
२९ असार, विराटनगर । स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरुले निर्वाचन खर्च विवरण बुझाउन अटेरी गरेका छन् ।
निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था छ । तर अधिकांश निर्वाचित र पराजित उम्मेदवारहरुले खर्च विवरण बुझाउन अटेरी गरेका हुन् ।
मोरङका स्थानीय तहमा करिब चार हजार जनाले विभिन्न पदमा उम्मेदवारी दिए पनि ३७५ जनाले मात्र खर्च विवरण बुझाएको प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यव अधिकारीले जानकारी दिए ।
३० वैशाखको चुनावमा उम्मेदवारी दिएकाहरुले त्यसको ३० दिनभित्र खर्च विवरण निर्वाचन कार्यालयमा दिनुपर्ने कानुनी व्यवस्था छ । खर्च विवरण नबुझाउनेमा अधिकांश पराजित उम्मेदवार छन् ।
विराटनगर महानगरपालिकाका प्रमुख उपप्रमुखमा निर्वाचित र पराजित उम्मेदवारहरुले पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् । अन्य पालिकामा निर्वाचितहरुले पनि खर्च विवरण बुझाउन आलटाल गरिरहेको कार्यालयले जनाएको छ ।
गत असार ८ गते नै निर्वाचन खर्चको विवरण बुझाउन सार्वजनिक आग्रह गरेपनि उम्मेदवारहरु नआएको प्रदेश निर्वाचन कार्यालयका अधिकारीहरु बताउँछन् ।
प्रतिक्रिया 4