+
+

माओवादीमा अन्तर्घात छानबिन : ठूला नेता पनि तानिएलान् ?

रामकुमार डिसी रामकुमार डिसी
२०७९ असार २८ गते १८:००

२८ असार, काठमाडौं । हालै सकिएको केन्द्रीय समितिको बैठकबाट पनि पदाधिकारी चयन नहुनुको एउटा कारण पार्टीकै ठूला नेताहरु अन्तर्घातमा मुछिनुसमेत भएको नेकपा माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

शनिबार बसेको स्थायी समितिको पहिलो बैकठमा पनि पदाधिकारी र स्थायी समितिका बाँकी सदस्यको नियुक्ति अन्तर्घातको छानबिन सकिएपछि गर्ने गरी छलफल भएको थियो । पदाधिकारी र स्थायी समितिलाई समेत पूर्णता दिन ढिला गरी छानबिनलाई पर्खने निर्णयमा माओवादीको नेतृत्व पुग्नुले अन्तर्घातमा आफ्ना उच्च तहका नेताहरु संलग्नता स्वीकार गरेको संकेत मिल्छ ।

विशेषगरी मधेश प्रदेश र बर्दियामा उच्च तहका नेताहरु नै अन्तर्घातमा उत्रिएको माओवादी नेताहरू बताउने गर्छन् । मधेश प्रदेशमा मात्रिका यादव समूह र गिरिराजमणि पोखरेल समूहले एकअर्कालाई अन्तर्घात गरेको आरोप लगाउने गरेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मधेश प्रदेशमा माओवादी केन्द्रले लज्जास्पद हार व्यहोरेको थियो । २०७४ मा २२ पालिका प्रमुख जितेको माओवादी यसपालि भने ९ मा खुम्चिएको छ । केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रको मधेश प्रदेश इन्चार्ज गणेश शाहले चुनावमा व्यापक अन्तर्घात भएकै कारण हार व्यहोर्नु परेको भन्दै उच्चस्तरीय छानबिन समितिको माग गरेका थिए । त्यही बैठकमा आफ्नो भनाइ व्यंज्ञात्मक रुपमा राख्दै नेता मात्रिका यादवले आफूलाई पनि अन्तरघात लागेको र अन्तरघाती बैठकमा सहभागी भएको भन्दै छानबिन गर्न माग गरेका थिए ।

ठूला नेता तानिएलान् ?

कतिपय नेताहरुले पार्टीभित्रकै नेताहरुले छानबिन गर्दा निष्पक्ष नहुने भन्दै पूर्वन्यायाधीशबाट छानबिन गर्नुपर्ने माग केन्द्रीय समितिमा गरेका थिए । माओवादीमा न्यायाधीशलाई नै छानबिनको जिम्मा दिने कुरा उठ्नुले अन्तर्घातको गहिराइको संकेत गर्छ ।

तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आन्तरिक छानबिनमा पूर्व न्यायाधीश भित्र्याउनु उचित नहुने भन्दै अनुशासन आयोगका अध्यक्षतामा छानबिन समिति बनाउने प्रस्ताव केन्द्रीय समितिमा गरे । केन्द्रीय समिति बैठकको निर्णय अनुसार नै स्थायी समिति बैठकले अनुशासन आयोग अध्यक्ष टंक राईको नेतृत्वको तीन सदस्यीय समितिमा नेताहरु खिमलाल देवकोटा र पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानलाई नियुक्त गरेको छ ।

राई केन्द्रीय समितिले आफूलाई दिएको ‘म्यान्डेट’ नै सबैभन्दा ठूलो भएको भन्दै जुनसुकै नेता परे पनि आफ्नो छानबिनमा फरक नपर्ने बताउँछन् । ‘हाम्रा लागि ठूला नेता भन्दा ठूलो केन्द्रीय समिति हो,’ उनले अनलाइनखबरसँग भने, ‘केन्द्रीय समितिले नै हामीलाई म्यान्डेट दिएर निष्पक्ष छानबिन गरेर प्रतिवेदन दिन आदेश दिएपछि हामीलाई ठूलो नेता परे कि, सानो नेता परे कि भन्ने कुराले कुनै फरक पार्दैन ।’

‘हामीले सबैलाई समान ढंगले हेरेर उचित ढंगले छानबिन गर्छौं । पार्टीले जुन विश्वास गरेर हामीलाई जिम्मा दिएको छ, त्यसलाई तलमाथि हुन दिन्नौं,’ उनले भने ।

मधेश र बर्दियामा स्थलगत छानबिन

राई नेतृत्वको छानबिन समितिले छानबिनका लागि १५ दिनको समय पाएको छ । समितिले छानबिन सकेर प्रतिवेदन तयारी पारी स्थायी समितिमा पेस गर्ने छ र स्थायी समितिले प्रतिवेदन अनुसार अन्र्घातमा संलग्न हुनेमाथि कारबाही गर्ने भनिएको छ ।

त्यो १५ दिन आजदेखि सुरु हुने बताउँदै राईले आफूहरुले सूचना संकलन, प्रशोधन, विश्लेषण र वर्गीकरण गरिरहेको बताए । विभिन्न कमिटी र विभिन्न जिम्मेवार व्यक्तिहरुले अन्तर्घातबारे सूचना दिइरहेको र त्यसको विश्लेषणपछि आफूहरु कुन-कुन ठाउँमा स्थलगत छानबिनका लागि जानुपर्ने हो भन्ने तय हुने उनको भनाइ छ । ‘गम्भीर प्रकृतिका मामिला र बहुपक्ष संलग्न भएको मामिलामा स्थलगतरुपमा जानुपर्ने हुन्छ,’ राईले भने, ‘तर, एक/दुई जना व्यक्ति अथवा बहुपक्ष संलग्न नभएकोमा सूचना लिएर हामी यहीबाट टुंग्याउँछौं ।’

गम्भीर अन्तर्घात भएको भनिएको मधेश प्रदेश र बर्दियामा भने स्थलगत छानबिनमै जानुपर्ने अवस्था आउन सक्ने उनले बताए । पार्टीले सूचना दिने कुरामा सहयोग गरे तोकिएको १५ दिनभित्रै छानबिन सकिने विश्वास अध्यक्ष राईको छ । ‘पार्टीले सूचना दिने र सहयोग गर्ने कुरा अवस्य नै हुने छ,’ उनले भने, ‘पार्टीले हामीलाई सहयोग गरेको अवस्थामा हामी १५ दिनभित्र आफ्नो काम सम्पन्न गर्छौं ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?