+
+

मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सांसदहरुको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १४:१५
वीरगन्ज महानगरपालिकाको वडा नं.३० लालपर्सामा बुधबार सुख्खा परेको खेतबाट धानको विउ उखेल्दै किसान । समयमा आकासे पानी नपरेको र गण्डक नहरमा समेत साउनको पहिलो साता वित्न लाग्दा समेत पानी नआएपछि पर्सा जिल्लामा यस वर्ष धान रोपाईमा किसानले समस्या भोग्न बाध्य छन् । तस्वीर : रासस

५ साउन, काठमाडौं । सांसदहरुले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै किसानहरुलाई मलखाद र सिंचाइको सहज सुविधा पुर्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेकपा एमालेका सांसद वृजेश कुमार गुप्ताले मलखाद नपाएर समस्यामा परेका किसानहरु अहिले पानी नपर्दा थप मर्कामा परेको बताउँदै सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर राहत दिन माग गरे । घरमा भएको अन्न रोपिसकेको तर खडेरीले थप मर्कामा पर्दा किसानहरु आत्महत्या गर्ने स्थितिमा पुगेको जिकीर गर्दै उनले भने, ‘पानी नभएर आकाशको भरमा खेति गर्नुपर्ने अवस्थामा छन् । कति त अहिले आत्महत्या गर्ने स्थितिमा छन् । जे घरमा थियो, त्यो उनीहरुले रोपिसके । तर पानी नपरेर अलपत्रमा परेका छन् ।’

सीमापारीबाट निर्वाध मलखाद ल्याउने व्यवस्था मिलाउन पनि उनले माग गरे । सिमानामा प्रहरीले मलखाद ल्याउनेहरुलाई अवरोध गर्ने गरेको भन्दै उनले प्रहरीलाई अवरोध नगर्न निर्देशन दिनुपर्ने बताए ।

सांसद राधा ज्ञवालीले पनि खेतीपातीको समयमा मलखाद नल्याउनु सरकारको नालायकीपन भएको बताउँदै अविलम्ब मलखाद ल्याएर किसानहरुलाई उपलब्ध गराउन माग गरिन् ।

जसपाका सांसद रामेश्वर राय यादवले मधेशलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न माग गरे । उनले अनिकालबाट जोगाउन, नाम नागरिकलाई भोकमरीबाट जोगाउन सरकारले नहर र डिप बोरिङको व्यवस्था गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?