+
+
ब्लग :

पालिका प्रमुखलाई पत्र : मरेपछि पनि बाँच्ने काम गर्नुस् !

गाउँलाई नभत्काई र नबिगारी गाउँमै बस्ने वातावरण बनाउनुहोस्। हाम्रो गाउँलाई साँच्चिकै नमूनायोग्य गाउँ बनाउनुहोस्, पक्कै पनि तपाईंको नाम पुस्तौं पुस्तासम्म लेखिनेछ।

राजेन्द्र पन्थी राजेन्द्र पन्थी
२०७९ साउन ४ गते १६:४१

अध्यक्षज्यू, नमस्कार !

नेपालको संविधान अनुसार आवधिक रूपमा गरिने स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भएको छ। उक्त निर्वाचनमा पालिका प्रमुख पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

तपाईं हाम्रो पालिकाको अभिभावक, आशा र भरोसाको केन्द्र बन्न आउनुभएको छ। स्थानीयले भोगेका दु:ख, पीडा, समस्यालाई तपाईंसमक्ष प्रस्तुत गर्न चाहन्छु।

पालिकाको समृद्धि र विकासको लागि तपाईं जुन पार्टीको टिकटबाट जिते पनि अहिले कुनै पार्टी विशेषको प्रतिनिधि मात्र नभई सम्पूर्ण जनताको प्रतिनिधि बन्नुभएको छ। त्यसैले सबै जनताका समस्या हजुरलाई जानकारी हुनुपर्दछ।

हामीले प्रजातन्त्र पुनःबहाली भएको ३० वर्ष बित्दा पनि वास्तविक प्रजातन्त्रको अनुभूति गर्न सकेका छैनौं। देशमा लोकतन्त्र, गणतन्त्र, संघीयता जे आयो भनिए तापनि सुशासन, विकास र समृद्धिको दृष्टिकोणले जनताको अवस्था जस्ताको त्यस्तै नै छ। गाउँमा खासै देखिन र भन्नलायक विकासको गुणात्मक उपलब्धि हुनसकेको छैन। गाउँमा उत्पादन घट्दै गएको छ, आयआर्जन र रोजगार केही पनि छैन।

विकासको नाम पारेर हाम्रो भिरालो गाउँमा जता पायो त्यता मोटरबाटो खन्दा बस्ती नै सकिन लागेको छ। अझ बर्खायाम त कतिबेला पहिरोले सखाप पार्ने हो भनेर बाँच्नुपर्ने अवस्था छ। आजसम्मको गाउँपालिकाको बजेट बाटोमा खर्चिएको छ भनेर भनिएको छ। हिउँदभरि बाटो खन्छन् अनि बर्खा लाग्छ बस्ती पनि हुँदैन, बाटोको नामनिशाना पनि हुँदैन। हाम्रा गाउँको प्राकृतिक भूबनोट बाढीपहिरोले क्षतविक्षत पारेको छ। खेतबारी, खर्‍यान, वनजङ्गल सबैतिर पहिरो गएको छ। हाम्रा गाउँको जुन वास्तविक सुन्दरता हो त्यो पूरै खलबलिएको छ।

हाम्रो देशको भौगोलिक बनावट भनेको हिमाल, पहाड, तराई, गाउँबेंसी, खोलानाला, उकाली र ओराली नै हो। हिमालको सुन्दरता हिउँले, पहाडको सुन्दरता पहाडले र तराईको सुन्दरता समथर भूभाग र मधेशले नै दिन्छ। नेपाल विविधतामा एकता भएको देश हो। भौगोलिक, जातीय, धार्मिक, सांस्कृतिक, भाषिक विविधता नै नेपालको पहिचान हो।  नेपालको अस्तित्व भनेका यिनै पहिचान हुन्।

आजकल आधुनिक विकासको नाममा यी पहिचानलाई पनि मेट्ने प्रयास गरेको देखिन्छ।  विगतमा विकासका नाममा हाम्रो गाउँका पहिचानको समेत विनाश गरिएको हुनाले विकासलाई यस्तो आँखाले अब नहेर्नुहोला। विकास भनेको सडक मात्र हो भनेर सुन्दर पहाडिया गाउँबस्तीलाई उठाउने नै गरी चौपारीदेखि घाटसम्म मोटरबाटो बनाउने नाममा गाउँ नै उठिबास लगाउने महाभूल नगर्नुहोला।

विगतमा ठेकेदार अध्यक्षको डोजरे विकासले गाउँको बस्ती मात्र सकिएन कि गाउँ नै सकिन थालेको छ। आशा छ, तपाईंको कार्यकालमा यस्तो पक्कै हुनेछैन। अहिलेको जनताको प्रमुख समस्या सामाजिक जीवन र आर्थिक अवस्था कसरी गुणस्तरीय र उच्च बनाउन सकिन्छ भन्ने नै हो, यसैलाई हजुरले मूलमन्त्र नै बनाउनुहोला।

तपाईंलाई हाम्रो गाउँपालिकाको भौगोलिक, सामाजिक, आर्थिक अवस्था थाहा नै छ यदि छैन भने जनताको चुलोचौकोमा पुग्नुहोस्। उनीहरूसँगै बसेर खानुहोस्। आँसु खाएका छन् वा अन्न खाएका छन्, राम्रोसँग हेर्नुहोस्। उनीहरूका वास्तविक पीडा कापीमा मात्र टिपोट गर्ने होइन, मनमस्तिष्कमा पनि टिप्नुहोस्। के खान्छन् र कहिले–कहिले खान्छन्, कहाँ बस्छन्, के लगाउँछन् आदि जस्ता सम्पूर्ण मनोभावना र समस्या बुझ्नुहोस्। तपाईंलाई थाहै छ, हाम्रो गाउँ सुगम होइन, दुर्गम हो।

गाउँको प्रमुख आयस्रोत भनेको कृषि नै हो। हाम्रो गाउँ पहाड हो, भिरालो छ, जमिन कडा छैन, माटो मलिलो छैन। ढुङ्गासित लडीबुडी गरेर जबर्जस्त किसानहरू जीविकोपार्जन गरिरहेका छन्। अधिकांश मानिसहरू निम्न वर्गीय नै छन्। सबैलाई पायक पर्ने ठाउँमा विद्यालय र कलेज छैन।  विद्यालय पढ्नको लागि बच्चाबच्चीलाई दुई–तीन घन्टाको बाटो हिंड्नुपर्छ।

कलेज भन्ने त आकाशको फल आँखातरी मर भने जस्तै हो। कलेज पढ्न त सदरमुकाम नै जानुपर्छ, त्यो हैसियत गाउँका जनतामा छैन। गाउँमा एउटा सामान्य स्वास्थ्यचौकीको भवन त छ तर स्वास्थ्यकर्मी छैनन्। स्वास्थ्यचौकी वर्षौंदेखि कार्यालय सहयोगीबाट नै चलेको छ। सामान्य बिरामी पर्दा सिटामोल पनि पाइँदैन। अधिकांश युवा रोजगारीको लागि सहर र विदेशतिर छन्। गाउँका प्रायः घरमा बुढाबुढी र केटाकेटी मात्रै छन्। तिनीहरू पनि धेरै बिरामी र अशक्त छन्। कतिपय घरबारी, जग्गाजमिन बाँझै देखिन्छन्। यी र यस्तै थुप्रै किसिमका वास्तविकता तपाईं पक्कै पनि हाम्रो गाउँमा देख्नुहुनेछ।

अध्यक्ष महोदय! हाम्रो जस्तो सामाजिक र आर्थिक अवस्था भएको गाउँलाई माथि उकास्ने उपाय के र कसरी होला भन्ने कुरामा नै जब तपाईं चिन्तित रहनुहुन्छ। चिन्तन गर्न थाल्नुहुन्छ भने समस्याको समाधानको सुरवात त्यहींबाट सुरु हुनेछ। जनता सुत्ने ओछ्यानमा सुतेर सपना ठूल्ठूला देख्नुहोस् तर जनतालाई गरिब बनाई धनी बन्ने सोच मनमा कत्ति नलिनुहोला। तपाईं अहिले गाउँपालिकाको अध्यक्ष बन्नुभएको छ न कि ठेकेदार।

जनतालाई धनी बनाउन सक्नुभयो भने तपाईं स्वाभाविक धनी बन्नुहुन्छ। राजनीति भनेको नितान्त समाजसेवा हो, यो पैसा कमाउने पेशा होइन। यदि राम्रो काम गर्नुभयो भने तपाईंको कामको मूल्यांकन कुनै किताबमा अङ्क र अक्षरमा मात्र होइन जनताको मन र मस्तिष्कमा नमेट्ने गरी लेखिनेछ। बाँचुन्जेल मात्र होइन मरेपछि पनि बाँच्ने काम गर्नुस्। तपाईंको कार्यकालको समयावधिमा गाँस र बास ती जनतासँगै होस्। जनताले जे खान्छन् त्यही खानुस् तर घुस खाने र भ्रष्टाचार गर्ने सोच कहिल्यै नबनाउनुहोस्।

अब विगत केही वर्षदेखि चल्दै आएको विकासको परिभाषा बदल्नुपर्छ। अध्यक्ष ठेकेदार बन्ने परिपाटीलाई अन्त्य गर्नुपर्छ। हाम्रो पहाडको सुन्दर बस्तीलाई उठाएर, वनजङ्गल फाँडेर मोटरबाटो हाल्दा विकास र समृद्धि आएन त्यसले त झन् विनाश ल्यायो। जनता दुब्लाए भने प्रतिनिधि मोटाए। गाउँले जनताको मूल समस्या भनेको भोको पेट र नाङ्गो शरीर नै हो।

भोको पेट र नाङ्गो शरीर ढाक्न उत्पादन, रोजगार र आम्दानी चाहिन्छ। यसको लागि सपना बाँडेर होइन काम गरेर देखाउनुपर्छ। तत्कालको लागि कृषिको विकल्प नभएको हुनाले कृषकलाई उत्पादनको लागि उत्प्रेरित गर्नुपर्छ।

कृषकलाई विभिन्न किसिमका तालिमसँगै मल, बीउ, कृषि औजार, कीटनाशक औषधि, सिंचाइ, भण्डारण र सहुलियत कृषि ऋण आदि उपलब्ध गराउनुपर्छ। त्यस्तै घरभित्र नै खोल्न सकिने साना तथा मझौला घरेलु उद्योगको लागि उत्प्रेरित गर्नुपर्छ। उत्पादित वस्तुलाई बिक्री–वितरणको लागि सहजीकरण पनि गरिदिनुपर्छ।

अध्यक्षज्यू!  योजनाविहीन तरिकाले पहाडका जमिन भत्काएर भौगोलिक बनावटलाई खलबलाएर विकास हुँदैन। पहाडमा सबैका घरघरमा मोटर बाटोको सम्भावना पनि छैन। त्यस्तो सपना कसैलाई नबाँड्नुहोस्। सबैलाई पायक पर्ने तरिकाले एउटा गाउँमा एउटा राम्रो र पक्की मोटरबाटो बनाउनुहोस्। आज घरघर र टोलटोलमा मोटरबाटो पुर्‍याउँदा बाढीपहिरोले भिराला घरबस्ती र जग्गाजमिन सकिने अवस्था हुन थालेको छ। मोटरबाटोको नाममा वनजङ्गल र बस्ती सखाप हुन थाले।

अध्यक्षज्यू, बस्ती नै रहँदैन भने हामीलाई विकास किन चाहियो र ? गाउँलाई बिगारेर कुरूप होइन, सुन्दर गाउँ नै बनाउनुस्। हाम्रो गाउँलाई पर्यटकीय दृष्टिकोणले पनि आकर्षक बनाउने प्रशस्त सम्भावना छन्। हाम्रो स्थानीय रहनसहन, संस्कृति, परम्परा, उत्पादन, खानपिन र मौलिक सत्कारबाट पनि पर्यटकलाई आकर्षण गर्न र हाम्रो आम्दानी बढाउन सकिन्छ।

हिजो गाउँ छोडेर सहर पसेका मान्छेहरू सहरको उकुसमुकुसमा आत्तिएर गाउँ फर्किन चाहेका छन्। अब गाउँबाट सहर होइन, सहरबाट गाउँ फर्किने वातावरण तयार गर्नुपर्छ। शिक्षा, स्वास्थ्य, रोजगार गाउँमै पाइन्छ भने लहलहैमा मानिस सहर पस्नु पर्दैन।

अध्यक्षज्यू, हाम्रो गाउँका मान्छेहरू धेरै अशिक्षित छन्। गाउँका मान्छेहरूलाई खानपानदेखि लिएर आधुनिक तरिकाले जीवन निर्वाह गर्ने तरिकाको ज्ञान र सीपका कार्यक्रमहरू संचालन गर्नुहोस्।

प्रौढ शिक्षालाई बजेट सक्ने मात्र नभएर उपलब्धिमूलक र परिणाममुखी बनाउनुहोस्।  गाउँगाउँमा भौतिक पूर्वाधार सम्पन्न विद्यालय खोल्नुहोस् र गुणस्तरीय, व्यावहारिक, व्यावसायिक र प्राविधिक शिक्षालाई प्राथमिकता दिनुहोस्। शिक्षकहरूलाई समय समयमा तालिम र गोष्ठी सञ्चालन गरिदिनुस्। गाउँपालिकामा कार्यरत शिक्षक र कर्मचारीलाई निष्पक्ष रूपमा कामका आधारमा पुरस्कार र दण्डको व्यवस्था पनि गर्नुहोस्।

हाम्रो गाउँमा स्वास्थ्यको ठूलो समस्या छ। कम्तीमा पनि गाउँपालिकाका लागि एउटा सुविधा सम्पन्न अस्पताल बनाउनुपर्नेछ। प्रदेश वा संघीय सरकारलाई घचघचाएर हुन्छ वा के कसरी हुन्छ अलि ठूलै बजेट चाहिएको छ। यसको लागि पहल गर्नुस्। कम्तीमा वर्षको दुईपटक गाउँगाउँमा दक्ष र प्राविधिक जनशक्ति सहित घुम्ती शिविर सञ्चालन गराउनुहोस्। ज्येष्ठ र अशक्त नागरिकलाई प्रत्येक महिना घरघरमा गई स्वास्थ्य जाँच गराउने व्यवस्था मिलाउनुस्।

अध्यक्षज्यू, जब जनताले सुखपूर्वक काम गरेर खाने वातावरण हुन्छ त्यही नै समृद्धि र विकास हो। गाउँमा बाटो छ, विद्यालय र कलेज छ, स्वास्थ्य सुविधा छ, खानेपानीको व्यवस्था छ भने अरु के चाहियो र ? गाउँमै कृषिलाई प्राथमिकता दिन सकियो भने उत्पादन र रोजगार पनि पाइन्छ र विदेश पलायन हुनुपर्दैन। गाउँलाई नभत्काई र नबिगारी गाउँमै बस्ने वातावरण बनाउनुहोस्। हाम्रो गाउँलाई साँच्चिकै नमूनायोग्य गाउँ बनाउनुहोस्, पक्कै पनि तपाईंको नाम पुस्तौं पुस्तासम्म लेखिनेछ, फेरि पनि धेरै धेरै शुभकामना।

उही तपाईंको शुभचिन्तक

राजेन्द्र पन्थी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?