+
+

ब्रोकरको आम्दानी : १०० लगानी गर्दा ४००, वर्षमा ५० करोडसम्म नाफा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १८:४१

२६ असार, काठमाडौं । सेयर धितोपत्र दलाल व्यवसायीहरुले चुक्ता पूँजी बढाउने सरकारको प्रस्तावको औचित्यमाथि प्रश्न उठाएका छन् । तर, बजार बढ्दाको अवस्थामा ब्रोकरहरुले गर्ने आम्दानीले लगानीको तुलनामा उच्च हुने गरेको देखिएको छ ।

नेपाली (सेयर ब्रोकर) ले अघिल्लो आर्थिक वर्षमा मात्रै ७ अर्ब ५६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए । आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालनमा रहेको ५० वटा ब्रोकरले कुल २ अर्ब ९९ करोड रुपैयाँ खर्चिंदा ७ अर्ब ५६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए ।

यसरी ब्रोकरहरुले औसत १ रुपैयाँ लगानी गर्दा करिब ३ रुपैयाँ ९० पैसा कमााएको देखिन्छ । आर्थिक वर्ष २०७७/०७८ मा ब्रोकरहरुको वार्षिक प्रतिसेयर आम्दानी करिब ३९० रुपैयाँ रहेको तथ्यांकले देखाउँछ ।

सञ्चालन खर्च न्यून हुँदा उच्च नाफा

ब्रोकरहरुले उक्त आर्थिक वर्षमा १० अर्ब कुल सञ्चालन आम्दानी गरेका छन् । जसमध्ये २ अर्ब ९९ करोड रुपैयाँ मात्रै सञ्चालन खर्च छ । धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताले सेयर कारोबार गरेको रकमबाट प्राप्त हुने कमाइ नै उनीहरुको आम्दानी हो ।

आर्थिक वर्ष २०७७/०७८ मा कुल १४ खर्ब ५४ अर्ब ४४ करोड ४२ लाखको धितोपत्र कारोबार भएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा १ खर्ब ५० अर्ब ३ करोडको सेयर कारोबार भएकोमा आर्थिक वर्ष २०७७/०७८ मा कारोबार रकम ८६९ प्रतिशतले वृद्धि भएको नेपाल धितोपत्र बोर्डको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

कोभिड-१९ सँगै सेयर बजारमा लगानीकर्ताको आकर्षण ह्वातै वृद्धि हुँदा नेप्से र कारोबार रकम वृद्धि भएको थियो । कारोबार रकम वृद्धि हुँदा ब्रोकरले पाउने कमीसन पनि बढेको हो । जसले गर्दा ब्रोकरको आदानी सँगै नाफामा पनि उल्लेख्य वृद्धि भएको तथ्यांकले देखाउँछ ।

नाफा ५० करोड, प्रतिसेयर आम्दानी १२४० रुपैयाँसम्म

सञ्चालनमा रहेका ५० वटा सेयर ब्रोकरमध्ये सबैभन्दा धेरै नाफा नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) को छ । ५ करोड ७५ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले ५० करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । वार्षिक आम्दानी ७४ करोड ९५ लाख रुपैया रहेको कम्पनीको वार्षिक खर्च २४ लाख ८२ हजार रुपैयाँ रहेको छ । कम्पनीको खुद नाफा र चुक्ता पूँजी हेर्दा वार्षिक प्रतिसेयर आम्दानी करिब ८७२ रुपैयाँ देखिन्छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ब्रोकर नम्बर ४२ सनी सेक्युरिटिज कम्पनीको प्रतिसेयर आदानी १ हजार २४० रुपैयाँ रहेको छ । २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको खुद नाफा २४ करोड ८० लाख रुपैयाँ रहेको छ । आर्थिक वर्षमा कुल ३० करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको खर्च ६ करोड १८ लाख रुपैयाँ रहेको छ ।

यता व्यवसायमा कमजोर भने स्वर्णलक्ष्मी सेक्युरिटिज कम्पनीको देखिएको छ । ५ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले ४ करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

कमिसन समायोजन गर्न अध्ययन गर्दै बोर्ड

नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयर कारोबार वापत दालाल व्यवसायीले लिने कमिसनमा समय समयमा परिमार्जन गर्दै आएको छ । बोर्डले ब्रोकर कमिसन समायोजन गर्नुपर्ने भन्दै त्यसका लागि समिति नै बनाएको छ । बोर्डको वर्तमान अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गर्दै गर्दा ब्रोकर कमिसन समायोजन गर्न आवश्यक रहेको भन्दै त्यसका लागि समिति गठन गर्ने बताएका थिए ।

ब्रोकर कम्पनीले हाल ५० हजार रुपैयाँसम्म सेयर खरिदबिक्री गर्दा लगानीकर्ताबाट कारोबार रकमको ०.४० प्रतिशत शुल्क लिन सक्ने व्यवस्था बोर्डले गरेको छ । ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि एक करोड रुपैयाँसम्मको कारोबारमा प्रतिकारोबार ०.३० प्रतिशत र १ करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत कम्पनीसन लिनसक्ने व्यवस्था बोर्डले गरेको छ ।

यस बाहेक सामूहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको कारोबार गर्दा ५ लाख रुपैयाँसम्मको कोरोबार ०.१५ प्रतिशत, ५ लाख देखि ५० लाखसम्मको कारोबारमा ०.१२ प्रतिशत र ५० लाख भन्दा माथिको कारोबारमा ब्रोकरहरुले ०.१० प्रतिशत कमीसन लिंदै आएका छन् । तर, सानो रकमको कारोबार भएर कमिसन रकम १० रुपैयाँभन्दा कम हुन आएमा भने प्रतिकोबार १० रुपैयाँ कमिसन लिन सक्नेछन् ।

यसरी प्राप्त हुने कमिसनबाट वार्षिक रुपमा प्राप्त गरेको कुल कमिसनको ०.६ प्रतिशत रकम नियमन शुल्कको रुपमा ब्रोकरले नेपाल धितोपत्र बोर्डलाई बुझाउनु पर्छ । ब्रोकरले सोही कमिसनबाट प्राप्त हुने आम्दानी नै कुल आम्दानी हो भने, खर्च कटाएर हुने आम्दानी खुद नाफा हो ।

पूँजी वृद्धिले सशंकित ब्रोकर

धितोपत्र बोर्डको हालै मात्रै ब्रोकर कम्पनीको पूँजी बढाउने प्रस्ताव गरेको छ । बोर्डले गत साता धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को संशोधित मस्यौदा सञ्चालक समितिबाट स्वीकृत गर्दै अर्थमन्त्रालयमा पठाएको छ । संशोधन प्रस्तावमा नयाँ ब्रोकर लागि खुला लाइसेन्स मापदण्ड लागू गर्ने प्रस्ताव गर्दै धितोपत्र व्यापारी (स्टक डिलर) लाइसेन्सको लागि १ अर्ब ५० करोड पूँजी प्रस्ताव गरेको छ । सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीलाई २० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि ६० करोड चुक्ता पूँजी प्रस्ताव गरेको छ । यस्तै हाल सञ्चालनमा रहेको ब्रोकरले २ वर्षभित्र तोकेको पूँजी पुर्‍याउनुपर्ने प्रस्ताव बोर्डको छ । नियमावील मन्त्रिपरिषद्‍बाट स्वीकृत भएर आएपछि कार्यान्वयन हुनेछ ।

सञ्चालनमा रहको ब्रोकरहरुमध्ये कुनै पनि कम्पनीको चुक्ता पूँजी १० करोडभन्दा माथि छैन । ५० ब्रोकरको पूँजी औसतमा ३ करोड ८८ लाख रहेको छ ।

सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीलाई २० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि ६० करोड चुक्ता पूँजी पुर्‍याउने २ वर्षमा ठूलो मात्रमा पूँजी थप गर्नुपर्ने अथवा मर्जर गर्नुपर्ने अवस्था देखिन्छ । ‘बोर्डले ब्रोकर लाइसेनस खुला राख्ने नीति लिंदा कर्पोरेट घरानाको प्रवेशले आफू विस्तापित हुनुपर्ने हो कि भन्ने आशंका गरेको देखिन्छ । पूँजी वृद्धि गर्ने बोर्डको तयारीमा ब्रोकरले खुलेर विरोध गरिरहेका छन् ।

यता धितोपत्र दलाल व्यवसायी भने असामान्य अवस्थाको समयलाई हेरेर दीर्घकालीन निर्णय लिन नहुने बताउँछन् । पछिल्लो ६ महिनामा अधिकांश ब्रोकर घाटामा सञ्चालन रहेको धितोपत्र दलाल व्यवसाय संघ (ब्रोकर एसोसिएसन) का अध्यक्ष सन्तोष मैनाली बताउँछन् ।

‘२०७७ असार १५ देखि २०७९ असार १५ सम्मलाई दुई भागमा बाँड्ने हो भने अवस्था के छ भन्ने प्रष्ट हुन्छ ,’ उनले भने, ‘ २०७७ असार १५ बाट २०७८ असोजसम्म ब्रोकरको आम्दानी राम्रो हो, त्यसलाई नकार्न सकिंदैन । तर, त्यसयता ब्रोकरहरु घाटामा सञ्चालन भएका छन् । पछिल्लो ६ महिनामा धेरै ब्रोकरहरु घाटामा नै चलिरहेका छन् ।’

उनले अहिले चुक्ता पूँजीलाई मात्रै हेरेर ब्रोकरले यति कमाए भन्न नहुने उनले बताए । अहिले ब्रोकरहरुको ‘नेटवर्थ’ अर्ब हाराहारी पुगेको भन्दै त्यसलाई हेर्दा नाफालाई असामान्य मान्न नसकिने उनको तर्क छ ।

कोभिडको महामारीसँगै एक वर्ष विश्वभरी नै देखिएको असामान्य अवस्थाको नाफालाई अन्य समयसँग तुलना गर्न नहुने उनले बताए । पछिल्लो समय अनलाइन कारोबारसँगै ब्रोकरले प्रविधिमा थप लगानी गरेको उनले बताए ।

हेर्नुहोस् नाफाको सूचीः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?