थापनको मौलिक विधि

हिति प्रणाली पानीलाई संकलन गर्ने, जम्मा गर्ने र वितरण गर्ने परम्परागत मौलिक तरिका हो । बस्ती जति ठूलो हुँदै गयो पानीको व्यवस्थापन त्यति नै चुनौतीपूर्ण बन्छ । बस्तीभित्रका इनार, कुवा र पोखरीको पानीको उचित व्यवस्थापन हिति प्रणालीबाट हुन्छ ।

पद्मसुन्दर जोशी पद्मसुन्दर जोशी
२०७९ असार २५ गते १९:११

काठमाडौं उपत्यका प्राचीन बस्ती हो । यहाँ ५० भन्दा बढी परम्परागत बस्ती छन् । यी बस्ती किरात सभ्यताको जगमा लिच्छविहरुले विकास गरेको मानिन्छ ।

त्यसपछि उपत्यकाको शासनसत्ता सम्हालेका मल्लहरुले त्यसलाई व्यापकता दिए । काठमाडौं उपत्यकालाई नियाल्दा त्यस वरपर कृषि र प्राकृतिक आधारलाई ध्यानमा राखेर तीन चक्रमा बस्ती बसालेको देखिन्छ । अधिकांश नेवारी बस्ती अग्लो ठाउँमै अवस्थित छन् ।

यस्तो बस्तीको आफ्नै विशेषता हुन्छन् । यस्ता बस्तीका फाइदा र बेफाइदा दुवै हुन्छन् । सुख्खायाममा पानीको अभाव हुन्छ भने बर्खामा पहिरोको जोखिम हुन्छ । यसरी विभिन्न याममा आउने पानीको समस्याको उचित व्यवस्थापनको लागि त्यसबेला हिति प्रणालीको विकास गरियो ।

हिति प्रणाली पानीलाई संकलन गर्ने, जम्मा गर्ने र वितरण गर्ने परम्परागत मौलिक तरिका हो । बस्ती जति ठूलो हुँदै गयो पानीको व्यवस्थापन त्यति नै चुनौतीपूर्ण बन्छ । बस्तीभित्रका इनार, कुवा र पोखरीको पानीको उचित व्यवस्थापन हिति प्रणालीबाट हुन्छ । उपत्यकामा बस्ती बस्नुको प्रमुख कारण तिब्बतसँगको व्यापार हो भन्ने भनाइ छ । गुणकामदेव राजाको पालामा काठमाडौं उपत्यका १५ हजार घरको सहर रहेको इतिहासमा उल्लेख छ ।

लिच्छविकालदेखि नै बुढानीलकण्ठ, टीकाभैरव, नगरकोटमुनिदेखिको बागेश्वरी जस्ता हिति प्रणाली विकास भएको पाइन्छ । त्यसबाहेक साना साना प्रणाली उपत्यकाका सबै बजार र बस्तीमा व्यवस्थापन गरिएको थियो । सिनगु विहार, स्वयम्भूमा लिच्छवी राजा वृषदेवले हिति प्रणाली सुरु गरेको भनेर गोपाल राज वंशावलीमा पाइन्छ ।

सबैभन्दा पुरानो हिति प्रणालीको १५ सय वर्षअघि मानदेवका नाती भारवीले स्थापना गरेको देखिन्छ । हालसम्म सञ्चालनमा रहेको मंगला हिति सन् ५७० मा स्थापना गरिएको हो । यसलाई सबैभन्दा पुरानो हिति मानिन्छ । यस्तै हाडीगाउँको अर्को हिति भने हाल अस्तित्वमा छैन । यस्तै अरु थुप्रै हिति अहिले चल्नै छाडेका छन् ।

काठमाडौैं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले हालै गरेको अध्ययन अनुुसार काठमाडौैं, ललितपुर र भक्तपुरमा गरी ५७३ हिति फेला परेको छ । यी हितिमध्ये लगभग २०० वटा हितिमा बर्खाको समयमा पानी चल्छ । २८० वटा हिति पूरै सुख्खा भएको छ भने ९३ वटा हिति लोप भएका छन् । ती हिति कहाँ थिए भन्ने पनि फेला परेको छैन ।

कसरी काम गर्छ हिति प्रणालीले ?

हिति प्रणालीका लागि सबैभन्दा पहिले जमिनमुनि जलभण्डार क्षेत्र खोज्नुपर्छ । जहाँ राम्रोसँग पानी आउने ठाउँ भेटिन्छ त्यहीं एउटा नाभी मण्डल (इन्टेक स्ट्रक्चर) बनाइन्छ । त्यसलाई जोड्न पानी मार्ग बनाइन्छ । जुन बस्तीमा पानी चाहिएको हो त्यहाँ हिति बनाइन्छ । हिति बाह्रैमास चल्न पोखरी खनेर बर्खाको पानी जम्मा गरेर राखिन्छ । त्यहाँबाट पानी रसाएर वा चुहिएर जलभण्डारलाई बलियो बनाउने काम गर्छ । यसमा राजकुलो ल्याएर जोड्ने काम गरिन्छ । यसरी हिति प्रणालीबाट पानीको व्यवस्थापन गरिन्छ ।

हिति प्रणालीमा राजकुलो, पोखरी, जलभण्डार, नाभी मण्डल, जलमार्ग, हितिघा, हितिमंघ र निकास समावेश हुन्छन् ।

के हो नाभी मण्डल ?

वरिपरिको पानी सोस्नको लागि एकदेखि दुई इन्चको ढुंगालाई गोलो पारेर त्यसमा इँटा राखेर पानी जम्मा गरिन्छ, त्यसैलाई नाभी मण्डल भनिन्छ ।

यहाँबाट निस्किएको पानी हितिधु गटरमा राखेर हितिसम्म बगाइन्छ । पानीको दिशा, तह परिवर्तन गर्न दुई स्रोत हुन्छ । जसमा दुई स्रोतका पानी एक धारामा र अर्को स्रोतको पानी दुई धारामा लैजान बीचमा अठल राखिन्छ । लिच्ववीकालमा ठूला–ठूला ढुंगाका अठल हुन्थे । पछि भने माटोको बनाउन थालियो ।

गोहीको आकृतिमा बनाइन्छ हिति

हिति भन्ने बित्तिकै दिमागमा गोहीको अनुहार आउँछ । हितीमा गोहीको मुखजस्तो धाराबाट पानी झारिराखेको हुन्छ । यसको विशेष अर्थ छ । गोही भनेको गंगाको बाहन हो । त्यसैले गंगाको मुखबाट पानी झार्नुपर्छ भनेर विभिन्न किसिमको कलाकृति बनाइएको हुन्छ । यसलाई हिति मकर पनि भनिन्छ । यसलाई बनाउन गाह्रो हुन्छ । हितिमा पानी एउटा लेभलमा बग्नुपर्छ । प्रायः हितिमा ०.१ देखि ०.२५ मिटर प्रतिसेकेण्डको गतिमा पानी बग्ने गर्छ ।

अहिले यस्ता कुरा सुन्दा अचम्म लाग्छ । हामी अहिले मेसिनविना काम गर्न सक्दैनौं । कुनै मेसिनको सहयोग बिना बनाएको हितिमा एउटा शंख फुकेको मानिस देख्न सकिन्छ । त्यो मानिसको आकृति भगिरथको हो । भगिरथ प्रयासले मात्र हुन्छ भन्ने मान्यताले प्रत्येक हितिमुनि भगिरथ राखिन्छ ।

पोखरी र यसको उपादेयता

नेवार समुदायले चार खालका पोखरी बनाएका हुन्छन् । त्यस्ता पोखरी बस्ती भन्दा माथि सिरानमा, बीचमा र पुछारमा ।
बस्तीहरुमा राजकुलो बग्ने गर्दथ्यो । छेउछेउबाट बगेर अरु खोल्सामा मिसाउँदा पानीको मात्रा ठूलो हुन्थ्यो । अनि त्यसैको बीचमा पोखरी बनाइन्थ्यो । जुन पोखरीले पानीको क्षमता अरु बढाउँथ्यो ।

यसी यस्ता पोखरीहरुले पानीलाई ‘रिचार्ज’ गर्न महत्वपूर्ण भूमिका खेल्थे । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डमा २३३ वटा पोखरीको विवरण छ । जसमध्ये १९४ को अस्तित्व छ भने अरु मासिएका छन् ।

पानीको व्यवस्थापन कसरी गरिन्थ्यो ?

त्यसबेलाका मानिस अरुको भर पर्दैनथे । आफूलाई चाहिने कुरा आफैंले व्यवस्था गर्थे । त्यो समय पारिवारिक रुपमै धारा–इनार सरसफाइ गर्ने, पूजा गर्ने चलन थियो ।

पाटनमा भेट्टाएको रोचक कुरा के छ भने पूर्णचण्डीमा सिद्धिलक्ष्मी अगाडि इन्द्रजात्राको बेला १० विद्याको पूजा हुन्छ । त्यसमा एउटा भाग नागापुखु भन्ने छ । त्यहाँको पोखरीको जिम्मा नजिकै बस्ने समुदायलाई दिने गरिन्छ ।

पोखरीको सरसफाइ र व्यवस्थापन स्थानीयलाई दिंदा विभिन्न पुरस्कारको समेत व्यवस्था गरिएको हुन्छ । कीर्तिपुरको एक पोखरी सरसफाइ गर्नेलाई राँगाको टाउको पुरस्कार दिने चलन थियो ।

पाटनको प्रयाग पोखरीमा आएका मान्छेहरुलाई पुण्य मिल्छ भनेर पोखरीको भित्रबाट हिंडेर जाने व्यवस्था गरिन्थ्यो । यी सबै प्रचलनको एउटै उद्देश्य पोखरी संरक्षण र सरसफाइ नै हुन्थ्यो । साँखुमा नौ वटा हिति पखाल्ने जात्रा पनि छ भने भक्तपुरका १३–१४ वटा हिति स्थानीय समुदायले सरसफाइ गर्ने गर्छन् ।

हितिसँग सम्बन्धित जात्रा

हितिसँग सम्बन्धित जात्रा मच्छिन्द्रनाथको जात्रा हो । यो जात्रा चैत–वैशाखमा हुन्छ । सुख्खायामको समयमा पानीको व्यवस्थापनको विषयसँगै यो जात्रा पनि जोडिन्छ ।

पोखरी भर्न राजकुलो व्यवस्था गरेपछि अनि मात्रै पानी आउँछ भन्ने हुन्छ । नख्खु, टीकाभैरवदेखि ल्याएको पानी भर्न पाइन्छ । अनि जात्रा गर्न पाइन्छ भन्ने थियो । तर अहिले यी सबै लोप भए । यस्ता खालका जात्राले समाजले व्यवस्थापन गरेर राखेका थिए ।

हितिमा गल्ती

विनायोजना सहर विस्तार भए । २–४ अपवाद बाहेक नागबेली परेका सडक राजकुलो मासेर बनेका हुन् । पानी भनेको हाम्रो सभ्यता हो । यो कहिले पनि निजी हुँदैन । चाहे हिति होस् वा इनार नै हामीले सभ्य भन्ने नाममा प्रत्येक घरमा इनार खन्यौं, पोखरी पुर्‍यौं, जसले गर्दा हितिमा पानी सुक्यो ।

पाटनका बुढापाकालाई हिति प्रणाली कसरी बिग्रियो भनेर सोध्दा १९७८ मा सरकारले विश्व बैंकसँग ठूलो ऋण लिएर खानेपानी आयोजना सञ्चालन गरेकाले भन्छन् । कुमारीपाटीमा १७ रोपनीको पोखरी थियो । तत्कालीन नगर पञ्चायतले पोखरीको जग्गा बेचिदियो । त्यस्तै पाटनको तीव्र सहरीकरणले पानी सोस्ने ठाउँको कमी हुँदै गयो । हितिको गुठी नाश भए,। पोखरीको जग्गा बेच्ने, राजकुलो मासिदिने जस्ता कारणले हितिको इतिहास मेटिंदै छ ।

जनप्रतिनिधिको सकारात्मक काम

काठमाडौं उपत्यकामा रहेको हिति प्रणाली बचाउन स्थानीयवासी जागरुक नभएसम्म कसैको पनि केही लाग्दैन । पूर्खाले वैज्ञानिक प्रणालीबाट बस्तीको पानी व्यवस्थापन गरेका थिए । अहिले स्थानीय तहका जनप्रतिनिधिले हिति प्रणालीलाई ब्युँताउने काम गर्न सुरु गरेका छन्, यो राम्रो हो ।

भक्तपुर नगरपालिकाले रानीपोखरी सञ्चालन गर्नु, ललितपुरमा हितिमा पानी नआए पनि इनारमा पानीको सुविधा होस् भनेर ३० ठाउँमा रिचार्ज सिस्टम व्यवस्था गरिएको छ । बुंगमतीमा विष्णुकुण्ड पोखरीलाई सार्वजनिक पोखरीमा परिणत गरिएको छ । १७ वर्षसम्मको कानुनी लडाइँपछि शब्दपाताल पोखरी सार्वजनिक पोखरीमा परिणत गर्नु ठूलो उपलब्धि हो ।

यस्तै ललितपुर महानगरपालिकाले हिति जोगाउन बजेट छुट्याएको छ भने काठमाडौं महानगरपािलकाले सुन्धारामा पुनर्निर्माण गरेर प्राकृतिक रुपमै पानी बगाउने योजना बनाउनु स्वागतयोग्य छ । हिति प्रणालीलाई ‘कस्मेटिक पम्प’ गरेर पानी झार्न सकिंदैन । उपत्यकावासीलाई पानीको सहज व्यवस्थापन गर्न सबैभन्दा उत्तम उपाय पूर्खाले गरेको वैज्ञानिक प्रणाली अनुकरण नै हो ।

हिति प्रणालीबाट उपत्यकावासीले के सिक्ने ?

जलवायु परिवर्तनका कारण पानीको समस्या बढ्दै जानु अब नौलो रहेन । अहिले चीनमा ‘स्पन सिटी’ अवधारणा चलेको छ । हाम्रा बाबुबाजेले मैदानलाई पानी ‘रिचार्ज’का लागि प्रयोग गर्थे । यसै अवधारणालाई अपनाउँदै प्राकृतिक रुपमै पानीको हाहाकार अन्त्य गर्न सकिन्छ ।

जसको लागि पानीको मुहान र निकासको नक्सांकन गर्ने, स्थानीय बुढापाकाको सोचलाई पछ्याउँदै हिति प्रणालीलाई राष्ट्रिय सम्पदाका रुपमा प्रवद्र्धन गर्नुपर्छ ।

(‘हिति प्रणाली’ पुस्तकका लेखक तथा इन्जिनियर जोशीसँग अनलाइनखबरकर्मी सम्झना विकले गरेको कुराकानीमा आधारित)

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?