+
+

४० लागिन् प्रियंका चोपडा : २० वर्षमा ६७ फिल्म, हलिउडमा समेत चर्चित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते ११:५९

काठमाडौं । पूर्वमिस वर्ल्ड, पद्मश्री सम्मान, राष्ट्रिय अवार्ड, पाँच फिल्मफेयर, दुई पिपुल च्वाइस र अन्य प्रशस्तै सम्मान । उनी सेल्फ मेड वुमनको रुपमा पनि चर्चित छन् । उनी हुन् प्रियंका चोपडा ।

भारतमा देशी गर्लको रुपमा चर्चित उनी सोमबार ४० औं जन्मदिन मनाउँदैछिन् । आफ्नै मेहनतले उनले जीवनमा उपलब्धि हासिल गरेकी हुन् ।

उनी संसारकै सबैभन्दा शक्तिशाली महिलाको १०० सूचीमा पनि समावेश भएकी छन् । तमिल फिल्म ‘थमिजन’बाट उनले अभिनय करिअरको थालनी गरेकी थिइन् । यस लगत्तै उनको पहिलो बलिउड फिल्म ‘द हिरो ः लभस्टोरी अफ दी स्पाइ’ रिलिज भयो । प्रियंका चोपडा अहिले बलिउड मात्र हैन, हलिउडमा समेत स्थापित नाम बनिसकेको छ ।

आफ्नो २० वर्षको अभिनय करिअरमा उनले ६७ फिल्ममा अभिनय गरेकी छन् । प्रियंकाले आफूलाई अभिनेत्री, निर्मात्री, गायिका र व्यवसायीको रुपमा प्रमाणित गरिसकेकी छन् ।

१८ जुलाई १९८२ मा उनको जन्म बिहारको जमशेदपुरमा भएको थियो । उनका बुवाआमा सैनिक चिकित्सक थिए । बुवाआमाको व्यावसायिक करिअरमाझ उनको बाल्यकाल विभिन्न सहरमा बित्यो ।

१३ वर्षको हुँदा अभिभावकले उनलाई अध्ययनको लागि अमेरिका पठाए । यस दौरान उनले काकीको घरमा रहेर अध्ययन पूरा गरिन् । अमेरिकामा रहँदा आफूले नश्लीय भेदभावको अनुभव व्यहोरेको उनले हालै एक अन्तर्वार्तामा खुलाएकी छन् ।

स्कुलको दौरानमै उनले सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइन् । स्थानीय ब्युटी कन्टेन्ट जितेपछि उनमा आत्मविश्वास पलायो । आमाको आग्रहमा सन् २००० मा उनले मिस इण्डिया पेजेन्टमा भाग लिइन् । यो प्रतिस्पर्धामा उनी सेकेन्ड रनरअप भइन् ।

यसपछि उनले मिस इण्डियाको उपाधि जितिन् । सोही वर्ष उनी मिस वर्ल्ड पनि घोषित भइन् । विश्व सुन्दरी बनेपछि उनलाई फिल्मको प्रस्तावको ओइरो लाग्न थाल्यो ।

सन् २००२ मा उनलाई फिल्म हमराजमा मुख्य अभिनेत्रीको प्रस्ताव आयो । तर यो फिल्म उनले गर्न पाइनन् र अमिषा पटेलले पाइन् । तर सोही वर्ष रिलिज भएको फिल्म थमिजन उनको डेब्यु फिल्म बन्यो ।

सन् २००३ मा रिलिज भएको फिल्म अन्दाजमा प्रियंकाको मुख्य भूमिका थियो । लारा दत्त र अक्षयकुमार पनि मुख्य भूमिकामा थिए । यो फिल्ममा प्रियंकाको अभिनयको धेरै प्रशंसा भयो ।

उनले अभिनय करिअरमा द स्काइ इज पिंक, फेसन, बाजिराव मस्तानी, म्यारी कम, डन, अग्निपथजस्ता राम्रा फिल्ममा अभिनय गरेकी छन् । प्रियंकाका पछिल्लो बलिउड फिल्महरु द ह्वाइट टाइगर र अंग्रेजी फिल्म द म्याट्रिक्स रिसरेक्सन थिए । उनी यतिबेला ‘इट्स अल कमिङ ब्याक टु मी’मा व्यस्त छिन् र यो फिल्म २०२३ मा प्रदर्शन हुँदैछ ।

सन् २०१६ मा प्रियंकालाई भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको थियो । फिल्म फेसनबाट उनले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड समेत पाइन् । प्रियंकाको कुल सम्पत्ति ५५९ करोड भारु रहेको बताइएको छ ।

हलिउड गायक निक जोनससँग उनले केही वर्षअघि बिहे समेत गरेकी छन् । उनीहरुले हालै सरोगेसी विधिमार्फत सन्तान प्राप्त गरेका छन् । उनी यतिबेला मातृत्वको आनन्द उठाइरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?