+
+

राजस्व सचिवको वयान : म सचिव भएर पनि सचिव हैन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते २१:३५

३ साउन, काठमाडौं । करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविन गर्न बनेको संसदीय विशेष समितिमा सोमबार वयान दिन पुगेका अर्थसचिव मधुकुमार मरासिनीले बजेट निर्माणमा आफूले राजनीतिक नेतृत्वले चाहेअनुसार सघाएको वयान दिएका छन् । बजेट निर्माण गर्दा कोही बाहिरी व्यक्ति संलग्न रहेको आरोप अस्वीकार गर्दै मरासिनीले आफूले मूलतः अर्थमन्त्रीसँग नै मिलेर बजेट निर्माण गरेको जिकीर गरेका छन् ।

समितिका एक सदस्यका अनुसार सचिव मरासिनीले अर्थमन्त्रीले प्रधानमन्त्रीसँग छलफल गरेर तय गरेका विषयहरुलाई आफूहरुले अन्तिम रुपमा दिएको बताएका छन् ।

‘मैले सबै अर्थमन्त्रीज्यूको समन्वयमा गरेको छु, अर्थमन्त्रीज्यूले प्रधानमन्त्रीज्यूसँगको समन्वयमै सबै गर्नुभएको छ, जति पनि करका विषय छन्, त्यसबारे प्रधानमन्त्रीले गठबन्धनका नेताहरुसँग पनि छलफल गर्नुभएको छ,, त्यही कुरा बजेटमा आएको हो,’ सचिव मरासिनीको भनाइलाई उद्धृत गर्द एक सदस्यले भने ।

उनका अनुसार समितिले व्यक्त गरेका कतिपय चासोमा सचिव मरासिनीले बजेटका विषयहरु अर्थमन्त्रालयको मात्रै नभएर सत्ता गठबन्धनको नै भएको बताएका छन् । ‘उहाँले अर्थ मन्त्रालयको गरेका काम गठबन्धनको हुन् भन्ने खालको कुरा गर्नु भएको छ,’ उनले भने ।

सचिव मरासिनीले यसपटक अर्थमन्त्रालयको भन्दा बढी सत्ता गठबन्धनको चासोसँग जोडिएर बजेट निर्माणको संकेत गरेका थिए । वयानका क्रममा अर्थसचिव मधुकुमार मरासिनीले पनि बजेट निर्माण गर्दा आफूले कमजोरी नगरेको जिकीर गरेका थिए ।

‘उहाँले करका दर हेरफेरबारे समितिले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीज्यूसँगै सल्लाह गरेर समितिलाई फर्काएको बताउनुभयो,’ समिति स्रोतले भन्यो,’बाहिरबाट बजेट बनाउन कोही व्यक्ति आएको विषय अस्वीकार गरिरहनुभयो ।’

वयानका क्रममा राजस्व सचिव कृष्णहरि पुस्कर अर्थसचिव मधु मरासिनीभन्दा निकै आत्मविश्वासी देखिएका थिए । पुस्करले पनि बजेट निर्माणमा कोही पनि अनाधिकारिक व्यक्ति संलग्न नरहेको दावी पेश गरेका थिए ।

समिति सदस्यहरुले शंकास्पद रुपमा परिमार्जन भएका करका दरबारे सोधपुछ गर्दा पुस्करले आफू धार्मिक तथा आध्यात्मिक चरित्रको व्यक्ति भएको लगायतका तर्क गर्दै बदनियत राखेर करको दर हेरफेर नभएको बताएका थिए ।

तर, कतिपय करको दर बलियो आधार र सिफारिसविना किन हेरफेर भए भन्ने प्रश्नमा पुस्करले दिएको जवाफले भने सबैलाई चकित पार्‍यो, ‘म सचिव भएर पनि सचिव हैन,’ पुस्करले भनेका थिए ।

यो जवाफले कतिपय करका दर चलाउँदा सचिव पुस्करसँग पर्याप्त छलफल नभएको आधार देखाएको समितिका एक सदस्यले बताए । उनका अनुसार बजेट बनाउँदा अर्थमन्त्रीले आफूसँगभन्दा बढी ‘अर्को सचिव’सँग छलफल गरेको र अर्थमन्त्री र सचिवको निर्देशनअनुसार काम गरेको बताएका थिए । पुस्करले आफूलाई बजेट निर्माणमा धेरै भूमिका नदिइएको संकेत गर्दै उनले प्राप्त जिम्मेवारीलाई इमान्दार भएर पुरा गरेको बताएका थिए ।

समितिले बुधबार अर्थमन्त्री शर्मासँग वयान लिंदैछ । समितिले पूर्व पूर्व अर्थसचिवहरुसँग छलफल गर्ने तालिम पनि तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?