
२७ असार, काठमाडौं । संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन प्रर्वद्धनमा समन्वयकारी भूमिका निर्वाह गर्न नवनियुक्त राजदूतहरुलाई आग्रह गरेका छन् । नेपालको पर्यटन प्रर्वद्धनमा विदेशस्थित नेपाली दूतावासमा कार्यरत राजदूतहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
नेपाल पर्यटन बोर्डले विभिन्न देशका लागि नवनियुक्त राजदूतसँग सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले पर्यटन प्रवर्द्धनमा समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरे । विदेशमा गरिने कार्यक्रममा समन्वय गरेर काम गर्नु पर्ने उनको भनाइ थियो ।
मन्त्री श्रेष्ठले राजदूतावास नै विदेशमा देशको प्रतिनिधत्व गर्ने आधिकारिक निकाय भएकोले नेपालको बारेमा सकारात्मक सन्देश प्रभाव गर्न आवश्यक रहेको बताए । देशको प्रर्वद्धनका लागि सबैले आआफ्नो ठाउँबाट रचनात्मक ढंगले कार्य गर्नु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा मन्त्रालयका सचिव महेश्वर न्यौपानेले अन्तर्राष्ट्रिय स्तरमा देशको छवि निर्माणमा राजदूतहरुको महत्वपूर्ण भूमिका रहने बताए । दूतावासहरूसँग समन्वय र सहकार्य गर्न मन्त्रालय र बोर्ड सधैं तयार रहेको उनको भनाइ छ ।
कार्यक्रममा जापानमा लागि नवनियुक्त नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, स्पेनका लागि शर्मिला पराजुली ढकाल, इजिप्टका लागि सुशील लम्साल, म्यानमारका लागि हरिशचन्द्र घिमिरे, अष्ट्रियाका लागि भरतराज रेग्मी, इजरायलका लागि कान्ता रिजाल, साउथ अफ्रिकाका लागि दानबहादुर तामाङलगायत नवनियुक्त राजदूतले नेपालको प्रर्वद्धनका लागि देश अनुसार फरक फरक प्रवर्धानात्मक सामग्री तयार गर्नु पर्ने, विदेशमा गरिने कार्यक्रममा लागि बजेटको व्यवस्था गर्न तथा कार्यक्रम गर्दा दूतावाससँग समन्वय गर्नु पर्नेमा जोड दिए ।
नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक प्रदीप पौडेलले नेपाल हवाई उड्डयनमा आइकाओको मापदण्ड अनुरुप सुरक्षित गन्तव्य रहेकाले राजदूतहरुले नेपालको हवाई सुरक्षाका विषयमा गरिने हुने भ्रम चिर्दै नेपाल जान अभिप्रेरित गर्नु पर्ने बताए ।
प्रतिक्रिया 4